बाढी पहिरोका कारण २० आयोजना प्रभावित, १५ आयोजनामा २ अर्ब बढीकाे क्षति

  २०८१ असोज १३ गते १४:५४     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण २० आयाेजना प्रभावित भएका छन् । बाढी-पहिराेले २० वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ ।

इप्पानका अनुसार बाढीबाट १५ आयाेजनामा २ अर्ब ३१ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । अन्यकाे विवरण आउन बाँकी रहेकाे इप्पानले जनाएकाे छ ।

मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित मकवानपुरकाे २२ मेगावाट क्षमताकाे बागमती साना जलविद्युत आयोजनाकाे पावर हाउस पूणरूपमा डुबेको छ भने बाँध क्षेत्रमा पनि क्षति भएकाे छ । यहाँ करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएकाे हाे ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरकाे २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुबानमा परेकाे छ । करिब २५ कराेड रुपैयाँ बराबरकाे क्षति भएकाे छ । याे आयाेजना गत वर्षकाे बाढीबाट पनि प्रभावित भएकाे थियाे ।

यसैगरी, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेकाे छ । यहाँ कति क्षति भएकाे छ भन्ने कुराकाे यकिन हुन बाँकी नै छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएकाे हाे ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित साेलुखुम्बुकाे ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाकाे हेडवर्क्समा क्षति भएसँगै उत्पादन बन्द भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ ।

त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाकाे बाँध र टेलरेसमा क्षति भएकाे छ । याेसँगै उत्पादन बन्द भएकाे छ । करिब ५ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे जनाइएकाे छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामकाे ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाकाे बाँध र प्रसारणलाइनमा क्षति भएकाे छ । करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे हाे ।

त्यस्तै, पाँचथरकाे १ मेगावाटकाे फेमे खोला जलविद्युत आयोजनाकाे बाँध र विद्युतगृह पूणरूपमा क्षति भएकाे छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे इप्पानले जनाएकाे छ ।

लमजुङकाे ५ मेगावाट क्षमताकाे सिउरीखोला जलविद्युत आयोजनाकाे टेलरेस, इन्टेक र टनेलमा बाढीले क्षति पुर्‍याएकाे छ । करिब २ करोड रुपैयाँ बराबरकाे क्षति भएकाे हाे ।

लमजुङकाे ४० मेगावाट क्षमताकाे सुपरन्यादी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति (प्रोटेक्सन वाल) भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ ।

धादिङकाे २५ मेगावाटकाे इलेप खोला तातोपानी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिकाे यकिन हुन बाँकी नै छ ।

नुवाकाेटकाे २१६ मेगावाटकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाकाे क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ । करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे जनाइएकाे छ ।

पाँचथरकाे ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) को हेवाखोला जलविद्युत आयोजनाकाे क्रसर पुरिएको छ । त्यसैगरी, पहुँचमार्गमा क्षति पुग्नुका साथै प्रसारण लाइनको टावर ढलेको इप्पानले जनाएकाे छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्रीहरू पनि बगाएको छ । यहाँ करिब १० करोड रुपैयाँ बराबर क्षति भएकाे छ ।

पाँचथरकै १५.१ मेगावाटकाे सभाखोला बी जलविद्युत आयोजनाकाे पहुँचमार्ग, पावरहाउस, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । यहाँ करिब ७ करोड रुपैयाँ बराबर क्षति भएकाे छ ।

पाँचथरकै ६.३ मेगावाटकै सभाखोला सी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ३ करोड रुपैयाँ बराबर क्षति भएकाे छ ।

कास्कीकाे ८६.५९ मेगावाटकाे लान्द्रुक मोदी जलविद्युत आयोजनाकाे पहुँचमार्गमा क्षति पुगेकाे छ । करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ ।

नुवाकाेटकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाका दुई-दुईवटा स्काभेटर र लोडर अनि तीनवटा ट्रिपर बगाएको छ । यहाँ बेलीब्रिज बगाउनुका साथै पावर हाउस स्काभेसन पुरिएको छ । यहाँ करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ ।

रसुवाकाे २० मेगावाटकाे लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएकाे छ । क्षतिको रकम यकिन हुन बाँकी छ ।

ललितपुरकाे २ मेगावाटकाे खानीखोला जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नुका साथै प्रसारण लाइनको टावर ढलेको छ । यसैगरी, स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ । यहाँ करिब १० करोड रुपैयाँ बराबरको क्षति भएकाे छ ।

ललितपुरकै ४.३६ मेगावाटकाे टुङ्गुन ठोस्ने जलविद्युत आयोजनाकाे पावर हाउस डुब्नूका साथै प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्ड, ड्याम र हेडरेस टनेलमा क्षति पुगेकाे छ । यहाँ करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ ।

संखुवासभाकाे १४.९ मेगावाटकाे माया खोला जलविद्युत आयोजनामा बाँध र पहुँचमार्गमा क्षति भएकाे छ । यहाँ करिब २ करोड रुपैयाँ बराबरको क्षति भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.