प्राइम कलेजले नेपालमै पहिलो पटक सीपीए तयारी कार्यक्रम सञ्चालन गर्ने

  २०८१ असोज ८ गते १८:५३     विकासन्युज

काठमाडौं । काठमाडौंको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) तयारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कलेजले नेपालमा पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

यसका लागि कलेजले भारतको केपीएमजीसँग साझेदारी गरेको छ । सीपीए कार्यक्रमले अडिटिङ तथा लेखा क्षेत्रमा भविष्य बनाउन खोज्ने वा काम गर्न चाहनेहरूलाई सक्षम बनाउने लक्ष्य राखेको छ । नेपालमै बसेर अमेरिकी सीपीए पढ्न चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रमले सहजता प्रदान गर्ने कलेजले जनाएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. विभास बासुकलाले यो कार्यक्रम नयाँ र अहिलेको आवश्यकता भएकाले नेपालमै अध्ययन गर्न चाहनेहरूका लागि सुनौलो अवसर भएको बताए । ‘यो धेरै लामो कोर्स होइन, त्यति खर्चिलो पनि छैन, याे १२ देखि १८ महिनामा कोर्स नै पूरा हुन्छ,’ उनले भने,  ‘यो लेखा र वित्तमा करिअर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो । यो पढिसकेपछि विद्यार्थीले बेरोजगार रहनुपर्दैन ।’

कार्यक्रममा बोल्दै कलेजका प्रमुख शैक्षिक सल्लाहकार नारायणप्रसाद शर्माले कलेजले शिक्षामा नयाँ कार्य सुरु गरेको जानकारी दिए । उनले नेपालमा सीपीए टेस्ट तयारी कार्यक्रम सञ्चालन गरेर प्राइम कलेजले विद्यार्थीहरूलाई एक अद्वितीय अवसर प्रदान गर्न लागेको बताए ।

कार्यक्रममा बोल्दै नबिल बैकका अध्यक्ष उपेन्द्र पौडेलले प्राइम कलेज र केपीएमजीको साझेदारीले नेपालमा शिक्षाको स्तर बढाउने बताए । नेपालमा यस्ता दक्ष जनशक्तिको आवश्यक्ता रहेको बताउँदै उनले नेपाली विद्यार्थीहरूलाई विदेश जानै नपरी स्वदेशमा नै पेशागत योग्यता सुधार्ने एक परिवर्तनकारी अवसर प्रदान गरेको भन्दै तारिफसमेत गरेका थिए ।

सीपीए प्रमाणपत्र प्राप्त गरेपछि विद्यार्थीहरू स्थानीय र अन्तर्राष्ट्रिय बजारका मागहरू पूरा गर्न तयार हुनेछन्, जसले उनीहरूको करिअरमा ठूलो सफलता प्राप्त गर्न मद्दत गर्ने कलेजले अपेक्षा गरेको छ । केपीएमजीसँगको यो साझेदारी प्राइम कलेजको शैक्षिक यात्रामा एक महत्त्वपूर्ण कोसेढुंगा हो, जसले नेपालमा विद्यार्थीहरूलाई विश्वस्तरीय सीपीए परीक्षा तयारीको पहुँच प्रदान गर्ने जनाइएकाे छ ।।

के हो केपीएमजी ?

केपीएमजी भारत, केपीएमजीको विश्वव्यापी नेटवर्कको एक हिस्सा हो । यसले विभिन्न उद्योगहरूमा अडिट, कर र परामर्श सेवाहरू प्रदान गर्दै आइरहेकाे छ । सन १९९३ मा स्थापना भएदेखि केपीएमजी भारतले यस क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइ सकेको छ ।

केपीएमजी भारतको शिक्षा सेवाले विद्यार्थीहरूलाई विश्वव्यापी वित्तीय परिदृश्यमा सफल हुन आवश्यक सीप र ज्ञानले सुसज्जित गर्दै आइरहेकाे छ । नेपालमा अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रमको सुरसवात केपीएमजीको क्षेत्रीय शैक्षिक विकासमा देखाएको प्रतिबद्धताको प्रमाण पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.