२०८१ असोज १० गते १०:०८ ऋतु
काठमाडौं । ‘पहिले स्वदेश, अनिमात्र विदेश’ भन्ने रमाइलो नारा डेढ दशक अघिसम्म पर्यटन क्षेत्रमा व्यापक चल्तीमा थियो । सोही नारा पछ्याउँदै मुलुकका सयौं पर्यटन गन्तव्य घुम्न जाने नेपाली हजारौं हुन्थे । यो क्रमले वर्षौं निरन्तरता पायो । गुडेरमात्र होइन, अलि सक्नेहरू उडेरसमेत देशका विभिन्न गन्तव्य पुग्थे ।
यसरी नेपालीलाई देशाटन गराइरहेका सयौं ट्राभल कम्पनीहरू एक्कासि विदेश भ्रमण प्याकेज ल्याउनतिर लागे । आम्दानी राम्रो भएका वा ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नेहरू स्वदेश होइन, विदेश घुम्न आकर्षित हुन थाले ।
यसले एक समय यतिसम्म देखियो कि नेपालीहरूको ‘ट्राभल ट्रेन्ड’ नै बदलियो भन्दा फरक पर्थेन । यो ट्रेन्ड बिस्तारै निम्न मध्यम वर्गमा समेत आइपुग्यो ।
सस्तो हवाई टिकटको उपलब्धताका आधारमा ट्राभल कम्पनीहरूले सस्तो टुर प्याकेजहहरू बेच्न थाले । अझ, केही ट्राभल कम्पनीले त मासिक किस्ताबन्दी सुविधामा विदेश भ्रमण प्याकेज पनि उपलब्ध गराउन थाले ।
सन् २०२० को वर्ष लाग्नासाथ ‘कोरोना भाइरस’ महामारीले पूरै संसार जकडिन पुग्यो । स्वदेश होस् वा विदेश, घुम्ने काम पूरै ठप्प भयो । यसले संसारभरिको पर्यटन क्षेत्र नराम्ररी थलिन पुग्यो । यसबाट नेपालको पर्यटन क्षेत्र अछुतो रहन सक्ने कुरै भएन । कोरोना महामारीले नेपालको अर्थतन्त्र लगभग धराशयी हुन पुग्यो ।
बिस्तारै कोरोना महामारी विरुद्धको खोप सहज हुन थालेपछि मानिसको आवागमन बढ्न थाल्यो । अनि, सुरुमा बिस्तारै बढ्न थाल्यो आफ्नै देश घुम्ने ट्रेन्ड ।
पछिल्लो पटक नेपालीहरू आफ्नै देशका पर्यटन गन्तव्य घुम्न जाने ट्रेन्ड चलेको छ । राराताल होस् वा खप्तड, इलामको चिया बगान होस् वा ताप्लेजुङको पाथीभरा, पोखराको फेवाताल होस् वा मुस्ताङको मुक्तिनाथ, यी र यस्तै सयौं नाम कहलिएका पर्यटन गन्तव्यमा नेपालीहरूको चहलपहल देख्न सकिन्छ ।
पहिले जस्तो आफै गाडी खोज्नुपर्ने, आफै होटल व्यवस्था गर्नुपर्ने, जाने कताबाट हो, कति दिन लाग्छ, बाटोमा के खाने, कहाँ बास बस्ने, मौसम कस्तो होला जस्ता चिन्ता बोकेर घुम्ने चलन लगभग हटिसक्यो भन्दा सायद दुई मत हुने छैन ।
किन होला ? किनकि, अहिले विदेशमात्र होइन, स्वदेश घुम्न पनि ट्राभल कम्पनीहरूले प्याकेज बेचिरहेका छन् । आफूलाई सहज र सरल लाग्ने प्याकेज खरिद गरे रोजेर विभिन्न पर्यटन गन्तव्य जान पाइन्छ ।
यसपालि दशैंतिहार, छठजस्ता ठूला चाडपर्व लक्षित गर्दै धेरै ट्राभल कम्पनीले आन्तरिक टुर तथा ट्राभल प्याकेज धमाधम सार्वजनिक गररिहेका छन् ।
दशैं-तिहार बिदाको मौका पारेर घुम्न निस्किनेहरूलाई यस्ता प्याकेजले धेरै नै मद्दत पुग्ने ट्राभल कम्पनीहरूको भनाइ छ । सस्ता टुर प्याकेजका कारण पछिल्लो पटक निम्न मध्यम वर्गका मानिसहरू पनि मुलुकका विभिन्न पर्यटन गन्तव्य घुम्न जान थालेको व्यवसायीहरू बताउँछन् ।
यस्तो ट्रेन्ड कोरोना महामारी मत्थर हुँदै गएपछि बिस्तारै बढ्दै गएको व्यवसायीहरूको अनुभव छ ।
