अन्ततः नेरुडेको नेतृत्वमा बोहराको पुनरागमन, आन्दोलन चर्किएपछि अध्यक्षको राजीनामा

  २०८१ असोज ६ गते १५:२५     सीआर भण्डारी

 काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेकबहादुर बोहरा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको असोज ५ गते शनिबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोहराकाे एक वर्षपछि लघुवित्त संस्थाको अध्यक्षमा पुनरागमन भएकाे हाे ।

साविक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्था मर्जर प्रक्रियामा थिए । मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष साविक मिर्मिरे लघुवित्तले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साविक नेरुडे लघुवित्तबाट बन्ने सहमति थियो । साविक मिर्मिरे लघुवित्तमा अध्यक्षको भूमिका टेकबहादुर बोहराले गरिरहेका थिए ।

प्रारम्भिक सम्झौतादेखि दुई संस्था मर्जर प्रक्रियाका अधिकांश सहमति बोहरासँग भएका थिए । तर, मर्जर प्रक्रिया चलिरहेकै बेला नेपाल राष्ट्र बैंकले साविक मिर्मिरे लघुवित्तका अध्यक्ष बोहरालाई कारबाही गर्‍याे । स्वार्थ बाझिनेगरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामग्री खरिद गराएको आरोप उनलाई लाग्याे ।

राष्ट्र बैंकले १५ दिनको समय दिएर बोहरालाई स्पष्टिकरण सोध्यो । तर, उनले पेस गरेको ७ पृष्ठको स्पष्टिकरण तत्कालीन लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाललाई चित्त बुझेन । त्यसपछि शक्ति प्रयोग गर्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म लघुवित्त संस्थाको सञ्चालकसमेत नबन्ने गरी कारबाही गर्‍याे । राष्ट्र बैंकले कारबाही गरेपश्चात बोहरा सञ्चालक समितिको अध्यक्षबाट स्वतः हटे ।

राष्ट्र बैंकको उक्त कदमप्रति बोहरा असन्तुष्ट बने । संस्थाको राम्रो ग्रोथ र वित्तीय सूचक सन्तोषजनक भएपनि साविक मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुश्करराज जोशी र कार्यकारी निर्देशक नेपालको मिलेमतोमा कारवाही गरेको आरोप लगाउँदै बाेहराले उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरे ।

उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले गत जेठमा राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । बोहरालाई कारबाही गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक निर्देशक रेवतिप्रसाद नेपाललाई अपरिपक्व निर्णय गरेको भन्दै लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखबाट सरुवा गराएर अर्काे विभागमा पठाएको थियो ।

राष्ट्र बैंकले विभिन्न आरोप लगाएर हटाइएका बोहरालाई अदालतले न्याय दिएको ५ महिनापछि लघुवित्तमा पुनरागमन भएका हुन् । बोहरा लघुवित्तको संस्थापक सेयरधनी पनि हुन् ।

आन्दोलन थेग्न नसकेपछि अध्यक्षकाे राजीनामा

कर्मचारीको आन्दोलन थाम्न नसकेपछि नेरुडे मिर्मिरे लघुवित्त अध्यक्ष सन्ताेष फुयालले राजीनामा दिएका थिए । आन्दोलित कर्मचारीहरूले राखेका मागहरू सम्बोधन गर्न नसकेपछि उनले राजीनामा दिएकाे बुझिएको छ  । उनले राजीनामा दिएपछि बाेहरा अध्यक्षमा नियुक्त भएका हुन् ।

नेरुडे मिर्मिरे लघुवित्त स्रोतका अनुसार मर्जरपछि ६ महिनादेखि लघुवित्त संस्थामा आन्दोलनमात्रै भयो । संस्था बर्बाद हुने अवस्था बनेपछि फुयालले राजीनामा दिएका हुन् । उनी अध्यक्ष पदबाट हटेपनि सञ्चालक समिति सदस्य पद भने यथावत कायम रहेको लघुवित्तका कम्पनी सचिव तुलसी रामक पाठकले जानकारी दिए ।

फुयालले दिएको राजीनामा असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले असोज ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको कम्पनी सचिव पाठक बताउँछन् ।

विभिन्न माग राख्दै नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरू विगत ३ महिनादेखि आन्दोलित छन् । मनोबल खस्किनेगरी पद घटुवा गरेपछि कर्मचारीमा आन्दोलनमा उत्रिएका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्‍याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको आरोप कर्मचारीहरूकाे छ । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने माग उनीहरूको छ ।

नवनियुक्त अध्यक्ष बोहराले विकासन्यूजसँग कुरा गर्दै अब कर्मचारीकाे समस्या समाधानमा लाग्ने जानकारी दिए । उनले कर्मचारीहरूका माग सम्बोधन गर्दै आन्दोलन फिर्ता लिन लगाउने बताए ।

‘मेरो पहिलो काम आन्दोलित कर्मचारीका माग पूरा गर्ने हो, माग पूरागरी कर्मचारीलाई काम गर्ने वातावरण बनाउने छु,’ अध्यक्ष बाेहराले भने, ‘कतिपय माग सम्बोधन गर्न नमिल्ने छन्, सम्बोधन गर्न मिल्ने माग पुसभित्र पुरा गर्नेगरी कर्मचारीको आन्दोलन तत्काल फिर्ता गर्न पहल गर्छु ।’

सम्बन्धित सामाग्री:

राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !

राष्ट्र बैंकविरुद्ध अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष

लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंकको हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी

नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)

नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा ! 

नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी

नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी

नेरूडे मिर्मिरे प्रकरण : कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने

नेरूडे मिर्मिरे प्रकरण स् कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने

नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प

नेरूडे मिर्मिरेका कर्मचारी फेरि आन्दोलित, लघुवित्तमा पुग्यो राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.