२०८१ असोज ८ गते १०:५४ विकासन्युज
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले साधारण सभा आह्वान गरेको छ । बैंकको असोव ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे १० बजे काठमाडौंमा बोलाएको हो ।
बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
साथै बैंकको सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी नाफा भएको वर्ष वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.