२०८१ असोज ७ गते १३:०१ विकासन्युज
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०२४ मा सार्वजनिक गरेको विश्वका तीन सय ठूला सहकारीहरूको सूचीअनुसार कूल वार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । यो अघिल्लो आधार वर्षभन्दा बढी हो । सन् २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा ३ सय ठूला सहकारीहरूको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो ।
आईसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरूको सूची २०२३ सार्वजनिक गरेको हो । आईसीएले वार्षिक कारोबारको आधार र कूल ग्रार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वर्ल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । दुबै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरूको बाहुल्यता रहेको छ ।
सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रूपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरूको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरूमध्ये १०५ कृषि सहकारीहरू रहेको देखाएको छ । त्यस्तै, कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सयमध्ये १०३ कृषि सहकारीहरू नै छन् । पहिलो आधारमा बीमा सहकारीहरू ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरू ५७ वटा रहेका छन् ।
यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरूमा कृषिपछि ८७ वटा बीमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘उच्च ३ सय भित्र’ परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ ।
कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे रहेको छ । तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ । १२औं संस्करणको वर्ल्डकोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरू ३ सय ठूलाभित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् ।
विश्वव्यापी सहकारी कारोबारमा फ्रेन्चहरूको २५ प्रतिशत हिस्सा
फ्रान्सेली (फ्रेन्च) सहकारीहरूले विश्व सहकारी अभियानको २५ प्रतिशत कारोबार हिस्सा ओगटेका छन् । हालै सार्वजनिक तथ्यांक अनुसार फ्रेञ्च सहकारीहरूले संयुक्त रूपमा ३४४.७५ विलियन अमेरिकी डलरको वार्षिक कारोबार गर्दछन् । कारोबारका आधारमा फ्रेञ्च अन्य युरोपेली मुलुकहरूसँगै विश्वका १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो । युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको पाइएको छ । युरोपका १ सय ठूला सहकारीहरूमा २३ वटा फ्रेन्च १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् ।
विश्वका १ सय ठूला सहकारीहरूले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् । जसमध्ये २५ लाख बढी (८० प्रतिशत) त युरोपेली सहकारीहरूमै खपत भएको छ । रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ । जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । फ्रान्सेली सहकारीहरूले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन् । स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ । जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत तथा अमेरिकाले १०.१ प्रतिशत कारोबार योगदान गरेको पाइएको छ ।
विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोन्डड्रागन
स्पेनको बास्क क्षेत्र (रिजन) मा सन् १९५६ मा माेन्डड्रागन सहकारी स्थापना भएको हो । यो श्रमिक सहकारीहरूको केन्द्रीय संघ (फेडरेशन) हो । अहिले ९८ वटा श्रमिक सहकारीहरू यसका सदस्य छन् । यसले १४३ वटा सहायक कम्पनी र २५ वटा व्यावसायिक इकाईकासाथ विश्वका विभिन्न ५ महादेशमा आफ्नो व्यवसाय बिस्तार गरेको छ । यो सहकारीको छातामुनि कूल ८० हजार ८१८ श्रमिक काम गर्दछन् । स्पेनभित्र मात्र ६७ हजार बढी कर्मचारी काम गर्दछन् । यसले विशेषगरी वित्त, औद्योगिक प्रतिष्ठान, बिक्री केन्द्रहरू र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।
यसले सञ्चालन गरेको माेन्डड्रागन विश्वविद्यालयमा ४७ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दछन् भने १५ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालनमा रहेका छन् । यी केन्द्रहरू व्यावसायिक तालीम र अध्ययन अनुसन्धानको कार्यमा केन्द्रित छन् । यो स्पेनको दशौं ठूलो व्यावसायिक संगठन हो । यो विश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी पनि हो । यसको वार्षिक १२.२२ अर्ब यूरोको कारोबार रहेको छ । कार्यरत श्रमिकहरूमध्ये ४० प्रतिशत जति सहकारीका सदस्य छन् । औद्याेगिक सहकारीतर्फ भने ८० प्रतिशत श्रमिकहरू सहकारीका सदस्य रहेका छन् ।
सन् १९४३ मा जोसे मारिया एरिजमेन्डिएरेटा नाम गरेका क्याथोलिक पादरीले सहकारीको विकासको लागि योजना बनाएका हुन् । उनले सर्वप्रथम पहिले एउटा सहकारी प्राविधिक विधालयको स्थापना गरे । स्थानीय युवाहरूलाई रोजगारीको अवसरका साथै श्रमिक सहकारीको स्थापना उनको लक्ष्य रहेको थियो । सन् १९४८ मा यो विद्यालय दर्ता भएर सञ्चालनमा आयो । यसै विद्यालयबाट पहिलो पटक ११ जना सबैभन्दा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूले स्पेनको जारागोजा विश्वविद्यालयमा औधोगिक इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । सन् १९५५ मा तिनै ११ जना विद्यार्थीहरूमध्ये ५ जनाले एउटा टाट पल्टिएको हिटर र स्टोभ बनाउने फर्म खरिद गरे । एक वर्षभित्र उनीहरूले यो फर्म मोन्डड्रागनमा सारे । सन् १९५८ मा यो फर्म नै सहकारीमा रूपान्तरण गरियो जसको नाम फेगर राखियो ।
यही सहकारी पछि गएर स्पेनको सबैभन्दा ठूलो घरेलु सामान उत्पादन र बिक्री गर्ने व्यावसायिक संगठन बन्न पुग्यो । इरोस्की मोन्डड्रागनको श्रमिक उपभोक्ता सहकारी हो । यो स्पेनको सुपरमार्केट, हाइपर मार्केट र मलहरूको चेन हो । यसका २ हजार भन्दा बढी आउटलेटहरू विश्वभर फैलिएका छन् । त्यसैगरी यही समूह भित्रको काजा लेवर क्रेडिट युनियन (सहकारी) स्पेनको ९ औं ठूलो बैंक बन्न पुगेको छ ।
अन्तर वित्तीय सहकार्यका कारण, संस्थागत सुरक्षा पद्धतिका कारण संकटको बेला पनि एकले अर्कोलाई सहयोग गर्दै आइरहेका छन् । यसमा आबद्ध प्राय: सबै सहकारीहरूले विविध कठिनाइको सामना गरेका छन्। सायद यो सहकार्यको संस्कृति नभएको भए कतिपय सहकारीको अस्तित्व समाप्त हुने थियो ।
सन् १९९७ मा तीनवटा शिक्षा सहकारीहरू मिलेर मोन्डड्रागन विश्वविधालयको स्थापना भएको हो । प्राविधिक अनुसन्धान क्षेत्रमा विश्व प्रख्यात प्राविधिक केन्द्रहरू इकेरलान, इडेको र लोरटेक यसका सहायक संगठनहरू हुन्। यो विश्वविद्यालयको स्थापनामा तीन किसिमका साझेदारहरू रहेका छन् । विश्वविद्यालयको स्थापनामा श्रमिकको रूपमा शिक्षक, अनुसन्धानकर्ता र कर्मचारीहरू छन् भने अन्य लगानीकर्तामा सम्बन्धित सहकारी र सहायक कम्पनीहरू रहेका छन् । विद्यार्थीहरूसमेत यस विश्वविद्यालयका सदस्यहरू हुन् ।
(सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.