काठमाडौंका बाढी पीडितको गुनासो : मेयर बालेनले वास्तै गरेनन्

  २०८१ असोज १४ गते १५:२४     विकासन्युज

काठमाडौं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।

सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् ।

उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले गरिबलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो ।

कामीले भने, ‘सरकार हाम्रो अभिभावक हो । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो ।’

पीडितहरूले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरूको भनाई थियो । सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरू तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताइन् ।

उनले भनिन्, ‘हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.