२०८१ असोज ७ गते १६:३२ विकासन्युज
काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले बृहत शैक्षिक मेला गर्ने भएको छ । काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्न लागेको साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हाे ।
विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जनाइएको छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न स्वदेश, विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।
शैक्षिक मेलामा १५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको बताए ।
उनले भने, ‘मेलाले नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह हुनेछ । शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी पाउन सजिलो होस् भनेर आयोजना गर्न लागिएको हो ।’
अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्त्वपूर्ण माध्यम हुने बताए । मेलामा विद्यार्थीले विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् ।
इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् ।
उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिकसंस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ ।’
मेलाले विशेषगरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसैगरी, विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् ।
मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करिअरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा आयोजकले गरेको छ । शैक्षिक परामर्शदाताहरूको सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको छन्
Copyright © 2024 Bikash Media Pvt. Ltd.