२०८१ असोज ९ गते २०:३१ विकासन्युज
काठमाडौं । पुँजी बजारमा सूचीकृत दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । गुराँस लघुवित्त र आशा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।
यस्तै गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारण सभा असोज २९ गते बिहान ९ बजे धनकुटामा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.