एभरेष्ट बैंकका चार सेयरधनीले थपे सेयर, दुई नयाँ लगानीकर्ता भित्रिए

  २०८१ असोज १८ गते १६:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका हुन् भने चार जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्व बढाएका छन् ।

बैंकमा आनन्द रत्न तुलाधर र नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीका रूपमा थपिएका हुन् । बैंकका अनुसार तुलाधरसँग ०.७६ प्रतिशत अर्थात् ८ लाख ८९ हजार १२७ कित्ता र नेपाल लाइफसँग ०.५२ प्रतिशत अर्थात् ६ लाख ७ हजार ९५८ कित्ता साधारण सेयर स्वामित्व रहेको छ ।

यस्तै, बैंकका ठूला सेयरधनीसमेत रहेका चार जनाले आफ्नो स्वामित्व बढाएका छन् । बैंकका संस्थापक सेयधरधनी शान्तदेव पाठक, अरुणमान शेरचन, रविकृष्ण श्रेष्ठ र किरणकृष्ण श्रेष्ठले आफ्नो स्वामित्व बढाएका हुन् । सर्वसाधारण समूहतर्फको सेयर खरिद गरेर उनीहरूले आफ्नो सेयर स्वामित्व बढाएका हुन् ।

संस्थापक पाठकले ३.८८ प्रतिशत अर्थात् ४५ लाख ७० हजार ८०५ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ५.०६ प्रतिशत अर्थात् ५९ लाख ५४ हजार ६९६ कित्ता सेयर स्वामित्व पुर्‍याएका छन् । उनीसँग संस्थापक समूहको १.१८ प्रतिशत अर्थात १३ लाख लाख ८३ हजार ८९१ कित्ता सेयर रहेको छ ।

यस्तै, संस्थापक अरुणमान शेरचनले २.२५ प्रतिशत अर्थात् २६ लाख ४९ हजार ६०३ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ३.२ प्रतिशत अर्थात् ३७ लाख ६१ हजार ७८२ कित्ता सेयर स्वामित्व पुर्‍याएका छन् । जसमध्ये शेरचनसँग ०.९५ प्रतिशत अर्थात् ११ लाख १२ हजार १७९ कित्ता सेयर छ ।

यस्तै, संस्थापक सेयरधनी रहेका रविकृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठले समान ०.८५ प्रतिशतका दरले १० लाख ३ हजार ५४३ कित्ता सेयर खरिद गरेका हुन् । यससँगै दुवै जनाको सेयर स्वामित्व समान २.७३ प्रतिशत अर्थात् ३२ लाख १७ हजार ३८१ कित्ता सेयर पुगेको छ । जसमध्ये २२ लाख १३ हजार ८३८ कित्ता संस्थापक सेयर रहेको बैंकले जनाएको छ ।

गत असारसम्म बैंकमा सबैभन्दा ठूलो सेयरधनी भारतको पन्जाब नेशनल बैंक रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पन्जाब नेशनल बैंकको २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको थियो ।

यस्तै, गत असारसम्म प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५३ लाख ८६ हजार ७२२ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष श्रेष्ठको १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर थियो ।

यस्तै, होटल स्नो लायनको ९.३० प्रतिशत अर्थात् १० लाख ९४९ हजार ७६९ कित्ता सेयर लगानी रहेको छ । यसअघि अघिल्लो वर्ष होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व थियो ।

गत असारसम्म विष्णुकृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् १ करोड ८ लाख ३ हजार ६६२ कित्ता सेयर स्वामित्व रहेको बैंकको भनाइ छ । अघिल्लो वर्ष श्रेष्ठको ९८ लाख २१ हजार ५११ कित्ता सेयर मात्रै स्वामित्व थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.