२०८१ असोज १३ गते १५:४६ विकासन्युज
‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए ।
नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् ।
रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए ।
धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।
रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।
भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ ।
‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’
दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.