२०८१ असोज ७ गते १८:५७ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा करिब ४ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । यो दुई महिनामा ३ अर्ब ९९ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको हो ।
जसमध्ये चीनबाट मात्रै ३ अर्ब ५ करोड ८८ लाख रुपैयाँको विद्युतिय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । यो कुल आयातित विद्युतीय गाडीकाे ७६.५८ प्रतिशत हो ।
विभागका अनुसार ४ वटा देशबाट ३ हजार २७० वटा विद्युतीय गाडी आयात भएको छ । जसमध्ये २ हजार ४४१ वटा गाडी चीनबाट भित्रिएको हो ।
चीनबाट
दुई महिनामा चीनबाट १ हजार ३१६ वटा तीन पांग्रे गाडी, ५० किलोवाटसम्मको कार, जिप र भ्यान गरेर ३६१ वटा सवारी, ५१ देखि १०० किलोवाटसम्मका कार, जिप र भ्यान ६६२ वटा सवारी, १०१ देखि २०० किलोवाटका कार, जिप र भ्यान ९८ वटा र २०१ देखि ३०० किलोवाटसम्मका कार, जिप र भ्यान २ वटा गरी कुल २ हजार ४४१ वटा विद्युतीय सवारी आयात भएको छ । यसैगरी, ३०१ किलोवाट भन्दा बढी क्षमताका कार, जिप र भ्यान २ वटा आयात भएको छ ।
भारतबाट
भारतबाट तीन पांग्रे विद्युतीय सवारी ३५२ वटा आयात भएको छ । यसैगरी, ५० किलोवाटसम्मका कार, जिप र भ्यान १९९ वटा, ५१ देखि १०० किलोवाट सम्मका कार, जिप र भ्यान २७६ वटा सवारी आयात भएको छ ।
अमेरिका र जर्मनीबाट
अमेरिकाबाट १०१ देखि २०० वाटसम्मका १ वटा विद्युतीय सवारी र जर्मनीबाट २०१ देखि ३०० किलोवाटसम्मको १ वटा सवारी आयात भएको छ ।
समग्रमा विद्युतीय गाडी आयातबाट २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.