अध्ययन भन्छ- पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी

  २०८१ असोज २० गते १४:४४     विकासन्युज

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी ।

काठमाडौं । पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गर्भधारण गरेका र सुत्केरी महिलाहरुलाई मानसिक तनाव, उदासिनता जस्ता मानसिक समस्याहरूको जोखिम अझ बढी हुने बताए ।

उनका अनुसार विकसित देशहरूमा करिव १० प्रतिशत सुत्केरी महिलाहरूमा मानसिक समस्या देखिने गरेको छ । नेपालजस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलालाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताए ।

उनले सुत्केरी पश्चात एक वर्षभित्र मृत्यु हुने महिलाहरूमध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले नेपालको अवस्थामा १०९८, २००८ र २०२१ को मातृ मृत्युसम्बन्धी अध्ययनमा प्रजनन उमेरका महिलाहरुको मृत्युको मुख्य कारणमध्ये आत्महत्या रहेको जानकारी दिए ।

सन् २०२१ को जनगणनासँगै गरिएको अध्ययनले कुलमातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानीजानी गरिएको आत्महत्याबाट हुने गरेको तथ्यांकले देखाएको उनले बताए ।

निर्देशक अधिकारीले गर्भवती, सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलाको मात्रै नभएर बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकास र गुणस्तरीय जीवनयापनमा नकारात्मक असर गर्ने जानकारी दिए ।

उनले मानसिक समस्याहरूको समयमै पहिचान गरे भएका साधनस्राेतबाट उपचार सम्भव रहेको बताए ।

नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने ब्लड स्पट टेस्टलाई न्यु बर्न स्क्र्यानिङ टेस्ट भनिन्छ । यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखी मेसिनमा जाँच गरिन्छ ।

उक्त जाँचबाट मेटाबोलिक डिजिज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजिज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिँदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरू देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरू बताउँछन् ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरूमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरूमा विभिन्न किसिमका वंशाणुगत रोगहरू देखिएको निर्देशक अधिकारीले बताए । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरूको परीक्षण गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.