२०८१ असोज ९ गते १२:२९ विकासन्युज
काठमाडौं । दिपेन्द्र अग्रवाल पुँजी बजारप्रति चासो दिने धेरैले चिन्ने नाम हो । सेयर बजारमा सक्रिय लगानीकर्ता दिपेन्द्र विभिन्न कम्पनीको सञ्चालकसमेत बनिसके । पुँजी बजारको विकासका लागि बेलाबखत राम्रा विषय उठान पनि गर्छन् । बजारमा छिर्ने नयाँ लगानीकर्ताले उनलाई पछ्याउँछन् पनि । तर, सामाजिक सञ्जालमा उनको सतही र नकारात्मक टिप्पणीले उनको पहिचान खस्किरहेको छ । उनीमाथि बेलाबखत लगानीकर्तालाई फसाउने आरोप पनि लाग्छ । त्यसको उनी खुलेरै आलोचना पनि गर्छन् । तर, जुन किसिममा नयाँ पुस्ताले उनलाई पछ्याइरहेका छन्, त्यो किसिमको पहिचान उनले स्थापित गर्न सकेका छैनन् ।
सेयर बजार प्राविधिक ज्ञान, विवेक र क्षमता भएकाहरूको लगानी गर्ने साझा प्लेटफर्म हो । यहाँ एकले अर्काको पैसा खोस्ने खोस्ने प्रतिस्पर्धा हुन्छ । एकले गुमाउँदा अर्को कमाउँछ । तर, लगानीकर्ता दिपेन्द्र उदार बन्ने प्रयत्न गर्छन् र समाजिक सञ्जालमा ‘यो सेयर किन, त्यो सेयर बेच’ भन्ने लगायतका भ्रमपूर्ण टिप्सहरू राखेर नयाँ लगानीकर्तालाई ‘सेयरको पासो’मा पार्छन् । त्यस कारण पनि उनी विभिन्न समयमा विवादित बन्छन् । उनी जहाँ आवद्ध हुन्छन्, त्यहीं आलोचित र विवादित बन्ने उनको पहिचान बनिसकेको छ । हालसम्म उनी आवद्ध भएको एक दर्जन बढी ठाउँमा विवादित बनिसकेका छन् ।
मेगा बैंकबाट निकालिए
एक दशकअघि साविक मेगा बैंकको सञ्चालक बन्न चाहन्थे दिपेन्द्र । २०७० सालमा साविक मेगा बैंकको सञ्चालक बन्न वार्षिक साधारणसभामा सर्वसाधारण समूहबाट उम्मेदवारी दिए । अन्य कसैले उम्मेदवारी नदिएपछि उनी स्वतः साविक मेगा बैंकको सञ्चालकमा निर्विरोध चयन भए । जब उनी बैंकको सञ्चालक बने त्यसपछि बैंकका लागि उनी टाउको दुखाइको विषय बने ।
साविक मेगा बैंक स्रोतका अनुसार चार वर्षका लागि सञ्चालक बनेका दिपेन्द्र सञ्चालक बनेपछि बैंकका लागि चिन्ताको विषय बनेको थियो । किनभने उनी सञ्चालक समितिका अधिकांश निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर विमति जनाउँथे । उनले सञ्चालक समितिमा भएका छलफल र निर्णयलाई अडियो रेकर्ड गरेर सार्वजनिक गरेकाे आरोप पनि लाग्थ्यो । बैठक सकिएपछि अडियो रेकर्डलाई सीडीमा राखेर बिक्री गर्ने गरेको आरोप पनि उनले अहिलेसम्म खेप्दै आएका छन् ।
‘सञ्चालक समितिको बैठकमा जे विषयमा पनि नोट अफ डिसेन्ट लेख्नुहुन्थ्यो, चार वर्ष सञ्चालक रहँदा बैंकलाई धेरै गाह्रो भयो,’ स्रोतले भन्यो, ‘अनि सञ्चालक समितिका निर्णयलाई रेकर्ड गरेर सबैलाई बाँड्ने काम गर्नु हुन्थ्यो ।’
पछि साधारणसभा आउनुअगावै बैंकले सञ्चालक समितिबाट दिपेन्द्रलाई बर्खास्त गर्याे । आफूलाई बैंकले अन्याय गरेको भन्दै उनले नेपाल राष्ट्र बैंकमा उजुरी समेत दिए । तर, उनको उजुरीलाई राष्ट्र बैंकले चासो नै दिएन । पछि खारेज गर्याे । दीपेन्द्र दोस्रोपटक बैंक सञ्चालक बन्न निर्वाचन लडे । तर, पराजित भए ।
जीआईसीमा सेयर चलखेल
