२०८१ असोज १८ गते १३:३६ सीआर भण्डारी
काठमाडौं । एउटा संस्थाको नेतृत्व गरेपछि त्यो व्यक्तिको प्रवेशले संस्थाको प्रगतिमा कतिको फरक पार्यो भन्ने विषयले ठूलो महत्त्व राख्छ । नयाँ नेतृत्वको आगमनले संस्थाको रणनीतिक योजना, टिमवर्कबाट प्राप्त हुने प्रतिफल, आम्दानी, विश्वसनीयता र जवाफदेहितामा के कस्तो प्रभाव तथा सुधार भयो भन्ने विषयको मूल्यांकन र निगरानी बजारले गरिरहेको हुन्छ । यदि यी सबै विषय सुधार भयो भने यो सबै कुराको श्रेय नेतृत्वले पाउँछ । विगतको भन्दा पनि कमी आयो भने त्यसको अपजस पनि नेतृत्वमाथि नै थपारिन्छ । जुन स्वाभाविक पनि हो ।
नेपाली पुँजीबजारको सञ्चालन तथा सेयर खरिदबिक्रीको सेवा दिने एक प्लेटफर्मको रूपमा काम गर्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नेतृत्वमाथि पनि अहिले विविध प्रश्नहरू तेर्सिएका छन् । उनीमाथि निहित स्वार्थका लागि संस्थाको आम्दानी घटाएको घटाएको आरोप लागेको छ । अहिले नेप्सेको नेतृत्व कृष्णबहादुर कार्कीले गरिरहेका छन् ।
नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउँद सर्वोत्तम सिमेन्टको प्रकरणमा बर्खास्त भएपछि कार्की विसं २०७८ मा नेप्सेको नेतृत्व सम्हालेका थिए । यो अवधिमा कार्कीले नेप्सेको आम्दानी बढ्नेभन्दा पनि आम्दानी खुम्चिने काम गरेको भन्दै संस्थाभित्र नै विरोध हुन थालेको बुझिएको छ ।
सीईओ कार्कीले वालेट कम्पनीसँगको मिलेमतोमा भुक्तानीको काम निजी कम्पनीलाई दिएको र आम्दानीको बाटो बन्द गराएको आरोप नेप्सेका कर्मचारीहरूले नै लगाएका छन् । कार्की सीईओ बन्नुअघि नेप्सेको कुल आम्दानी ३ अर्ब बढी थियो । तर, उनी आइसकेपछि नेप्सेको आम्दानीमा प्रत्येक वर्ष ह्रास हुँदै गएको तथ्यांकले पनि देखाउँछ ।
आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको नेप्सेले कार्की सीईओ बनेर आएपछि घटेर आव २०७८/७९ मा २ अर्ब ७८ करोड २१ लाख रुपैयाँमा झरेको छ । त्यसपछि पनि नेप्सेको आम्दानी घट्ने क्रम रोकिएको छैन । अघिल्लो आव २०७९/८० मा नेप्सेको कुल आम्दानी घटेर १ अर्ब ७८ करोड २२ लाख रुपैयाँमा सीमित छ ।
नेप्सेको आम्दानी घट्नुमा सीईओ कार्कीले गरेको निणर्य नै भएको नेप्सेका कर्मचारीहरू बताउँछन् । लगानीकर्ताको भुक्तानी सहज बनाउन नेप्सेका पूर्वसीईओ साउँदले २०७५/७६ मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग सम्झौता गरेका थिए । लगानीकर्ताको माग बमोजिम भुक्तानीमा सहज होस् भनेर कनेक्ट आईपीएसमार्फत् भुक्तानीको काम गर्न सकिने गरी सम्झौता भएको थियो ।
त्यसअघि सेयर कारोबारको भुक्तानीको काम गर्दा नगद वा चेकका माध्यमबाट गर्नुपर्ने बाध्यता थियो । आफूहरूले तत्काल भुक्तानी पाउनुपर्ने र ब्रोकरलाई पनि दिनुपर्ने गरी अनलाइन व्यवस्था गर्न लगानीकर्ताहरूले आवाज उठाए । नेप्सेले पनि लगानीकर्ताको माग जायज रहेको भन्दै भुक्तानीको काम छिटोछरितो गर्न कनेक्ट आईपीएसलाई नेप्सेको प्रणालीमा जोड्ने गरी एनसीएचएलसँग सम्झौता गरेको थियो । उक्त सम्झौताले भुक्तानी सहज मात्रै भएको थिएन, नेप्सेको आम्दानीसमेत बढेको थियो ।
‘म नेप्सेको सीईओ हुँदा कनेक्ट आईपीएससँग सम्झौता भएको हो, कनेक्ट आईपीएसबाट लगानीकर्ताको भुक्तानीको काम गर्न सकिने भयो, लगानीकर्ताले ब्रोकरलाई भुक्तानी गर्नुपर्ने र ब्रोकरले पनि लगानीकर्तालाई भुक्तानी दिनुपर्ने गरी सम्झौता भयो,’ नेप्सेका पूर्वसीईओ साउँदले भने, ‘त्यतिबेला डिजिटल भुक्तानीका विभिन्न माध्यम थिए । तर, निजी कम्पनीलाई दिँदा विवाद आउन सक्छ भनेर एनसीएचएलसँग सम्झौता भयो, एनसीएचएलमा सरकार र राष्ट्र बैंकको लगानी भएको संस्था हो ।’
सरकारी लगानी भएकाले कनेक्ट आईपीएस नै उपयुक्त हुन्छ भनेर सम्झौता गरेको र टीएमएसमा कनेक्ट आईपीएसलाई जोडिएको उनको भनाइ छ । उनका अनुसार नेप्सेको सफ्टवेयर प्रयोग गरेपछि कनेक्ट आईपीएसले वार्षिक रूपमा नेप्सेलाई निश्चित रकम दिने सहमति भएको थियो ।
के थियो सम्झौता ?
