२०८१ असोज १० गते १६:१५ विकासन्युज
काठमाडौं । विगतमा देशको अर्थतन्त्र समस्यामा पर्याे अब संकट आइपर्छकि भन्दै चिन्ता, चासो र बहस भइरहन्थ्यो । तर, पछिल्लो समय त्यो चिन्ता नरहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्ले देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक रहेका देखिन्छन् ।
अर्थतन्त्र पूर्णरूपमा सधुार नभएपनि मुख्य सूचकहरु सुधारको गतिमा छन् । तर, केही सूचकमा भने राष्ट्र बैंकले फड्को मारेको देखिन्छ । पछिल्लो समय रेमिट्यान्स आयात बढिरहँदा विदेशी मुद्रा सञ्चिति पनि थुप्रिँदै गएको देखिन्छ । एकातिर रेमिट्यान्स भित्र्याइरहने र अर्काेतिर आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको बुझिन्छ ।
विदेशी मुद्रा प्रयाप्त भएपनि आवश्यक वातावरण नहुँदा सरकार र निजी क्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । साथै लगानीका लागि सहज अवस्था भएपनि अपेक्षित रूपमा माग नआएको बैंकरहरू बताउँछन् ।
महँगी ४५ प्रतिशत घट्यो
साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो । यो आधारमा एक वर्षको अवधिमा महँगी ४५.४७ प्रतिशतले घटेको बुझ्न सकिन्छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो ।
चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै
कुनै समय घाटामा रहेको चालु खाता एवम् शोधनान्तर स्थिति पछिल्लो समय बलियो बन्दै गएको छ । नेपाल राष्ट्रका अनुसार गत साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।
२१ खर्ब पुग्यो विदेशी मुद्रा, १६.७ महिनाको आयात धान्ने
पछिल्लो समय अर्थतन्त्रमा बाह्य क्षेत्रतर्फ ठूलो सुधार भएको देखिन्छ । विदेशीने युवा विद्यार्थी र वैदेशिक रोजागरीमा गएका नेपालीहरूले धमाधम विदेशबाट रेमिट्यान्स पठाउँदा विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको देखिन्छ । गत असारमा २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै रहेको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको होे ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो । विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा साउनसम्म १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । असारमा यस्तो १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थासँग असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा साउनमा ८.४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । साउनसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन् । असारमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
१ खर्ब ३६ अर्ब आयो रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । साउनमा विप्रेषण आप्रवाह १८ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
वैदेशिक व्यापार
साउनम कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी १२ अर्ब २३ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड, पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई १ खर्ब २८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ ।
खर्च तथा राजस्व
साउनमा नेपाल सरकारको कुल खर्च ४० अर्ब २१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब ३८ करोड रुपैयाँ, पँुजीगत खर्च ८ अर्ब ५५ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९ अर्ब २७ करोड रहेको छ ।
समीक्षा अवधिमा कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यस अन्तर्गत कर राजस्व ७७ अर्ब ४१ करोड रुपैयाँ र गैर कर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ परिचालन भएको छ । सरकारका विभिन्न खातामा १ खर्ब ९७ अर्ब ८२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात छ ।
निक्षेप र कर्जा परिचालन
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.७ प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड रुपैयाँ घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको थियो । यस्तै संस्थागत निक्षेपको अंश ३५.९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड रुपैयाँ बढेको छ । जबकी अघिल्लो वर्ष ४ अर्ब ३५ करोड घटेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।
प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ०.३ प्रतिशत, वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ । साउनसम्मा १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।
पुँजी बजार
२०८० साउनमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउनमा ३०००.८१ कायम भएको छ । गत साउनमा धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको साउनमा बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रहेको थियो । गत वर्षको साउनको तुलनामा बजार पुँजीकरण १७ अर्ब २२ करोड रुपैयाँ बढेको छ । तर, पछिल्लो समय नेप्से सूचकसँगै बजार पुँजीकरण पनि घटिसकेको छ ।
साउनमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.