२०८१ असोज ८ गते ११:१७ विकासन्युज
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ ।
लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार १३ करोड ६६ लाख रुपैयाँ लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।
निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए ।
भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताए । उनका अनुसार भवनको रङरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ ।
अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आइसीयू सहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.