सुधीरलाई २६ प्रश्न: घरजग्गामा लगानीदेखि बचत ठगीको श्रृङ्खला, यस्तो छ बचत फिर्ताको योजना

  २०८१ असोज ६ गते १३:२९     विकासन्युज

काठमाडौं । ओरियन्टल को-अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतको विभिन्न ९ वटा सहरमा आफ्नो नाममा जग्गा रहेको  पाइएकाे छ । उनले सहकारी बचत रकम हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग भक्तपुर, पोखरा, दमौली, चितवन, हेटौडा, पर्सा, दाङ, बाँके र बर्दियामा जग्गा रहेको जानकारी दिएका हुन् ।

बस्नेतले सहकारीको रकमबाट नै भक्तपुरको गुन्डुमा २७६ रोपनी जग्गा खरीद गरेको पनि जानकारी दिएका छन् । उनले समितिसमक्ष सहकारीको बचतकर्ताको बचत फिर्ताको लागि जग्गा बिक्री गर्ने योजना पनि सुनाएका छन् ।

यस्तै, उनले पछिल्लो १२ वर्षको अवधिमा आफूले धेरै मुद्दा खेप्नु परेको बताएका छन् । उनले आफू अब सहकारीका बचतकर्ताको बचत फिर्तामा केन्द्रित हुने बयान दिएका छन् ।

यस्तो छ उनको बयानको पूर्णपाठः

आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्य हाल कहाँकहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

मेरो नाम सुधिर बस्नेत हो । बाजे गेहेन्द्र बहादुर बस्नेत, बुवा सुशिल बस्नेत, आमा सुनिता बस्नेत हो । म हाल काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा बस्छु । मेरो ना.प्र.नं. ८०४७ मिति २०४७-०४८ र मोबाइल नं ९८२७४३५४९० हो ।

तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

मेरो शारीरिक तथा मानसिक अवस्था सामान्य रहेको छ । सोधिएको प्रश्नको जवाफ दिन सक्छु ।

तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

म काठमाडौं महानगरपालिका मैतीदेवीस्थित प्रधान कार्यालय भएको ओरियन्टल को–अपरेटिभ लि.मा अध्यक्ष, ओरियन्टलको अपरेटिभ लि. ले माइन्युटिङ गरी खोलिएको काठमाडौं न्यूरोडमा प्रधान कार्यालय भएको भेगास बचत तथा ऋण सहकारी लि. काठमाडौं हात्तिसार प्रधान कार्यालय भएको कन्जुमर वचत तथा ऋण सहकारी, काठमाडौं न्यूरोडमा प्रधान कार्यालय भएको कोहीनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.मा संरक्षकको रूपमा र ओरियन्टल कोअपरेटिभ लि.को सञ्चालकले सञ्चालन गरेको काठमाडौं पुतलीसडकस्थित प्रधान कार्यालय भएको प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ जुन पछिल्लो समय अप्रत्यक्ष रूपमा ओरियन्टल कोअपरेटिभ लि.का सञ्चालकहरूद्वारा नै सञ्चालन गरिएको थियो । स्ट्याण्डर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कुबेर वचत तथा ऋण सहकारी संस्था, चार्टड सेभिङ एण्ड क्रेडीट को–अपरेटिभ र स्ट्याण्डर्ड मल्टिप्रपोज को अपरेटिभ लिमिटेडसँग मेरो कुनै संलग्नता छैन ।

सहकारी ऐन र प्रचलित कानूनबमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/ थियो ?

सहकारी ऐन २०४८ र प्रचलित कानून बमोजिम नै सहकारी सञ्चालन गरिएको थियो । २०६८ सालमा नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त निरीक्षणमा जग्गा जमिनमा बढी लगानी गरिएको र यसलाई हटाउनु पर्ने निर्देशन पनि थियो ।

सहकारी संस्था सञ्चालनबाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ?

म सुरुमा गाडीसम्बन्धि र सप्लायर्ससम्बन्धी कार्य गर्दथें । म हाउजिङ व्यवसायी हाे । पहिले अग्नि वायु सेवा सञ्चालन गर्दथें ।

तपाईं अध्यक्ष रहेको ओरियन्टियल को अपरेटिभ लि. र तपाई आवद्ध अन्य सहकारीको सञ्चालक समितिमा को को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

उक्त सहकारीमा अध्यक्षमा म, उपाध्यक्ष धिरेन्द्रप्रसाद प्रधान, सदस्यहरू यवजंग रायमाझी, रिजेश थापा, कुमार के.सी., कालिन्द्रवहादुर जि.सी. र लक्ष्मण थापा हुन्। उक्त सहकारीमा स्थापनाकालदेखि नै म अध्यक्षको रूपमा रहेको थिएँ।

हाल उक्त संस्थाहरू सञ्चालनमा छ छैन ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ?