सेयर कारोबारको रकम अनलाइनबाटै भुक्तानीको व्यवस्था गर्ने गरी भएको सम्झौतामा नेप्से र एनसीएचएलबीच निश्चित रकम दिनुपर्ने विषय उल्लेख थियो । पुँजी बजारमा अर्बौंको कारोबार हुने भएकाले कनेक्ट आईपीएसका लागि राम्रो व्यावसायिक प्लेटफर्म बन्यो । नेप्सेको सफ्टवेयर प्रयोग हुने भएकाले एनसीएचएलले वार्षिक रूपमा निश्चित रकम नेप्सेलाई दिने सहमति भएको थियो ।
स्रोतका अनुसार सो बापत नेप्सेलाई वार्षिक २ लाख बढी आम्दानी हुन्थ्यो । तर, कनेक्ट आईपीएसको आम्दानीमा निजी कम्पनीबाट सञ्चालित वालेट कम्पनीले पनि आँखा लगाउन खोजे । साउँद सीईओ हुँदा पहुँच नपाएका वालेट कम्पनीहरू कार्की सीईओ बनेपछि भने निर्वाध रूपमा काम गर्न थाले ।
सीईओ कार्कीले सामान्य सम्झौता गरेर वालेट कम्पनीलाई नेप्सेको टीएमएसमा आवद्ध गराएको नेप्सेका एक कर्मचारीले बताए । एनसीएचएलसँगको भएको सम्झौता पनि नवीकरण नगरेको ती कर्मचारीको भनाइ छ ।
‘विगतमा सेयर कारोबारको भुक्तानीको काम कनेक्ट आईपीएसले मात्रै गर्थ्याे, सरकारी कम्पनी भएकाले सुरक्षित मानिएको थियो, कारोबार गरेबापत नेप्सेलाई निश्चित रकम पनि दिने सहमति थियो,’ नेप्सेका एक कर्मचारीले भने, ‘तर, कार्की सीईओ बनेपछि कनेक्ट आईपीएसँगको सम्झौता पनि नवीकरण भएन, उल्टै ईसेवा, खल्ती, आइएमई पे लगायतका वालेटलाई नेप्सेको प्लेटफर्ममा आवद्ध गराइयो ।’
विगतमा कनेक्ट आईपीएसले कारोबार गरेबापत नेप्सेलाई निश्चित रकम फिर्ता दिने (क्यासब्याक) सहमति थियो । तर, वालेट कम्पनीलाई प्रवेश गराएपछि कनेक्ट आईपीएसले पनि नेप्सेलाई रकम दिन छाडेको नेप्सेका ती कर्मचारीको भनाइ छ ।
‘नेप्सेको सफ्टवेयर प्रयोग गरेर वालेट कम्पनीले पनि भुक्तानीको काम गर्न थाले । तर, नेप्सेलाई रकम पनि दिएनन् किनभने सीईओसँगको सम्झौतामा रकम दिने विषय उल्लेख छैन,’ नेप्सेका ती कर्मचारीले भने, ‘जबकि कनेक्ट आईपीएसले वार्षिक प्रतिब्रोकर १०/१५ हजार रुपैयाँ नेप्सेलाई दिन्थ्यो । तर, वालेट थपिएपछि दिन छाड्यो ।’
नेप्सेका अर्का कर्मचारीको दाबीअनुसार सीईओ कार्कीले वालेट कम्पनीसँग कुनै सम्झौता गरेका छैनन् । जबकि नेप्सेको प्रणालीमा कम्पनी जोड्नका लागि धेरै जोखिम मोल्नुपर्छ । अध्ययन र विश्लेषण बिना नै सीईओ कार्कीले वालेट कम्पनीलाई नेप्सेको सफ्टवेयरमा पहुँच दिएको उनको भनाइ छ । यसरी जो पायो त्यही कम्पनीलाई नेप्सेमा जोड्दा लगानीकर्ताको गोपनीयता पनि भङ्ग हुन सक्ने उनको भनाइ छ ।
‘अहिले ब्रोकर कम्पनी थपिएर ९१ वटा पुगेका छन्, यदि कनेक्ट आईपीएससँगको सम्झौता नवीकरण गरेको भए नेप्सेले धेरै रकम आम्दानी गर्थ्याे, अब त्यो रकम नआउँदा नेप्सेलाई घाटा भयो,’ ती कर्मचारीले भने, ‘निजी कम्पनीलाई नेप्सेमा पहुँच दिँदा लगानीकर्ताको गोपनीयता बाहिरिने सम्भावना रहन्छ ।’
ती कर्मचारीका अनुसार अहिले यो विषयले नेप्सेभित्र कर्मचारीले सीईओप्रति असन्तुष्टि जनाइरहेका छन् ।
