अब विदेशी पर्यटक झण्झटमुक्त, पर्यटन क्षेत्र पारदर्शी बन्ने

  २०८१ असोज ९ गते १९:५७     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण को छ । आन्तरिक अर्थतन्त्र चलायनमा बनाउने मात्रै होइन विदेशी मुद्रा भित्र्याउनका लागि पनि यो क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ ।

तर, यो क्षेत्र पारदर्शी नभएको भन्दै बेलाबखत प्रश्न पनि उठ्ने गरेको छ । पर्यटकहरूले पनि विभिन्न ठाउँमा भुक्तानीको मात्रै होइन अन्य धेरै किसिमका सकसहरू खेप्नुपरेको छ । यो समस्यालाई मध्येनजर गर्दै पर्यटन व्यवसायीहरूले पटकपटक आवाज उठाउँछन्, विदेशी पर्यटकका लागि भुक्तानी सहज बनायदिनु पर्यो ।

विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रमा भुक्तानी सहज होस् भनेर नेपाल राष्ट्र बैंकले पनि हालै क्रसबोर्डर डिजिटल पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको व्यवस्था गरेको छ । राष्ट्र बैंकको नीतिलाई सहज र विदेशी नागरिक (पर्यटक)ंहरूलाई जोड दिएर फोकसवान पेमेन्ट सोल्युसन्स प्रालिले क्रसबोर्डर डिजिटल पेमेन्ट सूचारू गरेको छ । चाइनिज डिजिटल भुक्तानी कम्पनी अलीपे प्लससँगको सहकार्यमा फोकसवान पेमेन्ट सोल्युसन्सले मोको क्यूआर विस्तार गर्ने भएको छ ।

अलीपे प्लस एप चलाइरहेका विदेशी पर्यटकहरूले नेपाल भ्रमणका क्रममा फोकसवान पेमेन्ट सोल्युसन्सले जारी गरे मोको क्यूआरमा भुक्तानी गर्न सकिने भएको हो । अलीपे प्लस चाइनाको ठूलो भुक्तानी नेटवर्कमध्येमा पर्छ ।

मोको वालेटका सञ्चालन तथा भुक्तानी विभाग प्रमुख सरोज बस्नेतका अनुसार अलीपे प्लस एप दक्षिणपूर्वी एशिया लगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूले भुक्तानीको रुपमा प्रयोग गरिरहेका छन् । अलीपे (चीन), अलीपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माईपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नावर पे र टस पे (दक्षिण कोरिया), र ट्रूमनी (थाइल्याण्ड) देशमा सेवा दिइरहेको छ । साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुने जनाएको छ ।

यी देशका पर्यटकहरू नेपालमा आउँदा उनीहरूले चलाइरहेको एप्लिकेसनबाटै फोकसवानले प्रदान गरेका मर्चेन्टहरू क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्ने उनको भनाइ छ । यो एप प्रयोग गर्ने व्यक्ति नेपाल आउँदा नगद बोक्नुपर्ने समस्याबाट मुक्त हुने भुक्तानी विभाग प्रमुख बस्नेतले बताए ।

‘विदेशी नागरिक नेपालमा आएको बेला नगद बोक्नु परेन, उहाँहरू एउटा मोबाइलका आधारमा देशभर घुम्न सक्नुहुन्छ, मोबाइल बैंकिङ र एपबाटै फोकसवानअन्तर्गत बैंकले अनवोर्ड गरेको मर्चेन्टमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुन्छ, उहाँहरूले आफ्नै मुद्रामा भुक्तानी गर्नुहुन्छ । तर, मर्चेन्टरले भने नेपाली रुपैयाँमा बैंक खातामा रिसिभ गर्नुहुन्छ,’ उनले भने ।

मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारीका अनुसार अलीपे प्लससँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउँछन् । उनका अनुसार पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट देश हो । बर्सेनि लाखौं पर्यटक घुम्नका लागि नेपाल आउँछन् । अलीपे प्ल प्रयोग गरिरहेका व्यक्तिले अब नगद बोक्नु परेन, विदेशी मुद्रा सटही गर्नु परेन । किनभने मोको क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सकिने उनको भनाइ छ ।