हाल उक्त संस्थाहरू सञ्चालनमा छैनन् । सुरुमा उक्त संस्थाबाट प्रवाह भएको कर्जाहरू उठाउन गाह्रो भएको हुनाले संस्थाको नाममा जग्गा जमिन खरीद गर्न थालियो र पछि सहकारी विभागबाट सहकारीको नाममा सीमित मात्रामा जग्गा खरीद गर्ने निर्देशन भएकोले सहकारीको नाममा भएको जग्गाहरू विभिन्न व्यक्तिहरूको नाममा ऋण खडा गरियो । पछिल्लो समय नेपाल राष्ट्र बैंककाे नीतिमा भएको परिवर्तनले जग्गा जमिन बिक्री गर्न गाह्रो भयो र बचतकर्तालाई बचत फिर्ता गर्न सकिएन र संस्था धराशायी हुन गएको हो । हाल ती ऋणीहरूले जग्गा संस्था के सम्पत्ति हो उक्त जग्गाहरू संस्थाको नाममा फिर्ता गर्न मन्जुर भएको भनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा लिखित रूपमा कागजसमेत पेस गरिसकेका छन् ।

यी जग्गाहरूमध्ये केही जग्गा र बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्नको लागि विभिन्न फाइनान्स कम्पनीहरूमा सहकारीद्वारा धितो राखी रकम निकाली बचतकर्ताहरूलाई बाँडिएको थियो । उक्त फाइनान्स कम्पनीहरूलाई समयमै ऋण भुक्तान गर्न सकिएन। मैले प्रहरी तथा विभागमा दिएको बयानको क्रममा सम्पत्ति विवरण उपलब्ध गराई रोक्का राख्न निवेदन दिएको थिएँ । तर, विभागबाट जग्गा रोक्का भएको र केही फाइनान्स कम्पनीहरूले उक्त रोक्का विरुद्धमा मुद्दा दायर गरी मुद्दा जिती केही जग्गाहरू लिलाम बिक्री गरिसकेका छन् । हाल हामीसँग लिलाम बाँकी भएको जग्गा जमिनबाट बचतकर्ताहरूलाई बचत रकम फिर्ता गर्न हामी सक्षम छौं ।

सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

सञ्चालक समितिमा रहेका मध्ये यवजंग रायमाझी नाताले मेरो मामा हुनुहुन्छ । अन्य कोही हुनुहुन्न ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं अध्यक्ष सहकारीक सञ्चालक समितिमा पनि छन् वा छैनन् ? थिए वा थिएनन् ? यदि थिए भने उक्त कुरा कानूनसम्म हो, होइन ? खुलाइदिनुहोस्।

प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्टकोअपरेटिभका अध्यक्ष हाम्रो ओरियन्टल सहकारीको उपाध्यक्ष हुनुहुन्थ्यो । अन्य कोही पनि हुनुहुन्न । तत्कालीन समयमा प्रचलिन सहकारी ऐनअनुसार एउटा सहकारीमा सञ्चालक भएको व्यक्ति अरू सहकारीमा सञ्चालक समितिमा बस्न नमिल्ने भन्ने कानुन थिएन । पछिल्लो समयमा हामीले उक्त प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभलाई ओरियन्टियल कोअपरेटिभ लि.मा मर्ज गर्ने तयारीमा थियो ।

सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के–कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ?

सञ्चालकहरू कर्मचारी थिएनन् । ओरियन्टियलको अपरेटिभ लिमिटेडबाहेक अरू सहकारीमा सञ्चालकहरू कर्मचारी थिए । व्यवस्थापक र कर्मचारी छनौट गर्दा सहकारीको आफ्नै कर्मचारी नियमावलीअनुसार गर्ने गरिएको थियो ।

सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/ थियो या थिएन ?

सहकारी संस्थाका सदस्य बाहेकका व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थिएन ।

सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ?

सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाइएको थियो। यस सहकारीको नेपालभर नै कार्यक्षेत्र रहेको छ ।

सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाणसमेत पेस गर्नुहोस् ।

२०७१ सालमा सहकारी छानविनको लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले तत्कालीन समयमा सम्पूर्ण विवरणहरू लगेको थियो । हाल उक्त विवरणहरू समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा रहेको छ । मलाई हाल याद भएअनुसार पोखरा, दमौली, चितवन, हेटौडा, पर्सा, दाङ, बाँके र बर्दियामा जग्गाहरू रहेका छन् । साथै संस्थाको रकमबाट भक्तपुर गुन्डुमा २७६ रोपनी जग्गा खरीद गरिएको छ ।

अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग ? खुलाउनुहोस् ।

हाम्रो संरक्षकत्वमा भएको सहकारीबाहेक अन्य सहकारीहरूसँग अन्तर सहकारी कारोबार गरिएको छैन ।

तपाईं अध्यक्ष रहेको ओरियन्टल को-अपरेटिभ लि. सहकारी संस्था र तपाईं आवद्ध भएका अन्य सहकारी संस्थाहरूको बचत रकम ऋण लगानी, बैकिङ तथा गैरदायित्य के कति छ ? खुसाइदिनुहोस् ।

उक्त सहकारीहरूको कुल दायित्व करीब २ अर्ब ९४ करोड रहेको छ । हाम्रा सहकारीहरूका नाममा रहेको माथि उल्लेखित जग्गा जमिनको हालको बजार मूल्य चार अर्ब रहेको छ । सहकारीको सम्पत्तिको विवरण यस समितिमा पेस गरेको कार्ययोजनामा उल्लेख गरिएको छ ।

तपाईं अध्यक्ष रहेको सहकारी संस्थासँग बचतकर्ताको कूल निक्षेप रु ४ अर्ब २१ करोड बराबर रहेको तर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट बचतकर्ताहरूले मागदाबी गर्दा जम्मा रकम रु. ३ अर्व ६७ करोड लेखाउन हुन आएको छ ? किन फरक पर्न गयो ? खुलाइदिनुहोस् ।

यस सहकारी समस्यामा आएको समयदेखि समस्याग्रस्त सहकारी व्यवस्थान समितिमा बचतकर्ताहरूले मागदाबी लिएको समयसम्ममा केही बचतकर्ताहरूको बचत रकम बराबरको जग्गा उपलब्ध गराई फिर्ता गरिएको हुनाले दाबी रकम कम हुन गएको हो। हाल मागदावी रु २ अर्व ९४ करोड रहेको छ।

बचतकर्तालाई करकट्टा गरी ब्याज दिने तर कट्टा गरेको कर रकम जम्मा रु. ५३ करोड १० लाख बराबरको कर दायित्व सरकारलाई किन नतिरेको हो ?

ओरियन्टल को अपरेटिभसमेत बन्द हुँदाको समयसम्म सम्पूर्ण करचुक्ता गरी करचुक्ता प्रमाणपत्र समेत लिइएको थियो । यो सिस्टममा देखिएको कर रकम मेरो अन्य व्यापार व्यवसायसँग सम्बन्धित हो र यी सहकारीहरूसँग कुनै सम्बन्ध रहेको छैन। उक्त करको विषयमा कर कार्यालयले एकतर्फी रूपमा कर निर्धारण गरेको हुँदा पुनः निरीक्षण गरी कर निर्धारण गरी पाऊँ भनी सम्मानित सर्वोच्च अदालतमा निवेदन दायर गरेको छु र हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको व्यहोरा अनुरोध गर्दछु ।

संस्थाले विभिन्न बैंब तथा वित्तीय संस्थाबाट के कुन प्रयोजनको लागि रु. १ अर्ब ७ करोड ८४ लाख बराबरको कूल ऋण रकम लिएको हो ?

ओरियन्टल को-अपरेटिभ लि. समेतले कुनै पनि बैंकबाट कर्जा लिएको छैन। यो ऋण रकम मेरो व्यक्तिगत व्यापार व्यवसायसँग सम्बन्धित ऋण रकम हो ।

अन्य साहु शीर्षकमा रु. १९ करोड ७० लाख कसलाई र केका निम्ति तिर्नुपर्ने हो ? खुलाइदिनुहोस् ।

सिस्टममा देखिएको साहु मेरो व्यक्तिगत व्यापार व्यवसायका साहुहरू हुन् सहकारीसँग, सम्बन्धित छैन ।

जुन सम्पतिलाई बैंकमा धितो राखी ऋण लिएको त्यही सम्पत्तिको नाममा अपार्टमेन्टको एडमान्स बुकिङ भनी अधिकतम रकम किन लिएको हो ?