नेप्सेको गत वर्षको आम्दानीको स्रोत सार्वजनिक भएको छैन । तर, आव २०७९/८० मा धितोपत्र कारोबारबाट ६९ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालनबाट ४५ करोड ६८ लाख रुपैयाँ, संगठित सदस्यलाई दिइएको सेवाबाट १४ करोड ७१ लाख रुपैयाँ र अन्यबाट ४८ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
आव २०७८/७९ मा धितोपत्र कारोबारबाट १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ, कार्य सञ्चालनबाट ५१ करोड ९९ लाख रुपैयाँ, संगठित सदस्यलाई दिइएको सेवाबाट ९ करोड ९९ लाख रुपैयाँ र अन्यबाट ४० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
धितोपत्र कारोबार, कार्य सञ्चालन, संगठित सदस्यलाई दिइएको सेवा र अन्यबाट हुने आम्दानी नै नेप्सेको आम्दानीका स्रोत हुन् । सेयर खरीद बिक्री कमिशन तथा सदस्यता शुल्कवापतको रकमलाई धितोपत्र कारोबारबाट हुने आम्दानीभित्र समावेश गरिन्छ भने सूचीकृत कम्पनीले बुझाउने नवीकरण र वार्षिक शुल्क वापतको रकम संगठित सदस्यलाई दिइएको सेवाबाट हुने आम्दानीमा उल्लेख गरिन्छ ।
कार्य सञ्चालन आम्दानीअन्तर्गत सिडिएस एण्ड क्लियरिङले सेवा दिएवापत प्राप्त गरेको आम्दानी पर्दछ भने अन्य आम्दानीअन्तर्गत निक्षेपको ब्याज, लाभांश, कर्मचारी कर्जाको ब्याज, निश्चित सुविधा योजनाबाट ब्याज लगायतका अन्य आम्दानी पनि पर्दछन् ।
नेप्सेका प्रबन्धक निरन्जन फुँयाल पनि चन्द्र साउँद सीईओ हुँदा टीएमएसमा कनेक्ट आइपीएस जोड्न एनसीएचएलसँग सम्झौता भएको तर कार्की सीईओ भएर आएपछि सम्झौता रद्द गरिएको बताउँछन् । उनका अनुसार नेप्से र कनेक्ट आइपीएसबीच डार्क फाइबर राखिएपछि कनेक्सनको लागत तिर्नुपर्ने हुन्छ । तर, कनेक्ट आईपीएसले ब्रोकर कम्पनीबाट रकम उठाउन नसकेपछि रद्द गरिएको हो ।
‘पहिलो वर्ष नेप्सेले हालिदिने र दोस्रो वर्षदेखि ब्रोकरबाट उठाएर कनेक्ट आईपीएसले नेप्सेलाई दिने सहमति थियो, पहिलो वर्षको किस्ता एक/डेढ लाख रुपैयाँ थियो । तर, कनेक्ट आईपीएसले ब्रोकरबाट रकम उठाउन सकेन,’ उनले भने, ‘कृष्ण सर सीईओ भएर आएपछि एनसीएचएलको सीईओ नेप्सेमा आउनु भयो र सम्झौता खारेज गर्ने मौखिक सहमति भयो ।’
नेप्सेका प्रवक्ता मुराहरि पराजुली एनसीएचएलसँगको सम्झौतामा केही रकम फिर्ता दिने सर्त तोकिएको बताउँछन् । सम्झौता कार्यान्वयनमा छ कि छैन भन्ने विषय आफूलाई जानकारी नभएको उनको भनाइ छ । साथै वालेट कम्पनीसँग छुट्टै सम्झौता गरिएको उनले बताए ।
सीईओ कार्की भने नेप्सेले पाउनेभन्दा पनि दिनुपर्ने बाध्यता रहेको बताउँछन् । ‘म आउनुभन्दा अगाडि नै एनसीएचएलसँग सम्झौता भएको थियो । त्यसबापत नेप्सेले अलिअलि पैसा दिनुपर्ने सम्झौता थियो, वर्षमा एक डेढ लाख रुपैयाँ दिने भन्ने थियो, पहिला पनि दिएको थिएन,’ नेप्सेका सीईओ कार्कीले भने, ‘नेप्सेले पाउनु पर्ने भएपनि उल्टै एनसीएचएललाई दिनु पर्ने सम्झौता छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.