‘कोरोना महामारीपछि नेपालीहरूमा घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ, पैसा जोगाएर मात्र हुँदैन रहेछ भन्ने महसुस भएको देखिएको छ,’ एक ट्राभल कम्पनीका सञ्चालक भन्छन्, ‘कोरोनाका कारण नेपालमै हजारौं मान्छेले ज्यान गुमाए । त्यही भएर नेपालीहरूमा घुम्नुपर्छ भन्ने महसुस भएको हो ।’
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने चाडबाडका अवसरमा नेपालीहरू पनि धेरै संख्यामा स्वदेश घुम्न निस्किने बताउँछन् । उनका अनुसार अहिले नेपालको ठूलो पर्यटन स्रोत नै नेपाली हुन् ।
‘नेपालमा जति पनि होटलहरू छन्, ती सबै चल्ने नै आन्तरिक पर्यटकले हो,’ उनी भन्छन्, ‘दशैंदेखि छठ पर्वसम्म धेरै नेपालीहरू घुम्न निस्किन्छन्, यतिबेला फेस्टिभ मुड हुने हुँदा उनीहरू परिवारसँग घुम्ने रमाउने गर्छन्, अहिले नेपालीहरूमा पनि घुम्ने ठूलो ट्रेन्ड छ ।’
उनका अनुसार यसपालि दशैंतिहारमा चाडपर्व लक्षित गरेर आन्तरिक मात्रै नभई बाह्य पर्यटक पनि लक्षित गरेर प्याकेज ल्याइएको छ ।
भारतीयहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइएको छ । ‘भारतले कोरोना महामारीपछि मानसरोवर यात्रा बन्द गर्याे, त्यसपछि उनीहरूले मानसरोवर दर्शन गर्न नपाएको हुँदा हामीले गत चैतमा उनीहरूलाई लक्षित गरेर आकाशबाट मानसरोवर दर्शन गर्ने प्याकेज बनायौं,’ सीईओ न्याैपाने भन्छन्, ‘त्यसलाई अहिले भारतभरि प्रचारप्रसार गर्दा ५ हजारभन्दा बढी भारतीय नेपाल घुम्न आउन लागेका छन् ।’
श्री एयरलाइन्ससँग साझेदारी गरी फ्लाइट चार्टर गरेर उनीहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइने र यो कार्यक्रम नेपालगञ्जबाट बढी चल्ने उनले बताए । उनका अनुसार अहिले नेपालगञ्जका होटलहरू फुल प्याक भएका छन् ।
सीईओ न्यौपाने भारतीयहरूलाई होटलसहित ३२ देखि ३५ हजार भारुमा नेपाल भ्रमण प्याकेज बेचेको बताउँछन् । त्यस्तै, नेपालीहरूका लागि भने फ्लाइटसहित ४२ देखि ४५ हजार पर्ने प्याकेज रहेको उनी बताउँछन् ।
सिद्धार्थ बिजनेस ग्रुपको देशैभरि होटल भएको हुँदा घुम्न जानका लागि देशैभरिको प्याकेज उपलब्ध रहेको सीईओ न्याैपाने बताउँछन् ।
अर्का पर्यटन व्यवसायी तथा सीएन्डके नेपाल ट्राभलका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ आन्तरिक पर्यटक चितवन, पोखरा र लुम्बिनी बढी घुम्न रुचाउने बताउँछन् ।
‘स्वदेशी पर्यटकले रुचाएका डेस्टिनेसन यिनै तीनवटा हुन्,’ उनी भन्छन्, ‘तर, चितवन, पोखरा र लुम्बिनीको प्याकेज उनीहरूले कमै किन्छन्, अहिले स्वदेशी पर्यटकले किन्ने प्याकेज भनेको बर्दिया र राराको हो ।’
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्याकेज किनेर नेपाल घुम्ने पर्यटक एकदमै कम छन् । ‘आफ्नै देश घुम्नका लागि भाषाको समस्या भएन,’ उनी भन्छन्, ‘उनीहरू आफै म्यानेज गरेर जान्छन्, घुम्छन् ।’
उनका अनुसार ४० प्रतिशत आन्तरिक पर्यटक प्याकेज किनेर घुम्न जान्छन् भने ६० प्रतिशत आफ्नै व्यवस्थापनमा जान्छन् ।
कस्ता छन् देश घुमाउने प्याकेज ?
