‘यात्रुको चाप बढ्दा भाडा महँगो भएको हो, एयरलाइन्सहरूसँग उडान थप्न आग्रह गरेका छौं’

  २०८१ असोज २० गते १०:५३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् ।

मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे ।

उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए ।

उनले यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताए ।

मन्त्री पाण्डेले सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि दाबी गरे ।

यस पटक धेरै टिकटहरू पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको जानकारी दिए ।

उनले यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेकाे पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.