मेगा बैंकको सञ्चालबाट निकालिएका दिपेन्द्र साविक जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) को सञ्चालक पनि बने । जीआईसीमा भने उनी संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । रोचक विषय के छ भने उनी यस कम्पनीमा पनि निर्विरोध सञ्चालकमा चयन भएका थिए ।
तर, उनले सञ्चालक पदमा रहेकै समयमा सेयरमा चलखेल गरेको आरोप उनीमाथि लाग्यो । उनीविरुद्ध उजुरी परेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति)ले स्थलगत निरीक्षण गर्याे । स्थलगत निरीक्षणबाट अग्रवालले निर्देशिका विपरीत सेयर खरिदबिक्री गरेको आरोपमा बीमा प्राधिकरणले अग्रवाललाई कारबाही गर्याे ।
‘अग्रवाललाई कम्पनीको लगानी समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । तर, उनले बीमा कम्पनीको फण्ड लगानी गर्न खोलिएको ब्रोकर अकाउन्टको टीएमएस पासवर्डलाई गलत प्रयोग गर्नुभयो । कम्पनीको ब्रोकर टीएमएस खाताबाट व्यक्तिगत रूपमा कारोबार गरेको पाइयो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसपछि कारबाही गरेका थियौं ।’
निलम्बनमा परेका दीपेन्द्र २ वर्षमै राजीनामा दिएर कम्पनीबाट बाहिरिए । त्यहाँ पनि उनी विवादित बनेर बाहिरिएका थिए ।
विवाद गर्दै ब्रोकर फेर्दै
लगानीकर्ता र ब्रोकर कम्पनीबीच विश्वासका आधारमा कारोबार हुन्छ । त्यसैले पनि लगानीकर्ता र ब्रोकरबीच लेनदेनका विषयमा विवाद भएको खासै सुनिँदैन । तर, लगानीकर्ता दीपेन्द्र जुन ब्रोकर कम्पनीबाट कारोबार गर्छन्, सो कम्पनीमा विवादित भएरै निस्किन्छन् ।
पछिल्लो समय सिप्ला सेक्युरिटज प्रालि (ब्रोकर नम्बर २०) र दीपेन्द्रबीचको विवाद छताछुल्ल मात्रै भएको छैन, त्यसले एउटा जटिल रूप निर्धारण गरेको छ । यसमा को दोषी र को निर्दोषी भन्ने विषय समयले निर्धारण गर्ला । ब्रोकर कम्पनीले कारोबारबापतको रकम नदिएको आरोप लगानीकर्ता दीपेन्द्रले लगाएका छन् । सिप्ला सेक्युरिटिजले भने दीपेन्द्रले ब्रोकर कम्पनीलाई तिर्नुपर्ने रकम लिनुपर्ने भन्दा बढी रहेको र उनले कम्पनीको चेक चोरेको आरोप लगाएको छ ।
कम्पनीका अनुसार दिपेन्द्र अग्रवालबाट विगतमा धेरै ब्रोकर कम्पनी पीडित भएका थिए । त्यसैले उनीबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निजसँगको हिसाब चुक्ता गर्न सबै ब्रोकर कम्पनीलाई सिप्ला सेक्युरिटिजले सुझावसमेत दिएको छ ।
लगानीकर्ता दीपेन्द्र र २० नम्बर ब्रोकरबीच सेयर कारोबारको हिसाब मिलानका विषयमा विवाद भएको हो । उनीसँगको हिसाब फरकफारक गर्न सिप्लाका प्रतिनिधि एक करोड रुपैयाँका दरले १६ करोड रुपैयाँका १६ वटा चेक लिएर असोज ४ गते ग्लोबल आइएमई बैंकको टोखा शाखामा पुगेका थिए । तर, लगानीकर्ता दीपेन्द्रले प्रतिनिधिलाई झुक्याएर बैंकका शाखा प्रबन्धकसमक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको ब्रोकर कम्पनीको आरोप छ ।
लगानीकर्ता दीपेन्द्रले भने सेयर कारोबार गरेबापतको ८ करोड रुपैयाँ र केही सेयर नदिएको ब्रोकर कम्पनीमाथि आरोप लगाएका छन् । सिप्ला सेक्यूरिटिज र लगानीकर्ता दीपेन्द्रबीचको विवाद नेपाल स्कट एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगिसकेको छ । तर, यो विवादको समस्या समाधान हुन सकेको छैन ।
