मन्त्रालयको उच्च व्यवस्थापनसँग अर्थमन्त्रीको गुनासो- ‘आर्थिक वृद्धि सोचेजस्तो नहुने भयो’

  २०८१ असोज २० गते १३:४१     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले सोचेअनुरूप आर्थिक वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । उनले आइतबार अर्थमन्त्रालयको उच्च व्यवस्थापनसँग छलफल गर्दै सुरुवाती दिनमा आर्थिक वृद्धि राम्रै हुने देखिए पनि पछिल्लो घटनाक्रमले सोचेअनुरूपको आर्थिक वृद्धि हुने नदेखिएको गुनासो गरे ।

उनले अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा असोजको दोस्रो साताको बाढी पहिरोले धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले आर्थिक वृद्धि अपेक्षाकृत नहुने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने धारणा राखेका हुन् ।

योबेला राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गर्न पनि निर्देशन दिएका छन् ।

बाढी पहिरो जानुअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.