एक वर्षपछि एनएलजी र एलआईसीलाई हकप्रद निष्काशनको अनुमति, प्रक्रिया पुगेका अन्यले पनि पाउने

  २०८१ असोज १३ गते १९:०५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले जानकारी दिए ।

धितोपत्र बोर्डले एनएलजीलाई ६६ प्रतिशत र एलआईसी नेपाललाई ८८.४५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको अध्यक्ष बरालले बताए ।

बोर्डबाट अनुमति पाएसँगै एनएलजीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

गत फागुनमा सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड पुँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकप्रद सेयरको बाटो रोजेको हो ।

यस्तै एलआईसी नेपालले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

एलआईसी नेपालले गत वर्षको असोज २९ गते र एनएलजी इन्स्योरेन्सले कात्तिक २ गते हकप्रद सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो । तर, अध्यक्ष नभएको बाहानामा धितोपत्र बोर्डले अनुमति दिन आनाकानी गरेको थियो ।

पछिल्लो समय भने सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएसँगै अनुमति दिने कार्यमा सेबोन सक्रिय भएको हो । प्रक्रिया पुर्याएर आएका कम्पनीलाई अनुमति दिइरहेको अध्यक्ष बराल बताउँछन् । आफू ऐन अन्तर्गत नै अध्यक्ष भएर आएकाले अनुमति दिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.