नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्वपूर्ण हुने सरोकारवालाको जोड

  २०८१ असोज ९ गते १८:१८     विकासन्युज

काठमाडौं। सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् ।

काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्तरूपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सः एआई र डाटा विज्ञानः डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सरोकारबालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एआई नै अबको बिजनेस बढाउने साधन हुने जिकिर गरे । उनले भने, ‘यो डिजिटल दुनियाँमा अब एआईको जसले भरमग्दुर सदुयोग गर्नसक्छ, उसैको बिजनेसले फड्को मार्छ। त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस् ।’

नेपाल चेम्बर अफ कमर्स, आइटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआईका रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्‍न सक्‍ने बताए । उनले भने, ‘ एआईको रिसर्च र अनुसन्धान गर्नका लागि नेपाली शैक्षिक क्षेत्रलाई ठुलो अवसरको रुपमा आउनेछ । यसले प्रविधि र प्रडक्टलाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ। साथै व्‍यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ ।’

अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एव साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ । उनले भने, ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायनमान बनाउन एआईको भूमिका महत्वपूर्ण हुनेछ जसमा विश्वविद्यालय क्षेत्र पनि संलग्नता हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम भूमिका एआईले गरिदिनेछ ।’ यसले बजार, व्यापार र शिक्षाको लागि उर्वर रर ऊर्जावान बनाउने एआई एउटा महत्वपूर्ण कडीको रुपमा स्थापित हुने अधिकारीको भनाइ छ ।

यस्तै, वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागु गर्न सकिन्छ भनेर आफ्ना अनुभवहरू सुनाएका थिए । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डेटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभवहरू साटेका थिए ।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्‍ने अवसरको रूपमा परिवर्तन हुन सक्‍ने बताए । खल्तीका सीईओ विनय खड्काले भने एआईले नेपाली विजनेसलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । उनले यसको लागि खल्ती प्लेटफर्म नै अहिलेको महत्वपूर्ण पेमेण्डको रूपमा स्थापित भइरहेको पनि बताए ।

सन् २०१० मा स्थापना भएको सनवे कलेजले ४ वर्षे एआई र डेटा साइन्सको कोर्ष बेलायतको बर्मिङगन युनिभर्सिटीको सहकार्यमा अध्यापन गराउँदै आएको छ । जसमा एक वर्ष पेसागत सुरक्षा र उद्योग र शैक्षिक क्षेत्रको खाडललाई पुर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.