ऋणमा डुबेको भोडाफोनमा ३ खर्ब लगानी, कहाँबाट आयो पैसा ?

  २०८१ असोज ६ गते १८:०१     विकासन्युज

काठमाडौं । नगद संकट र ऋणमा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया (भीआई) ले नोकिया, इरिक्सन र सामसङसँग ३ अर्ब ६० करोड अमेरिकी डलर (लगभग ३ खर्ब रुपैयाँ) को सम्झौता गरेको छ ।

यो सम्झौता तीन वर्षको अवधिमा नेटवर्क उपकरण आपूर्तिका लागि गरिएको हो ।

कम्पनीले तीन वर्षका लागि ६ अर्ब ६० करोड डलरको पुँजीगत योजना बनाएको छ । यो सम्झौता त्यस दिशामा पहिलो कदम हो ।

कम्पनीले आफ्नो क्यापेक्स फोरजी कभरेज १ अर्ब ३ करोडबाट १ अर्ब २० पुर्याउने, प्रमुख बजारमा फाइभजी सुरु गर्ने र डाटा वृद्धिसँगै क्षमता विस्तार गर्ने लक्ष्य राखेको जनाइएको छ ।

कम्पनीले आफ्ना विद्यमान दीर्घकालीन साझेदार नोकिया र इरिक्सनसँग काम जारी राखेको र सामसङलाई पनि नयाँ साझेदारका रूपमा थपेको बताएको छ ।

यी सम्झौताले कम्पनीलाई अझ राम्रो ग्राहक अनुभव प्रदान गर्न नवीनतम अत्याधुनिक उपकरणहरूको तुरुन्त लाभ उठाउन मद्दत गर्नेछ ।

नयाँ सम्झौताबाट आपूर्ति आगामी त्रैमासमा सुरु हुनेछ । कम्पनीको शीर्ष प्राथमिकता १ अर्ब २० करोड भारतीयमा फोरजी कभरेज विस्तार गर्नु हो ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न उदीयमान नेटवर्क प्रविधिहरूमा लगानी गर्न प्रतिबद्ध रहेको बताएको छ ।

सर्वोच्च अदालतबाट झट्का

कम्पनीले लगानीको चक्र सुरु गरेको बताएको छ । ‘नोकिया र इरिक्सन स्थापनादेखि नै हाम्रा साझेदारहरू हुन् र यो निरन्तर साझेदारीमा अर्को कोसेढुङ्गा हो, हामी सामसङसँग हाम्रो नयाँ साझेदारी सुरु गर्न पाउँदा खुसी छौं,’ भोडाफोन आइडिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अक्षय मुन्द्राले भने, ‘हामी फाइभजी युगमा प्रवेश गर्दा हाम्रा सबै साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौं ।’

यसैबीच, सर्वोच्च अदालतले यस हप्ता भोडाफोन आइडिया लगायत टेलिकम कम्पनीहरूको धेरै याचिकाहरू खारेज गर्‍यो, जसमा कम्पनीहरूको एजीआर पुनः गणना गर्न माग गरिएको थियो ।

बीआईले ३१ मार्च २०२४ सम्म सरकारलाई २० खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ तिर्नुपर्ने थियो । कुल बक्यौतामा १३ खर्ब ३१ अर्ब १० करोडको स्थगित स्पेक्ट्रम भुक्तानी र ७ खर्ब ३ अर्ब २० करोडको एजीआर बक्यौता समावेश छ ।

अदालतले भुक्तानीमा राहत दिनेमा कम्पनी आशावादी थियो । अदालतको फैसलापछि बिहीबार कम्पनीको सेयरमा २० प्रतिशतले गिरावट आएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.