पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ-अध्यक्ष ढकाल

  २०८१ असोज १३ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केबलकार कोसेढुंगो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे ।

उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने जनाए ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए ।

उनले स्थानीयहरूलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको जनाए ।

उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताएका छन् । केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको जानकारी दिए ।

उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको जनाए । उनले भने, ‘पाथीभरा केबलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं ।’

‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलर निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ’, उनले भने, ‘तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.