सेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन, उतारचढाव हुँदै २६ अकंको गिरावट

  २०८१ असोज १६ गते १५:१७     विकासन्युज

काठमाडौं । सेयर बजारमा रौनकता एक दिन पनि टिक्न सकेको छैन । मंगलबार ११४ अंक बढेको सेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात् ११४.७० अंक बढेको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो मंगलबार ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार फाइनान्स समूहबाहेक अन्य सबै समूह राताम्य बनेका छन् । फाइनान्स समूह १.७५ प्रतिशत बढेको छ । बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह १.३८ प्रतिशत, होटल तथा पर्यटन समूह १.७९ प्रतिशत, जलविद्युत समूह १.७४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह ०.४० प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.१२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४१ प्रतिशत, निर्जीवन बीमा समूह १.८२ प्रतिशत, अन्य समूह ०.०३ प्रतिशत र व्यापार समूह १.१८ प्रतिशत घटेको छ ।

बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८०.३० रुपैयाँ बढेर ८८३.३० रुपैयाँ पुगेको छ ।

यस्तै, स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत, इस्टर्न हाइड्रोको ९.४५ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ८.०२ प्रतिशत बढेको नेप्सेले जनाएको छ । तर, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५० रुपैयाँ घटेको छ ।

कारोबारका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.