बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन अपनाइँदै छ यी उपाय

  २०८१ असोज १५ गते १७:३०     इन्द्रसरा खड्का

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोले देश अहिले आक्रान्तमा छ । २ सय बढी नागरिकले ज्यान गुमाएका छन् भने २७ जना बेपत्ता भएकाे गृह मन्त्रालयले जनाएकाे छ । यस्तै, बाँचेकाहरूको पनि घरगोठ बाँकी छैन । कोही आफन्तको घरमा त कोही सामुदायिक स्थलमा आश्रय लिरहेका छन् ।

बाढीले विशेषगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो क्षति पुर्‍याएकाे छ । खोला किनारमा बस्नेहरू अहिले घरभित्रको पानी र हिलो फाल्नमै व्यस्त छन् । विपदबाट सबैभन्दा ठूलो जनधनको क्षति काभ्रे जिल्लामा भएको छ भने ललितपुर, काठमाडौं लगायतका क्षेत्रमा पनि जनधनको क्षति भएको छ ।

बाढी प्रभावित क्षेत्रमा अहिले थुप्रिएको फोहोरले दुर्गन्ध फैलन थालेको छ । जसबाट महामारी फैलने जोखिम बढेको चिकित्सकहरूले जनाएका छन् । विपद्को बेला दूषित खाना र पानीका कारण हैजा र झाडापखाला फैलन सक्ने जोखिम हुन्छ भने कीटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ । बाढीसँग हिलो घरभित्र पसेकाले पानीको मुहानमा पनि ढलको पानी हुनसक्ने भन्दै खानपानमा सतर्कता अपनाउन चिकित्सकले अनुराेध गरेका छन् । यो बेलामा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू पनि फैलने जोखिम रहेको विज्ञहरू बताउँछन् ।

कुन पालिकाले के गरिरहेकाे छ ? 

गोदावरी नगरपालिका

ललितपुरको दक्षिणी भेगमा धनजनको क्षति पुर्‍याएकाे छ । ललितपुरको गोदावरी नगरपालिकामा १९ जनाको मृत्यु भएको छ भने सडकहरू पनि अवरुद्ध भएका छन् । धेरै ठाउँमा खानेपानीको  समेत समस्या भएकाे  छ । केही पानीकाे मुहानमा बाढी पसेकाे छ । स्वास्थ्यकाे जोखिमलाई मध्यनजर गर्दे अहिले उद्धार राहतको कामसँगै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको पालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए ।

उनले प्रत्येक वडा कार्यालयमार्फत सचेतनाका कार्यक्रम पनि सुरु गरेको बताए । पानी उमालेर र पिउस गरेर खान पनि सल्लाह दिएका छौं,’ प्रमुख महर्जन भन्छन्, ‘अहिलेसम्म स्वास्थ्य समस्या भएको देखिएको छैन, जोखिम हुनसक्छ भन्दै हामीले सचेत गराएका छौं । ’

ललितपुर महानगर

ललितपुर महानगरले भने प्रभावित क्षेत्रमा अहिले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. सवेन्द्र गैरेको नेतृत्वमा महानगरले हरेक वडामा डाक्टरसहितको टोली परिचालन गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले आवश्यक औषधि बोकेर टोली प्रभावित क्षेत्रमा गएको जानकारी दिए ।

काठमाडौं महानगर

यता काठमाडौं महानगरले भने नियमित सरसफाइ कार्यलाई तीव्र पारेको जनाएको छ । बाढीले फोहोरको थुप्रो भएका क्षेत्रमा हटाउने, सरसफाइ गर्ने कार्यलाई जोड दिएको महानगरका सहायक प्रवक्ता नमराज ढकालले बताए । उनले प्रभावितहरूलाई केही दिन विद्यालयमा ल्याएर राखेको र अहिले अवस्था सामान्य हुँदा आ-आफ्नो घर फर्किसकेको जानकारी दिए ।

‘अहिले जोखिम भनेको सरसफाइको कमीका कारण लाग्ने रोगहरूको हो, यो कार्य हामीले गर्दै आएका छौं,’ उनी भन्छन्, ‘महानगरभित्र अहिले स्वास्थ्यकर्मी नै पठाउनु पर्ने अवस्था छैन । यस्तो अवस्था आउन नदिन हामीले हाम्रा नियमित कार्यलाई जोड दिएका छौं । ’

कस्तो छ प्रभावित क्षेत्र ?

