सुरेन्द्रको बयान : सहकारीको पैसा निजी कम्पनीमा लगाएँ, प्रतिफल नपाउँदा डुबेँ

  २०८१ असोज ८ गते १३:१८     विकासन्युज

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सचिव सुरेन्द्र भण्डारीले सहकारीको पैसा निजी कम्पनीमा लगानी गरेको स्वीकार गरेका छन् । सहकारी रकम अपचलन सम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिसँग बयान दिँदै उनले सो स्वीकार गरेका हुन् । उनले लगानी गरेका कम्पनीबाट प्रतिफल प्राप्त नहुँदा आफू समस्या परेको पनि धारणा राखेका छन् ।

‘बहुउद्देश्यीय प्रकृतिको सहकारी भएको कारण हाम्रो सहकारीले विभिन्न संस्थामा सेयर तथा कर्जा लगानी गरेका थियौं । तर, त्यसको प्रतिफल सोचे अनुरूप आएन,’ उनले बयानका क्रममा भनेका छन् ।

यस्तो छ उनको बयान :

आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

मेरो बाजेको नाम मन बहादुर भण्डारी, बुबाको नाम जित बहादुर भण्डारी, आमा कलावती भण्डारी, मेरो नाम सुरेन्द्र भण्डारी हो । स्थायी घर गोरखा हो । श्रीमती प्रमिला बस्नेत र छोरीहरू वर्ष १४ को प्रिंसा भण्डारी र वर्ष १२ को साईसा भण्डारीसहित हामी सपरिवार ललितपुर भैंसेपाटीमा बस्छौं ।

तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ

म सुगर र प्रेसरको बिरामी छु । तर, सोधिएका प्रश्नको उत्तर दिन सक्छु ।

तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

म आवद्ध संस्था भनेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. पुल्चोक ललितपुर हो । उक्त सहकारी समस्याग्रस्त घोषणा भई सिलबन्दी भएकोले कागजात र आवश्यक प्रमाणहरू पेस गर्न सकिनँ, केही निवेदन र कार्ययोजना नै उपलब्ध गराउन सक्छु ।

सहकारी ऐन र प्रचलित कानुन बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ?

सहकारी ऐन, २०७४ पश्चातका सम्पूर्ण कार्यहरू नियमअनुसार गरेका छौं । तर, त्यसपूर्वका कुनै कार्यहरू नियमसँग बाझिने हुन सक्छ ।

सहकारी संस्था सञ्चालनबाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ थियो ?

सहकारी संस्था सञ्चालनबाहेक मेरो अन्य कुनै पेशा छैन । संस्थाले सञ्चालन गरेको श्री लालीगुराँस डेरी फर्म एण्ड रिसर्च सेन्टर, कुमरोज, चितवन र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, गोदावरी, ललितपुरमा रहेका छन् । सहकारी समस्याग्रस्त घोषणा भएपश्चात् दुवै व्यवसायको सञ्चालनमा समस्या आएको छ ।

तपाईं सचिव रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

हालको अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव म, कोषाध्याक्ष अमृत कुमार अर्याल, सदस्य अदम बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ रहेका छन्। साथै सदस्य आर्या सिंह भण्डारीले २ वर्ष पूर्व राजिनामा दिई स्वीकृती भईसकेको छ । यस संस्था २०५६ सालमा २८ जना व्यक्तिहरू सदस्य भएर म व्यवस्थापकको रूपमा रही स्थापना गरिएको थियौं । अध्यक्षमा क्रमशः विश्वनाथ आचार्य, दिलबहादुर भण्डारी, तिर्थराज भट्ट र हिराकाजी महर्जन रहेका थिए । यस सहकारीको कार्यक्षेत्र साविक बागमती, नारायणी, लुम्बिनी र गण्डकी अञ्चलका हाल २६ जिल्ला रहेको छ ।

हाल उक्त संस्था सञ्चालनमा छ/छैन ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ?

सहकारी विभागवाट २०८०/११/१५ गते सिफारिस भई २०८०/११/२९ गते समस्याग्रस्त घोषणा भई सिलबन्दी भएकोले हाल उक्त संस्था सञ्चालनमा छैन । यो सहकारी नेपालका ठूला १० सहकारी मध्येमा पर्छ । उक्त संस्था समस्यामा पर्नुको कारण नेपालमा देखिएका आर्थिक समस्यासँगै सबै बचतकर्ताले एक साथ रकम फिर्ता माग गर्न आउँदा रकम फिर्ता दिन सकिएन । सहकारी विभागबाट २०८० भाद्र महिनामा भएको निरीक्षणको प्रतिवेदन संस्थालाई उपलब्ध गराइएन । केही सदस्यहरू उजुरीमा गएको खबर आएपछि सहकारीलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनी हामीले पत्र प्राप्त गरेका थियौ हामीले उजुरी दिएका सदस्यहरूसँग विभागमै भेट्न र छलफल गर्न खोजेका थियौ तर विभागले मौका दिइएन । हामीले रकम बचत कर्तालाई बचत फर्ता दिइराखेकै समयमा संस्थालाई समस्याग्रस्त घोषणा गरियो । हाम्रो माग विभागले सम्बोधन नगरेकोले समस्या पर्न गएको हो ।

सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

सञ्चालक समितिका सदस्यमध्ये हाम्रो आफ्नो परिवार वा नातागोताका व्यक्ति कोही पनि हुनुहुन्न ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं आवद्ध सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन्/ थिए वा थिएनन् ? यदि थिए भने उक्त कुरा कानुनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति म आवद्ध सहकारीको सञ्चालक समितिमा छैनन् ।

सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ?

सञ्चालकहरू कर्मचारी बस्न नमिल्ने सहकारी ऐन, २०७४ ले व्यवस्था गरेको छ। सहकारी विभागको रजिष्ट्रारको मौखिक सहमतीमा म उक्त संस्था समस्याग्रत घोषणा भएको बखतसम्म सचिव र कार्यकारी प्रमुख समेत रहेको थिएँ ।

सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन ?

सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थिएन/छैन ।

सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ?

कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाएका थियो ।

सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेस गर्नुहोस् ।

हामीसँग दुई प्रकारको सम्पत्ति हुन्छन् । चितवन, गोदावरी, पुल्चोकमा आफ्नै भवन आफ्नै सम्पत्ति हो । अरु लिलामीबाट प्राप्त सम्पतिहरू धेरै छन् । सो विवरण समितिलाई पेस उपलब्ध गराउने छु । साथै संस्थाका विभिन्न लगानी भएका कम्पनीहरूको समेत विवरण पछि पेस गर्नेछु ।

अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग ? खुलाउनुहोस् ।

अन्तरसहकारी कारोबार हाम्रो सहकारीले विभिन्न २५ भन्दा बढी सहकारीसँग गरेका छौं । उक्त विवरण समेत पछि पेस गर्नेछु ।

२०६६ साल पौषमा भएको स्थलगत निरीक्षण प्रतिवेदन अनुसार तपाईंको सहकारीबाट लालीगुराँस हस्पिटल, क्रिमशन इन्टरनेशनल कलेज, जय लालीगुराँस इनभेष्टमेन्ट एण्ड ट्रेडिंग, ग्रिनसिटी डेभेलपमेण्ट जस्ता कम्पनीमा गरेको लगानी कानुन विपरीत भएको भनी टिप्पणी भएको देखिन्छ । तर, तर्पांहरूले कुनै सुधार गर्नुभएन किन ?

बहुउद्देश्यीय प्रकृतिको सहकारी भएको कारण हाम्रो सहकारीले विभिन्न संस्थामा सेयर तथा कर्जा लगानी गरेका थियौं । तर, त्यसको प्रतिफल सोचे अनुरुप आएन ।

आजभन्दा सोह्र वर्ष अगाडि २०६५/०६६ को साधारण सभाका लागि २३ लाख बजेट छुट्याउने तर बचतकर्ताको रकम फिर्ता नगर्ने किन गर्नुभयो सहकारी मूल्य मान्यताले यसो गर्न मिल्छ ?

संस्थाको वार्षिक बजेटमा व्यवस्था भएअनुसार भत्ता समेतको रकम उल्लेख गरिएकोले उक्त रकम देखिएको हो ।

लालीगुराँस सहकारी संस्थाको उल्लिखित मौज्दात रकमलाई कसरी प्रमाणित गर्नु हुन्छ ?

यस विषयमा मलाई भर्खरै जानकारी भयो र यसको जानकारी फाईनान्स म्यानेजरलाई जानकारी हुन्छ ।

लालीगुराँस सहकारीको नेपाल बहुउद्देश्यीय सहकारी र नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था समेतमा झण्डै १२ करोड नगद मौज्दात रकम जम्मा भएको अवस्थामा के कारणले सहकारी समस्याग्रस्त हुन पुग्यो ?

उक्त सहकारीहरू समेतले रकम उपलब्ध गराउन सकेनन् ।

सहकारीले लगानीका निम्ति विभिन्न संस्थामा उच्च पुँजी रकम दाखिला के का लागि र कुन नियतले गरेको ?

हाम्रो सहकारी बहुउद्देश्यीय सहकारी भएकोले गलत नियत नराखी नियमानुसार नै पुँजी लगानी गरेको हो ।

भैरवकुण्ड नामक जलविद्युत कम्पनीलाई लालीगुराँस सहकारीले ऋण रकम रु. १,०९,०७,०७,४४१.२७ उपलब्ध गराएता पनि लगानीका निम्ति कूल रकम रु. ८,२५,००,००० उपलब्ध किन गराएको र साथै लगानी गरेपश्चात सो कम्पनीको हालको अवस्था के छ र समय समयमा भौतिक प्रमाणीकरण भएको छ या छैन ?