‘पर्यटकहरू काठमाडौंमा मात्रै बस्दैनन्, देशभरि भ्रमण गर्नुहुन्छ, १४ दिनसम्म ट्रेकिङ गर्नुपर्ने ठाउँ छन्, त्यहाँ कार्ड चल्दैन, पैसा मात्रै कति बोक्नु ? पैसा बोक्दा चोरी वा हराउने सम्भावना हुन्छ,’ उनले भने, ‘अब कार्ड र नगद बोक्नु पर्दैन, मोबाइल एप भए क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नुहुन्छ ।’

उनका अनुसार नेपालका पर्यटकीय क्षेत्रमा डेढ/दुई लाख साना तथा मझौला उद्यमीहरू छन् । उनीहरूले आफ्नो सामान बिक्री गरेर भुक्तानीका लागि मोकोको क्यूआर एउटा माध्यम मात्रै बनेको सीईओ राजभण्डारीको भनाइ छ ।

एउटा पर्यटकले दैनिक ४० डलर खर्च गरिरहेका हुन्छन् । अब क्यूआर सञ्चालनमा आएपछि पर्यटकको खर्चको आकार पनि बढ्ने उनको दाबी छ । साथै पर्यटन क्षेत्र पनि पारदर्शी व्यवसायका रूपमा उदाउने उनले बताए ।

‘हामी पहिला क्यूआरको संख्या विस्तार गर्छाैं, बौद्ध, ठमेल, पोखरा, ट्रेकिङ रुट, लुम्बिनी, सोलुखुम्बु, चितवन, बर्दिया लगायत देशभर भुक्तानी सेवा विस्तार गर्छाैं, नेपाल पर्यटन बोडसँग पनि सहकार्य गरेर प्रचार प्रसार गर्छाैं,’ उनले भने ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बैंकहरूले क्रस बोर्डर डिजिटल कारोबारमा जोड दिइरहेको बताउँछन् । विगतमा कार्डबाट विदेशी मुद्रामा कारोबार गर्ने गरेको र अब कार्डलाई मर्चेन्टमा विकास गरिने उनको भनाइ छ । उनका अनुसार क्यूआर प्रयोगकर्ता एशियामा सबैभन्दा धेरै रहेका छन् । जबकी यूरोपमा पनि त्यति धेरैले क्यूआर प्रयोग गर्दैनन् । नेपालमा बढी पर्यटक एशियाबाट आउने गरेका छन् ।

‘युवा पुस्ताले कार्ड पनि बोक्न छाडे, उनीहरू क्यूआरबाटै कारोबार गर्न रुचाउँछन्, सानो पसल, होटल, मर्चेन्ट पसलमा क्यूआर बढी प्रयोग हुन्छ । तर, ठूलो कारोबार हुने गर्छ,’ उनले भने, ‘अब चाइनिजसहित अन्य देशका पर्यटकलाई भुक्तानी गर्न सहज हुनेछ ।’

राष्ट्र बैंकका निर्देशक बिनोदराज आचार्य अलीपेको सेवाबाट नेपाली उपभोक्तासँगै विदेशी नागरिक पनि लाभान्वित हुने बताउँछन् । तर, कम्पनीले सुरक्षित र भरपर्दाे सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । साथै उपभोक्तालाई जति सक्दो सहुलियत सेवा दियो त्यति नै कम्पनीको व्यवसाय वृद्धि हुने उनले सुझाव दिए ।

‘राष्ट्र बैंकका नीति निर्देशनभित्र रहेर सेवा प्रवाह र विस्तार गर्नुपर्छ, भुक्तानी कारोबामा तलमाथि गर्नुहुँदैन, यदि कुनै किसिमको दुविधा पर्याे भने राष्ट्र बैंकसँग सहजीकरण गर्न तयार छ,’ उनले भने, ‘हामीले संयुक्त रुपमा काम गर्नुपर्ने हुन्छ, भविष्यमा अफ्ठेरो स्थिति नआओस् भनेर सहज गर्न तयार छौं ।’

डिजिटल पुर्वाधार र नेपालीको ज्ञानका आधारमा डिजिटलमा ठूलो क्षति हुन्छ कि भन्ने चिन्ता रहेकाले सुरक्षामा जोड दिन उनले कम्पनीलाई सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.