दशैंमा खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै

  २०८१ असोज १८ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ ।

विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैंको लागि तयारी तीव्र छ । सहरहरूबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ ।

विपद्का कारण दशैंमा खसी, बोकाहरू कमी हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैं यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए ।

उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको जानकारी दिए ।

मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको व्यवस्थापक खतिवडाले बताए ।

विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको बताए ।

उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको जानकारी दिए ।

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको जानकारी दिए । उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ बिक्री गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.