कृषि तथा घरेलु उद्यमी मेला जारी, स्थानीय खानाका परिकार, अल्लो र ढाकामा आकर्षण

  २०८१ असोज २० गते १४:५३     विकासन्युज

काठमाडौं । संघीय राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ जारी छ ।

प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।

यस्तै, प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरूले मन पराएका छन् ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको राष्ट्रिय सभागृहको परिसरमा असाेज १६ देखि सञ्चालित मेला २४ सम्म चल्नेछ ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको बताए ।

काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सहआयोजना रहेको प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको जनाइएकाे छ ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.