विदेशी लगानी रहेको होङ्सी सिमेन्टको उत्पादन बन्द

  २०८१ असोज १५ गते १३:०४     विकासन्युज

काठमाडौं । होङ्सी सिमेन्टको उत्पादन बन्द भएको छ । बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेर विद्युत आपूर्ति बन्द हुँदा उद्योगको सिमेन्ट उत्पादन पनि बन्द भएको हो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको जानकारी दिएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७/८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो ।

उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.