दीपेन्द्रका अनुसार सीआईबीमा भएको सहमतिअनुसार एक साताभित्र हिसाब मिलान गर्ने भनेर सिप्ला सेक्युरिटिजले प्रतिबद्धता गरेको थियो । तर, चेक दिएर फेरि एक साता समय मागेको उनले बताए । कम्पनीले आरोप लगाए जसरी चेक लिएर आफू नभागेको उनकाे को दाबी छ । अहिले कम्पनीले दिएको चेक बाउन्सका लागि उजुरी समेत दिइसकेको उनले बताए ।
लगानीकर्ता दीपेन्द्रले विवाद गरेको सिप्ला सेक्यूरिटिज मात्रै पहिलो ब्रोकर कम्पनी होइन । यसअघि पनि थुप्रै ब्रोकर कम्पनीसँग उनको विवाद परेको थियो । विवाद भएपछि उनी ब्रोकर कम्पनी फेर्दै आएका छन् । यसअघि उनले श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) र साउथ एशियन बुल्स (ब्रोकर नम्बर ४३)सँग पनि विवाद गरेका थिए । स्रोतका अनुसार साउथ एशियन बुल्ससँगको विवाद मारवाडी सेवा समुदायको मण्डलले सल्टाएको थियो ।
‘४३ नम्बर ब्रोकर पनि अग्रवालकै हो, उनी दिपेन्द्रकै आफन्त पर्छन्, सिप्लाको जस्तै विवाद ४३ नम्बर ब्रोकरसँग भएको थियो,’ नेप्से स्रोतले भन्यो, ‘त्यो लफडा नेप्सेबाट सेबोनमा गयो । तर, नसल्टेपछि मारवाडी सेवा समुदायमा लगेर सल्टाएको थियो । आफूहरूको बेइज्जत गर्नु हुँदैन भनेर मिलाएका थिए ।’
एक पीडित ब्रोकरका अनुसार लगानीकर्ता दीपेन्द्रले आफ्नोसहित आफ्ना नाता पर्ने आफन्त र विभिन्न व्यक्तिको थुप्रै टीएमएस खाता खोल्छन् । उनकै विश्वासमा अन्य व्यक्तिको कारोबार पनि ब्रोकर कम्पनीबाट गर्छन् । तर, कारोबारको भुक्तानी दिने बेलामा भने सम्बन्धित व्यक्तिसँगै माग्नु भनेर रकम तिर्नबाट पन्छिने गरेको ती ब्रोकर व्यवसायीको गुनासो छ । आफ्नो नामबाट भएको कारोबार रकम तत्काल भुक्तानी गर्न ब्रोकर कम्पनीलाई ताकेता गरिरहन्छन् ।
‘सबैको नाममा खाता खोलेर कारोबार गर्न लगाउँछन्, सेयर कारोबारमा कतिपय लिनुपर्ने हुन्छ भने कतिपयमा दिनुपर्ने हुन्छ । दिनुपर्ने रकमका बारेमा म जान्दिनँ भन्छन् । जसको नाममा कारोबार गरेको हो उसैसँग माग्नु भन्छन्,’ पीडित ब्रोकरले भने, ‘आफूले लिनुपर्ने रकम भने धम्काउँदै माग्छन् ।’
गोल्ड म्यान इन्भेष्टमेन्टमा धितोपत्र बोर्डको हस्तक्षेप
लगानीकर्ता दीपेन्द्रले पूर्वउपप्रधानमन्त्री उपेन्द्र महतोलाई बोलाएर २०७८ पुसमा गोल्डम्यान इन्भेष्टमेन्ट प्रालि सञ्चालनमा ल्याएका थिए । तर, कम्पनीले धितोपत्र ऐन विपरीत कार्य गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारोबार रोकी अनुसन्धानका लागि सीआईबीमा फाइल पठाएको थियो ।
पछिल्लो समय प्रतिनिधिसभा सदस्य तथा सांसद अमरेस सिंहसँग पनि उनको विवाद चुलिएको छ । सांसद सिंहले उनलाई कम्पनीहरूको सेयरमा चलखेल गरेको आरोप लगाएका छन् । आफू ३० वर्षदेखि सेयर बजारमा सक्रिया रूपमा कारोबार गर्दै आएको र कसैको एक रुपैयाँ नखाएको लगानीकर्ता दीपेन्द्र बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.