निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आश्वासन- २० अर्ब भुक्तानी भइसक्यो, बाँकी दशैंअघि कोसिस गर्छौं

  २०८१ असोज १६ गते १४:४५     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।

बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरूप नै निरन्तर रुपमा भुक्तानी भइरहेको जानकारी दिए ।

उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे ।

अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिनेमा जाेड दिए ।

उनले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैंअघि नै गर्ने प्रयासमा रहेको उल्लेख गरे ।

उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए ।

अर्थमन्त्री पौडेलले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको बताए ।

उनले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.