६० कम्पनीले घोषणा गरे लाभांश, सेयरधनीले १७१४ प्रतिशतसम्म पाउने

  २०८१ असोज १५ गते १५:०८     विकासन्युज

काठमाडौं । कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष कमाएको नाफाबाट कम्पनीहरू आफ्ना सेयरधनीलाई लाभांश वितरणमा लागिपरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २० वटा कम्पनी, २५ वटा म्युचुअल फण्ड र अन्य १५ कम्पनीले गरी हालसम्म ६० वटा कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने भएका हुन् ।

लाभांश घोषणा गरेका अधिकांश म्युचुअल फण्ड र मर्चेन्ट बैंकले लाभांश वितरण प्रक्रियासमेत अघि बढाइसकेका छन् । साथै केही कम्पनीले भने लाभांश पारितका लागि वार्षिक साधारणसभा आह्वान गरेका छन् भनेर केही कम्पनी नियामक निकायबाट स्वीकृतिको प्रक्रियामा रहेका छन् ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिटिजन्स बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

कामना सेवा विकास बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

ओरियण्टल होटल्स लिमिटेडले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गुराँस लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (करसहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

साहस उर्जा कम्पनीले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

रु रु जलविद्युत परियोजनाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

नेपाल ल्यूव आयलले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

युनिलिभर नेपालले गत आव २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १ हजार ७१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अपी पावर कम्पनीले गत आव २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, विद्युत नियमन आयोगले कम्पनीको लाभांश रोकेको जनाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७९/८० को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

म्युचुअल फण्ड

मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका विभिन्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूमध्ये २५ वटा म्युचुअल फण्डले मात्रै गत वर्षको नाफाबाट प्रतिफल वितरण गर्ने भएका हुन् । पुँजी बजारमा ३६ वटा म्युचुअल फण्ड सूचीकरण भई कारोबारमा छन् । अझै ११ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्न बाँकी रहेको छ ।

लक्ष्मी सनराइज क्यापिटले विभिन्न ४ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस्तै, एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डका इकाईधनीलाई गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेको छ । एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ प्रतिफल वितरण गरेको छ ।

यस्तै, कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

सानिमा क्यापिटलका सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत अर्थात् ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत अर्थात् ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ, एनआइएमबि एस क्यापिटलको एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत र ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशत अर्थात् ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

यस्तै, सिटिजन्स क्यापिटलका सिटिजन्स म्युचुअल फण्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत, एनएमबि क्यापिटलका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

अन्य कम्पनीको लाभांश

पुँजी बजारमा सूचीकृत नभएका विभिन्न कम्पनीले पनि गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेका छन् । एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

यस्तै, सिद्धार्थ क्यापिटल लिमिटेडले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ, आरविवि मर्चेन्ट बैंकिङले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

यस्तै, सिविआईएल सेक्युरिटिजले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ, नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश र इम्पेरियल सेक्युरिटिज कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएका छन् ।

यस्तै, पूर्वाञ्चल ल्यूव आयलले ०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ, शिवम होल्डिङ्ग्स लिमिटेडले चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ, आशुतोष इनर्जीले ५.२६३ प्रतिशत अर्थात् २ करोड ५२ लाख ६३ हजार रुपैयाँ, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.