विश्वमा नभएको व्यवस्था लाद्‍दै प्राधिकरण, जीवन बीमाक्षेत्र नै ध्वस्त हुने चिन्तामा अभिकर्ता

  २०८१ असोज ७ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको नियामक निकायका साथै अभिभावक पनि हो । निष्पक्ष, प्रतिस्पर्धी र भरपर्दो बीमा सेवा सुनिश्चित गर्ने जिम्मेवारी  प्राधिकरणलाई  दिइएको छ ।  यसका साथै बीमितको हकहितको प्रभावकारी संरक्षण गर्न बीमाको पूर्ण नियमन गर्ने दायित्व पनि प्राधिकरणको रहेको छ।

तर, प्राधिकरण नै बीमा क्षेत्रलाई ध्वस्त पार्न लागको आरोप छ । प्राधिकरणले बीमा नियामावलीमा अभिकर्ताहरूलाई बाइपास गरेर प्रस्ताव गरेको छ । अभिकर्तासँगै समग्र बीमा क्षेत्रको अहित हुनेगरी प्राधिकरणले बीमा नियामावलीमा केही बुँदाहरू राखेको अभिकर्ताको भनाइ छ ।

उसो त कुनै पनि ऐन, नियम, निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउनुपूर्व त्यस क्षेत्रका सरकारवालाहरूसँग छलफल गरिन्छ । यो विश्वको नियम हो । तर, प्राधिकरणले नियामवलीमा अभिकर्तासम्बन्धी व्यवस्था राख्दा अभिकर्तासँग छलफल त परै जाओस् सुझाव पनि मागेन ।

अहिले सो नियामावली अन्तिम चरणमा छ । कानुन मन्त्रालयबाट पनि स्वीकृत पाइसकेको उक्त नियामावली जारी हुने चरणमा रहेको छ । तर, नियामावलीमा अभिकर्ताको व्यवस्थाबारे उल्लेखित केही बुँदाले अहिले अभिकर्ता आन्दोलित मात्र भएका छैनन्, उनीहरूले व्यवसाय नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

यी हुन् अभिकर्तालाई चित्त नबुझेका विषय :

१. मान्यताप्राप्त संस्था वा बोर्डबाट १२ कक्षा उत्तीर्ण भएको व्यक्तिमात्र बीमा अभिकर्ताका लागि योग्य हुने

२. एक पटक बीमा गरिसकेका बीमितको नवीकरणका आधारमा मात्र बीमा अभिकर्ताको नवीकरण हुने व्यवस्था

३. बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट

४. एकल बीमाशुल्कअन्तर्गतको कमिसन ५ वर्षसम्म किस्ता किस्सामा अभिकर्तालाई भुक्तानी दिने ।

माथि उल्लेखितमध्ये अभिकर्तालाई चिड्याएको भनेको बीमित आफैले प्रत्यक्षरूपमा कमिसन बराबरको रकम नबढ्नेगरी बीमाशुल्कमा छुट हुने प्रस्तावले हो । यसो गरेमा समग्र जीवन बीमाक्षेत्र नै धरासायी हुने अभिकर्ताहरूको भनाइ छ ।

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले यस व्यवस्था लागू भएमा जीवन बीमाक्षेत्र नै ध्वस्त हुने दाबी गरेका छन् । उनले जीवन बीमा भनेको अभिकर्ता आधारित व्यवसाय भएकाले बीमितलाई स्वयम अभिकर्ता मानेर उक्त बुँदा लागू गरेमा जीवन बीमाक्षेत्र नै धरासायी बन्ने बताए ।

अध्यक्ष अधिकारीका अनुसार विश्वका कुनै पनि देशमा यस प्रकारको व्यवस्था छैन । बीमित आफै जीवन बीमा कम्पनीमा गएर बीमा गरेमा अभिकर्तालाई दिने कमिसन बराबर रकम सोही बीमितलाई नै भुक्तानी दिने नियम विश्वका विकसित मुलुक जापान, अमेरिका, भारत, स्वीजरल्याण्ड, सिङ्गापुर, जर्मनी आदि देशहरूमा नभएको उनको भनाइ छ ।

‘विश्वमै नभएको व्यवस्था प्राधिकरणले गर्दैछ । यसले समग्र जीवन बीमाक्षेत्र नै ध्वस्त हुन्छ, ’ अधिकारीले थपे, ‘३ करोड जनता नै अभिकर्ता भएपछि हाम्रो के काम ? हामी व्यवसाय ठप्प पाछौं, आन्दोलन गछौं ।’

तर, निर्जीव क्षेत्रमा पनि बीमित आफै बीमा गर्न गएमा उसले अभिकर्ता कमिसन बराबर रकम छुट पाउँछ । तर, जीवन बीमा किन नपाउने भन्ने प्रश्नमा उनले भने,  ‘जीवन र निर्जीवनको नेचर नै फरक छ । जीवन भनेको अभिकर्तामा आधारित व्यवसाय हो भने निर्जीवन भनेको कर्पाेरेट हाउसबीच एग्रिमेन्ट भएर गरिन्छ । यो विश्वमा नै भएको नियम हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.