भैरवकुण्डमा केही रकम लगानी गरेको हो । के कति भएको थियो पहिले याद भएन, तर त्यति ठूलो रकम ऋण लगानी नगरेको हुनुपर्छ। यस सम्बन्धमा यस समितिलाई तथ्य विवरण बुझी जानकारी गराउने प्रतिबद्धता गर्दछु ।

लगानी गरेका संस्थाबाट कति प्रतिफल प्राप्त गर्न सक्नु भयो अनुमानित प्रतिफल हासिल गर्न कति सफल हुनु भयो ?

औषतमा अनुमानित प्रतिफलको ५ प्रतिशत मात्र हाँसिल गर्न सफल भयौं होला ।

संस्थाले सोही प्रकृतिको कारोबार गर्ने संस्थाको सेयर खरिद कानुन विपरित किन गरेको ?

यस विषयमा २०७४ अगाडिकै निर्णय गरिएको हो । कानुन बमोजिम नै गरेको हो ।

सहकारीले ऋणीलाई माग गरेको रकम भन्दा बढी रकममा ऋण किन उपलब्ध गराएको ?

यस सम्बन्धमा मलाई अहिले याद भएन ।

संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सोमा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको स्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्यता कसरी पुष्टि गर्नुहुन्छ ?

यसमा उल्लेख गरिएको विषयमा सिस्टममा हेरेपछि मात्र उल्लेख गर्न सक्दछु। आवश्यक विवरण यस समितिलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउछु ।

सहकारीले नीजि संस्थालाई ऋण उपलब्ध गराउन कानुन विपरीत भए तापनि किन उपलब्ध गराइयो ?

यो कार्य कानुन विपरीत हुन गएको रहेछ ।

संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सो मा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्यता कसरी पुष्टी गर्नुहुन्छ ?

राष्ट्र बैंकले तोके बमोजिम केवाईसी फाराम भरी प्रत्येक सदस्यको विवरण राख्ने गरिन्छ ।

सहकारीले उपलब्ध गराएको सस्पेन्स शीर्षकमा कसलाई र किन ऋण उपलब्ध गराइयो ?

यस विषयमा तथ्याङ्क हेरी समितिलाई विवरण उपलब्ध गराउने प्रतिबद्धता गर्दछु।

संस्थाको सिस्टममा बचत रकम ५ अर्ब ८५ करोड ७६ करोड ६७ लाख भएता पनि बचतकर्ताको माग ७ अर्ब १५ करोड ९६ लाख रहँदा ३० करोड १९ लाख बढी फरक कसरी हुन गएको हो ?

यस विषयमा तथ्याङक हेरी समितिलाई विवरण उपलब्ध गराउने प्रतिबद्धता गर्दछु ।

विद्यमान अवस्थामा तपाइको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ?

यसमा मैले पटक पटक माग समेत गरेबमोजिम १ वर्ष समय दिएमा र उक्त सहकारी सञ्चालन गर्ने वातावरण भएमा सहकारीका बचतकर्ताहरूको रकम विभिन्न ऋण रकम असुली गरी चुक्ता गर्न सकिन्थ्यो । समस्याग्रस्त घोषणा नगरेको भए हामीसँग माग गरेको कार्ययोजना अनुसार हालसम्म १ अर्थ भन्दा वढी रकम ऋणीहरुबाट असुल गरी बचतकर्तालाई फिर्ता गर्ने थियो । सरकारले गर्नुपर्ने आवश्यक सहयोग गरेमा समस्या समाधान गर्न सकिन्छ ।

तपाईं सचिव रहेको श्री लालिगुराँस बहुद्देशीय सहकारी संस्था लि. सहकारीको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैढले के-के गर्नु पर्ला ?

यसमा मैले कर्जा असुलीलाई प्रभावकारी बनाउनु पर्छ सदस्यलाई विश्वस्त पार्नुपर्‍याे । सरकारले कर्जा असुली न्ययाधीकरण र कर्जा सूचना केन्द्रको गठन गर्नुपर्‍याे ।

सहकारीसम्बन्धी वा कुनै फौजदारी कसूरमा थुना वा केंद्रमा पर्नु भएको छ वा छैन? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ?

बचतकर्ताको उजुरीमा सहकारी ठगी मुद्दामा २०८१ असार १५ मा पक्राउ परी २७ दिन थुनामा रहेर ललितपुर जिल्ला अदालतको आदेशले धरौटीमा छुटेको थिएँ । हाल मुद्दा ललितपुर जिल्ला अदालतमा चलिरहेको छ ।

तपाईको अरु भन्नु केही छ ?

मेरो थप भन्नु केही छैन । सरकारले उचित कार्य गरी सहजीकरण गरिदिनु हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.