जुन सम्पत्ति बैंकमा राखिएको हुन्छ उक्त सम्पतिको ऋण कम निस्किन्छ र अपार्टमेन्टको निर्माण कार्य गर्नको लागि अत्यधिक रकम आवश्यक पर्छ। सो रकममध्ये केही रकम बुकिङकर्ताहरूसँग लिने गरिएको हो । बिक्रीको सुनिश्चितताको लागि बुकिङकर्ताहरूसँग उक्त रकम लिइएको हुन्छ अधिकतम रकम लिइएको होइन ।

विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ?

विद्यमान अवस्थामा हामी सहकारीको समस्या समाधान गर्न सक्छौं । सोको लागि हामीले हाम्रो कार्ययोजनासमेत समस्याग्रस्त व्यवस्थापन समितिलाई पटक–पटक बुझाएका छौं । सो कार्ययोजनाअन्तर्गत लिन मन्जुरी भएका बचतकर्ताहरूलाई बचत बराबरको सम्पत्ति बाँडेर बचत फिर्ता गर्न सकिन्छ । हामीले सोहीअनुरूपको कार्यसमेत सुरु गरिसकेका थियौं । जसमध्ये भक्तपुर गुन्डुको १३ रोपनी जग्गा समितिबाट फुकुवा भएपछि करीब २३ करोड रकम बराबर भएका बचतकर्ताहरूलाई बाँडियो । सोपश्चात थप जग्गा लिन मन्जुर भएका १ अर्ब ७२ करोड रकम बराबरको बचत भएका बचतकर्ताहरूको नामावली समस्याग्रस्त व्यवस्थापन समितिसमक्ष पेस गरेका छौं । जसमध्ये १८ करोड बराबर रकम बचत भएका बचतकर्ताहरूलाई सनाखत समेत गराइसकिएको छ।

हाल आएर समस्याग्रस्त व्यवस्थापन समितिका पदाधिकारी परिवर्तन भएको हुँदा उहाँले बुझ्न समय लाग्ने र मन्त्रालयमा स्वीकृतिको लागि पत्र पठाउनु भएको भनी जानकारी गराउनु भएको छ। हाल बचतकर्ताहरूसँग सनाखत गर्ने कार्यसमेत रोक्नु भएको छ। यदि हामीले हाम्रो कार्ययोजना अनुरूप सहज रूपमा सम्बन्धित बचतकर्ताहरूलाई जग्गा वितरण गर्न पाएमा नौ महिनादेखि एक वर्ष भित्रमा सम्पूर्ण बचतकर्ताहरूलाई बचत फिर्ता गर्न सक्ने अवस्थामा छौं । साथै साना बचतकर्ताहरूको हकमा विभिन्न जिल्लामा भएका सम्पत्ति र भक्तपुर गुन्डुका केही जग्गाहरू बिक्री गरी बचत रकम फिर्ता गर्न सकिने छ। हाम्रो कार्ययोजनाको एक प्रति प्रतिलिपि यस समितिमा पनि पेश गरिसकेका छौं। नेपाल सरकारकाे रोहबरमा बचतकर्ताहरूलाई बचत रकम बराबरको जग्गा बाँड्न पाएमा समस्या समयमै समाधान हुने थियो ।

तपाईं अध्यक्ष रहेको ओरियन्टियल कोअपरेटिभ लि. सहकारीको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैकले के-के गर्नु पर्ला ?

हामीसँग भएको सम्पत्तिहरू बचतकर्ताहरूको मन्जुरीमा उनीहरूलाई उपलब्ध गराउन नेपाल सरकारले बचतकर्ताहरूको मन्जुरी लिएर सनाखत गराई नेपाल सरकार के रोहबरमा बचतकर्ता वा बचतकर्ताहरूले मन्जुरी दिएको व्यक्तिकाे नाममा पास हुने गरी फुकुवा भएमा सहकारीको समस्या समाधान गर्न सहज हुने थियो ।

सहकारीका अहिलेको समस्या समाधान गर्न कम्पनीमा रूपान्तरण गर्दा समस्या समाधान गर्न सकिन्छ? यसमा तपाईको भन्नु के छ ?