काठमाडौंमा रहेको ट्राभल एजेन्सी विन्डो भ्यु ट्राभल्स एन्ड टुर्सले मुस्ताङ घुम्न जान चाहनेका लागि प्रतिव्यक्ति ७ हजार ७ सय ९९ रुपैयाँको टुर प्याकेज ल्याएको छ । यो प्याकेजमा कागबेनी, जोमसोम, मार्फा, मुक्तिनाथ, बागलुङ कालिका र गलेश्वर महादेवको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो प्याकेज ३ रात र ४ दिनका लागि हुनेछ । यसमा जान आउन गाडी सुविधा, ३ बिहानको खाजा, खानाको व्यवस्था गरिएको छ ।
यसैगरी, काठमाडौंकै अर्को ट्राभल एजेन्सी प्रभु एडभेन्चर ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ यात्राका लागि ५ रात ६ दिनका लागि १८ हजार ५ सय र ३ रात ४ दिनका लागि ११ हजार ५ सयको टुर प्याकेज ल्याएको छ ।
यस्तै, कम्पनीले पाथीभरा देवी मन्दिर दर्शनका लागि ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ । यस प्याकेजमा कन्याम, फिक्कल, पाथीभरा, धरान बजार, चिया बगान, बराह क्षेत्र, इलाम बजार, सानो पाथीभारा, बुढासुब्बा लगायत ठाउँ घुम्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी, घान्द्रुक घुम्नका लागि ९ हजारको प्याकेज, पोखराका लागि ७ हजार ५ सय, चितवन सौराहाका लागि ९ हजार, हलेसीका लागि ६ हजार, कालिञ्चोकका लागि ६ हजार ५ सय र रारा ताल घुम्न जानका लागि २५ हजार रुपैयाँको प्याकेज ल्याएको पनि कम्पनीले जनाएको छ ।
काठमाडौंकै अर्को ट्राभल कम्पनी एडभेन्टो नेपाल ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ घुम्नका लागि एसी बसमा यात्रा गर्न १३ हजार ५ सय र स्कार्पियोमा यात्रा गर्न १८ हजार पर्ने ५ रात ६ दिनको प्याकेज ल्याएको छ । यस प्याकेजमा पोखरा, पुम्दीकोटको शिव मन्दिर, बागलुङस्थित नेपालको सबैभन्दा लामा झोलुंगे पुल लगायतका ठाउँ घुम्न पाइने जनाएको छ ।
यसैगरी, मञ्जुश्री होलिडे ट्राभल्स एन्ड टुर्सले पनि ३ रात ४ दिनका लागि बसमा मुस्ताङ यात्राका लागि प्रतिव्यक्ति ६ हजार ६ सय ९९ को टुर प्याकेज ल्याएको छ ।
यस्तै, इलेक्ट्रिक भ्यानमा यात्रा गर्दा ९ हजार ५ सय लाग्ने र स्कार्पियोमा यात्रा गर्दा १० हजार ९ सय ९९ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
यस्तै, पाथीभरा दर्शन गर्न जानका लागि बसमा ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १२ हजार ९ सय ९९ र जीपमा १७ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने कालिञ्चोकका लागि बसमा प्रतिव्यक्ति २ हजार ९ सय ९९, ईभी भ्यानमा ३ हजार ९ सय ९९ र जीपमा ४ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।
अर्को ट्राभल एजेन्सी टुर प्लानर्सले मुक्तिनाथ घुम्नका लागि बसमा जानेका लागि प्रतिव्यक्ति ९ हजार र स्कार्पियोमा जानका लागि १२ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने पाथीभरा बसमा जानेका लागि १२ हजार र स्कार्पियोमा जानेका लागि १६ हजार ५ सयको टुर प्याकेज ल्याएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.