महिला प्रजनन् अंगमा हुने क्यान्सर समयमै उपचार गरे निको हुन्छ

  २०८१ असोज १४ गते १४:१८      डा. पदमराज पन्त

महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन् । किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । महिलाहरूको प्रजनन्सम्बन्धी समस्याहरू पनि अनेक प्रकारका छन् । गाउँ र सहरका महिलाको आ-आफ्नै समस्या रहेको छ । महिलामा देखिने सयौँ किसिमका रोगहरूमध्ये प्रजनन् अंगमा आउने समस्या पनि प्रमुख हो ।

पछिल्लो समय महिलामा अत्यधिक मात्रामा क्यान्सर देखिएको छ । महिलाहरूमा मात्र झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको देखिन्छ । महिलाहरूको अण्डासय र डिम्बवहिनी नलीमा हुने क्यान्सर पनि फरक रहेका छन् । अण्डासयमा मात्र भिन्दाभिन्दै २५ देखि ३० प्रकारको क्यान्सरहरू देखिन्छ ।

संसारमा सबैभन्दा बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ । त्यसबाहेक महिला प्रजनन् अंगमा हुने संक्रमणसमेत उत्तिकै मात्रामा हुने गरेको पाइन्छ । जीवनशैली र रहनसहन फरक-फरक हुँदै जाँदा त्यहीअनुसार अरू रोगहरू पनि बढ्दै जाने गरेको पाइन्छ । सानो उमेरका किशोरीमा महिनावारी गडबडी हुने, अण्डहरू परिपक्क नहुँदा बिहे गरेपछि बच्चा नबस्ने समस्या, वृद्धाअवस्थामा क्यान्सर हुने सम्भावना पनि देखिने गर्दछ ।

महिलाहरूमा स्त्री रोगसम्बन्धी धेरै समस्याहरू देखिन्छन् । यो चाहिँ उमेर अनुसार फरक-फरक रोगहरू देखिने हुन्छ । किशोरी, महिला, बच्चा जन्माउने उमेरका महिला र महिनावारी सुक्न थालेको र सुकिसेका महिलाहरूमा फरक-फरक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । सामान्य जस्तो देखिने फोहोर पानी बग्नेदेखि लिएर क्यान्सर जस्ता रोगहरू लाग्ने भएकाले यस्तै समस्या धेरै नै छन् भन्न सकिन्छ ।

शहरी क्षेत्रका महिलाहरूमा आफ्नो स्वास्थ्यसम्बन्धी चासो, स्वास्थ्य बीमा कार्यक्रमले ल्याएको जागरूकता जस्ता कारण समयमै उपचारका लागि अस्पताल आउने गरेको पाइन्छ भने गाउँघरका महिला भने जनचेतनाको अभावमा सहर बजारको तुलनामा कमै अस्पताल आउने गरेका छन् ।

महिला प्रजनन अंगका रोगमा केहीलाई छोडेर सबैमा सर्जरी गर्नुपर्छ भन्ने हुँदैन । प्रविधिको विकास भएसँगै नेपालका अस्पतालहरूले पनि विभिन्न किसिमका प्रविधिहरू भित्र्याएका छन् । महिला प्रजनन् अंगमा हुने क्यान्सर जस्ता केही रोगहरूको समयमै पहिचान गरेर उपचार गर्न नसके शरीरमा खतरा उत्पन्न हुन्छ ।

डा. पदमराज पन्त

सबै ठाउँका मानिसहरू डाक्टरकोमा पुग्न नसक्लान तर स्वास्थ्यचौकी त सबै ठाउँमा हुने भएकाले त्यहाँ तालिम प्राप्त स्वयंसेविकारू हुन्छन्  । त्यहाँ आफ्ना समस्याहरू देखाउन जानुपर्छ । अर्को निसन्तान हुनुहुने दम्पतीले स्वास्थ्यकर्मी कहाँ जादा महिला पुरुष दुवै जना जानुपर्छ । महिलाहरूले आफूलाई लागेका रोगहरू नलुकाउनुहोस् । सचेत भई अस्पताल गए समयमै रोगको उपचार हुन्छ ।

सामान्यतया १०० मा १५ जनाको सर्जरीबाट बच्चा निकालिन्छ । तर, नेपालमा आजभोलि सय जना मध्ये ५० प्रतिशतभन्दा बढी महिलाले अपरेसन गरेर बच्चा जन्माउने गरेको पाइन्छ । मानिसहरू रिक्स लिन चाहँदैनन् । मनिटरिङ धेरै हुन थाल्यो । जस्तो बच्चाको मुटुको ढुकढुकी अलिकति तलमाथि हुने बित्तिकै बच्चालाई खतरा छ अप्रेसन गराैं भनेर गरिहालिन्छ ।

प्रसव पीडा सुरु भो बच्चाले दिसा गरेछ अब दिसा खाने भो निकालौँ भनेर अप्रेसन गर्ने गरेका छन् । पहिलो बच्चा अप्रेसन गरिसकेपछि दोस्रो जन्माउने समयमा पहिलेको घाउ फुट्न सक्ने  भएकाले पनि मानिसहरू जोखिम लिन चाहदैनन् र फेरि अप्रेसन गर्ने गरेको पाइन्छ ।

पाठेघरको बच्चा बस्ने ठाउँको क्यान्सर जुन अलि कम मात्रामा हुन्छ । विकसित मुलुकमा ढिला र कम उमेरमा बच्चा पाउने महिलालाई यो  हुने गरेको छ ।

(डा. पन्त धापासी रहेकाे ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्री तथा प्रसुति रोग विभाग प्रमुख हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.