डा. सवेन्द्र गैरे अहिले ललितपुर महानगरकाे प्रभावित घरघरमा पुगिरहेका छन् । उनीसँग नर्सलगायत अन्य स्वास्थ्यकर्मीको टोली पनि छ । मंगलबार उनको टोली ललितपुरको बागडोलमा पुगेको थियो । जहाँ क्रिस्चियनकाे एउटै चर्चमा दुई सयभन्दा बढी प्रभावितहरू बसिरहेका छन् । बाढीले उनीहरूको घर मात्र होइन, अन्नपात, भाँडाकुँडा सबै बगाएको छ । महानगरले खानबस्नको व्यवस्था गरे पनि यति धेरै मान्छे एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना रहेको छ ।

डा. गैरेको टोलीले सबैको स्वास्थ्य परीक्षण गरी पानी उमालेर खान र सरसफाइमा ध्यान दिन सल्लाह दिएको छ । उनीहरूलाई जाँच गर्दा गम्भीर समस्या नदेखे पनि कसैलाई ज्वरो, कसैलाई टनशिलको समस्या देखिएको डा. गैरेले जानकारी दिए । उनी भन्छन्, ‘हामीले सबैको जाँच गर्दा ठूलो समस्या देखिएन तर, बालबालिका, वृद्धवृद्धा सबै एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना छ ।’

डा. गैरेले यस्तो बेला हुन सक्ने जोखिमबारे जानकारी गराउँदै केही समस्या देखिनेबित्तिकै आफूलाई सम्पर्क गर्न भनेको बताए । उनले प्रभावितहरू अहिले घरभित्र पसेको पानी र हिलो फाल्नमा व्यस्त रहेको बताए । उनकाे टाेलीले जाँच गर्दै आवश्यक पर्नेलाई औषधि वितरण गरिरहेकाे छ ।

स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ ?

बाढी-पहिरोले जोखिम निम्त्याएको क्षेत्रमा संक्रमण फलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेकाे छ । खानेपानीमा ढलको दूषित पानी पसेको हुन सक्ने भन्दै पानी उमालेर मात्र पिउन भनेको छ भने सरसफाइमा पनि ध्यान दिन प्रभावितहरूलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका हरेक घाइते भएका नागरिकलाई निःशुल्क उपचार गरिरहेको जनाएको छ ।

यस्तै, बाढी-पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न र एम्बुलेन्सको लागि १०२ मा फोन गर्न आग्रह गरेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले सरकारले पालिकासँग समन्वय गरेर स्वास्थ्य सेवा दिने काम गरिरहेको जानकारी दिए । उनले खाना र दूषित पानीबाट झाडापखाला, हैजा, आउँ, टाइफाइडलगायतका समस्या देखिनसक्ने सँगै कीटजन्य समस्या पनि देखिन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग निण्न्त्रण महाशाखाले संक्रामक रोग फैलन नदिन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केन्द्रदेखि तलसम्मका सबै निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिसकेको बताउँदै संकटको अवस्था आउन नदिने बताए ।

बाढी प्रभावित क्षेत्रमा आउन सक्छन् यस्ता जोखिम

बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य जोखिमहरू आउने सम्भावना रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । यस्तो बेलामा पानीजन्य रोगहरू जस्तै झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस फैलिन सक्ने सम्भावना धेरै हुन्छ । दूषित पानीको प्रयोगले यी रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । बाढीपछि मानिसहरू अस्थायी शिविरमा बस्न बाध्य हुन्छन्, जहाँ पर्याप्त सरसफाइ र स्वास्थ्य सुविधाको कमी हुनसक्नाले संक्रमणको जोखिम बढाउँछ ।

बाढीका कारण पानी जम्नाले यो बेला मच्छरको संख्या वृद्धि हुन्छ, जसले डेंगु, मलेरिया, र चिकुनगुनिया जस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । लामो समयसम्म पानीमा रहेर काम गर्दा छालासम्बन्धी समस्या जस्तै चिलाउने, घाउखटिरा, फंगस संक्रमण हुन सक्छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो बेलामा बासी सडेगलेका खानेकुरा नखान र पानी पनि उमालेर, फिल्टर गरेर पिउस राखेर मात्र पिउन आग्रह गर्छन् । काँचो खानेकुरा फलफुल खाँदा पनि राम्रोसँग धोई पखाली खानुपर्नेमा उनले जाेड दिए । ‘यो बेलामा यस्ता सतर्कता अपनायो भने आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘यदि यति गर्दा पनि समस्या देखिहाल्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ, हामीले स्वास्थ्य संस्था जान लापरवाही गर्‍याैं भने ज्यान नै जोखिममा पर्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.