विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिरहेको ऊर्जामन्त्री खड्काको दावी

  २०८१ असोज २० गते १७:३३     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् ।

उनले अन्य छिमेकी राष्ट्रहरूले आफै विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताए ।

उनले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्तत: राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्न नहुने उल्लेख गरे ।

मन्त्री खड्काले भने, ‘बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौं । तपाईंहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरूले किन नकिन्दिने भनेर आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । जलविद्युतमा व्यक्ति, संस्था, निजी जसले लगानी गरेपनि २५/३५ वर्ष पछाडि मुलुकको हुने हो ।’

उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुनेगरी मोडालिटी बनाउनुपर्ने पनि बताए ।

पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.