अहिलेको कानुनअनुसार उपयुक्त हुँदैन । मेरो विचारमा कुनै पनि सहकारी यसरी कम्पनीमा जाँदैनन् । बचत तथा ऋणका सञ्चालक र सहकारीको संख्यासमेत कम गर्नु पर्छ । सहकारीमा रु १०० मा सदस्य बनाइएको हुन्छ जुन कार्यविधि पुरा गर्न गरिएको मात्र हुन्छ ।

तपाईंले सञ्चालन गर्नु भएको ग्राण्ड अपार्टमेन्ट समेतमा लगानी गरेका लगानीकर्ताहरूको तर्फबाट सुनिता श्रेष्ठ र राजु श्रेष्ठ समेतले १२ वर्षदेखि हामीले लगानी गरेको लगानीको प्रतिफल प्राप्त हुन सकेन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति लगायतबाट रोका रहेको हुँदा यस समस्याको शीघ्र समाधान गरि हाम्रो लगानीको प्रतिफल हा नाममा गरिपाऊँ भन्नेसमेत व्यहोराको निवेदन प्राप्त भएको छ। उक्त समस्या के कति कारणले सृजना भएको हो? तपाईंको ग्राण्ड अपार्टमेन्ट लगायतका अपार्टमेन्टहरूका समस्या के कसरी समाधान गर्नु हुन्छ ?

ग्राण्ड अपार्टमेन्ट हामीले २०६६/०६७ सालमा नै हस्तान्तरण गरेका थियौं । हामीले हस्तान्तरण गर्दा सबै युनिटको पुर्जा बनिसकेको थियो । सो बिल्डिङ पास गर्नको लागि हामीले चार करोड अन्यत्रबाट व्यवस्थापन गरी बैंकको कर्जा भुक्तानी गरिदिएका थियौं । सो समयमा समितिका अध्यक्ष राजु श्रेष्ठले बैंक डिल गर्ने, पास गराउने लगायतका सम्पूर्ण कार्य गर्नु हुन्थ्यो। राजु श्रेष्ठ २०६६/२०६७ सालदेखि उक्त बिल्डिङमा बसोबास गर्दै आउनु भएको छ । हाल उहाँले उक्त बिल्डिङ भाडामा लगाउनु भएको छ । सो बिल्डिङको विषयमा अन्य कुनै समस्या भएको भए अन्य व्यक्तिहरू पनि यहाँ निवेदन गर्न उपस्थित हुनु हुन्थ्यो होला । हाम्रो तर्फबाट राजु श्रेष्ठसँग कुनै समस्या रहेको छैन । उक्त आवास संयुक्त आवास भएको हुनाले एक जनाले मात्र भुक्तानी गरेर फुकुवा हुँदैन सम्पूर्ण भुक्तानी भएमा मात्र फुकुवा हुन्छ र बिल्डिङमा टाँसिएको रातो स्टिकर हटाई हरियो स्टिकर टाँस गर्न सबैले मिलि खर्च गरि मर्मत सम्भार गरेमा हुन्छ । यसमा हाम्रो कम्पनिको कुनै गल्ति छैन । यसमा कम्पनिले गरेको करार बमोजिम निजलाई ब्याज बमोजिमको रकम भुक्तान गरि निजले उक्त अपार्टमेन्टबाट लिएको फाइदा समेत सबै कट्टा गरि अपार्टमेन्ट फिर्ता लिन तयार छौं ।

कुनै सहकारी सम्बन्धि वा फौजदारी मुद्दामा थुना वा कैदमा पर्नु भएको छ की छैन ? खुलाइदिनुहोस् ।

मलाई सहकारी ठगी मुद्दामा दुई वर्ष कैद तोकिएकोमा १८ महिना कैद भुक्तान गरिसकेको छु । धेरै मुद्दामा कैद भुक्तान गरी बाँकी केही मुद्दा विचाराधीन अवस्थामा छ ।

अन्त्यमा तपाईको थप केही भन्नु छ ?

यस सहकारीको सम्पत्ति दायित्वभन्दा धेरै रहेको छ । तसर्थ सहकारीको बचतकर्ताहरूलाई सहकारीको सम्पत्ति र सहकारीको रकमबाट खरिद गरेर रोक्का राखिएको सम्पत्ति दिएर हिसाबकिताब मिलाउन सरकारले उचित वातावरण निर्माण गरिदियोस् भन्न चाहन्छु । सामाजिक दायित्वका कारण समस्या छिटो भन्दा छिटो समाधान भएमा राम्रो हुन्थ्यो। उक्त समयमा जग्गामा धेरै लगानी भएको हुनाले समस्या सृजना भएको हो। मैले पछिल्लो १२ वर्षमा अत्यधिक मुद्दा झेल्नु परेकोले समयमै यी सबैबाट मुक्त हुनका लागि बचतकर्ताको रकम फिर्ता गर्न पाए हुन्थ्यो। म १२ वर्षदेखि यस सहकारीहरूको समस्या समाधान गर्न लागि परिरहेको छु। समयमै समाधान गर्न पाए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.