भारतको विदेशी मुद्रा सञ्चिति ७ खर्ब डलर नाघ्यो, जापानकाे कति छ ?

  २०८१ असोज १९ गते १५:०८     विकासन्युज

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति पहिलो पटक ७ खर्ब अमेरिकी डलर नाघेको छ ।

सेप्टेम्बर २७ मा समाप्त भएको सातामा १२ अर्ब ६ करोड डलरको बढोत्तरी भएको थियो ।

साप्ताहिक वृद्धि हेर्ने हो भने यो भारतको विदेशी मुद्रा भण्डारमा अहिलेसम्मको पाँचौं ठूलो वृद्धि हो । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति ७ खर्ब ४ अर्ब ८० करोड डलर रहेको अनुमान छ ।

चीन, जापान र स्विट्जरल्यान्डपछि भारत यो कोशेढुंगा पुग्ने चौथो देश बनेको छ । चीनको विदेशी मुद्रा सञ्चिति भारतको भन्दा झन्डै पाँच गुणा बढी छ ।

अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर विदेशी मुद्रा सञ्चितिको हिसाबले चीनको नजिक कोही पनि छैन । वर्षको पहिलो त्रैमासिकमा चीनको विदेशी मुद्रा सञ्चिति करिब ३५ खर्ब डलर थियो । यो सूचीमा जापान दोस्रो नम्बरमा छ । यसको विदेशी मुद्रा सञ्चिति करिब १३ खर्ब डलर छ ।

युरोपको सानो राष्ट्र स्विट्जरल्यान्ड यो सूचीमा तेस्रो स्थानमा छ । योसँग करिब ९ खर्ब डलरको विदेशी मुद्रा सञ्चिति छ ।

त्यस्तै सुन भण्डारमा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकी सरकारको कोषमा करिब ८ हजार १ सय ३३ टन सुन जम्मा छ ।

भारतको विदेशी मुद्रा भण्डारमा सबैभन्दा ठूलो साप्ताहिक उछाल अगस्ट २०२१ मा आयो । त्यतिबेला यो १६ अर्ब ६० करोड डलरले बढेको थियो । मार्च २०२४ देखि विदेशी मुद्रा सञ्चिति ५८ अर्ब ४० करोड डलरले बढेको छ भने गत वर्षको तुलनामा १ खर्ब १७ अर्ब ९० करोड डलरले बढेको छ ।

आरबीआई गभर्नर शक्तिकान्त दासको कार्यकालमा भारतको विदेशी मुद्रा सञ्चितिमा अहिलेसम्मकै सबैभन्दा छिटो मासिक वृद्धि भएको छ।

यो ७० महिनाको अवधिमा प्रतिमहिना ४ अर्ब २० करोड भएको छ । उनले पदभार ग्रहण गरेदेखि यो २ खर्ब ९८ अर्ब डलरले ले बढेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.