२०८१ असोज १७ गते १८:१४ विकासन्युज
काठमाडौं । ‘तपाईंहरू हामीलाई राहत दिन आउनुभएको हो ?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो ।
‘होइन नि, हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।’ यो जवाफले एक्कासि अध्याँरो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नि ।’
काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो कि भन्ने आशाले बाटो निहालिरहेकी रहेछिन् उनी । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन्, ‘अरू पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।’
सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ । ‘आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्,’ माझी भन्छन्, ‘अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?’
बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, ‘बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो !’
सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो कि भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछन् उनी । ‘अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन,’ उनी भन्छन्, ‘नखाएर कति दिन बिताउन सकिएला ?’
अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नि झैं लाग्छ, उनलाई । ‘अरू ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौं नि,’ माझी भन्छन्, ‘पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौंला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजें तर कसैले पत्याएनन् ।’
कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउँछन् । ‘भए पनि एक्कासी महँगो बनाएका छन्,’ माझी भन्छन् ।
सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन् । केही थान भाँडा भेटिएछ । अरू त सबै भेलसँगै बगाएर लगेछ । ‘कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,’ उनी भन्छिन्, ‘सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।’
माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छन् । ‘बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिं नपरोस्,’ उनी भन्छिन्, ‘बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ?’
आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, ‘पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नि ।’
फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छन् गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन् । ‘रातको ३ बजेको थियो, शौचालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमानलाई पनि ब्युँझाए । भागाभाग भयो,’ थापा भन्छिन्, ‘एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नि । धन्न भाग्यले बाँचियो ।’
मानिसबाहेक सबै चिज बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरूको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउँछिन् ।
उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेकाे र डोलेश्वर स्कुलको पेटीमा बास बसेकाे उनको भनाइ छ । ‘यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन । नसोचेकै भयो,’ थापा भन्छन्, ‘जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।’
वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैं लाग्छ । उनलाई आफू भएको ठाउँमा रित्तो हात त कोही पनि नआए नि हुन्थ्यो झैं लाग्छ ।
इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन् ।
‘सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुपर्याे,’ उनले भनिन्, ‘आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ ।’
ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टि साइडमा टेकमाया श्रेष्ठको घर छ । शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो । के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ । भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन् ।
‘यत्ति धेरै क्षति हुन्छ भन्ने साेंचेका पनि थिएनौं । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौं,’ उनी भन्छिन्, ‘तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।’
माथि उल्लेख गरेका पात्रहरूको भन्दा उनको माग फरक छ, ‘सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस् ।’
ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ । नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ । ‘कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ,’ उनी भन्छन्, ‘हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौं, सबै ठाउँमा पुग्नै भ्याइएको छैन ।’
उनका अनुसार गोदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ । ‘यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौं ।’
उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन् । ‘चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौं, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छाैं,’ उनले भनिन् ।
दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ । हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउँछन्, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट ।
‘न बाटो छ, न सम्पर्क छ,’ उनले भने, ‘यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए । ‘हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।’
समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन् जनस्वास्थ्यविद् डा.समिर अधिकारी । ‘कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने ? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ,’ उनी भन्छन्, ‘लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ ।’
वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउँछन् । ‘समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो,’ उनले भने, ‘कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस् । यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.