चौतर्फी दबाबपछि ७० प्रतिशतसम्म बढाएको हवाइ भाडा घट्यो, अब तीन दिनसम्म मूल्यवृद्धि नहुने

  २०८१ असोज १३ गते १९:४४     विकासन्युज

काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए ।

‘तीन दिनलाई एयरलाइन्सहरुले ‘अफर फेयर’ अधिकतम माथिल्लो भाडादर हटाइदिएका छौँ, सस्तो दरमा मात्रै टिकट बिक्री भएको छ,’ उनले भने ।

सरकारकोतर्फबाट पनि इन्धनमा सहुलियत तथा विमानस्थल शुल्क, जहाज पार्किङ शुल्कमा छुट गर्न आग्रह गरिएको र त्यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले बताए ।

सामाजिक सञ्जालमा हवाई भाडा महङ्गो भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नै बिपत्तिको समयमा यात्रुहरुसँग पहिलाभन्दा सहुलियत मुल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे ।

हवाई यात्रुको चाप बढेपछि हवाई कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छोडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध टन् । यस्तो अवस्थामा हवाई भाडा बढाएको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ ।

सस्तो हवाई भाडा उपलब्ध गराउन क्यानको निर्देशन

हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विपद्को अवस्थामा बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

‘कम्तिमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तोमा उपलब्ध गराउन निर्देशन दिइएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए ।

‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी हैन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोही अनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ, अहिलेको विपत्तिमा यात्रुलाई राहत हुनेगरी हवाई भाडा लिन एयरलाइन्सलाई आग्रह गरेका छौँ,’ उनले भने ।

हाल काठमाडौँ आउने मुख्य सडक मार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.