२०८१ असोज २१ गते ११:१० इन्द्रसरा खड्का
काठमाडौं । धनुषाको श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षिका सीताकुमारी यादवले जागिर खान झुटा शैक्षिक प्रमाणपत्र पेस गरिन् । राहत कोटामा शिक्षकको जागिर खाएकी उनको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्र नक्कली पेस गरेको थाहा भएपछि उजुरी पर्यो ।
बिहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको भनिएको माद्यामिक तहको नक्कली शैक्षिक प्रमाणपत्रहरू पेस गरी उनले प्राथमिक तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति लिएकी थिइन् । गत वर्ष साउन ४ गते उनी विरुद्ध उजुरी परेपछि ७ गते नक्कली कागजात पेश भएको पुष्टि भयो ।
यस्तै, नुवाकोटको श्री कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जुकुमारी थापा ओझाले पनि नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइन् । नुवाकोटको विदुर नगरपालिका-१३ की उनले एसएलसी तहको प्रमाणपत्र भारतबाट नक्कली ल्याएको अनुसन्धानबाट खुल्यो । गत वर्षको साउन १८ गते प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक सेवा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको पाइएको हो ।
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको दशरथ माध्यमिक विद्यालयका शिक्षक महेश शाहले पनि जागिरकै लागि नक्कली कागजात पेस गरे । राहत शिक्षकमा कार्यरत शाहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुल्यो । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट जारी भएको भनिएको इन्टरमिडिएट परीक्षाको नक्कली प्रमाणपत्र पेस गरी माध्यमिक तहमा सामाजिक/अर्थशास्त्र विषयको शिक्षक पदमा नियुक्ति लिएका थिए ।
यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका-४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयकी शिक्षिका डिलमाया कुमारी कँडेलको शैक्षिक प्रमाणपत्र र अध्यापन अनुमतिपत्र दुवै नक्कली पेस गरी जागिर खाइन् । उनले प्राविमा राहत शिक्षकको नियुक्ति लिन दुवै नक्कली प्रमाणपत्र पेस गरेकी थिइन् । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको हाइस्कुल परीक्षा तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुल्यो ।
कास्कीको पोखरा महानगरपालिका-८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयकी स्थायी शिक्षिका बिन्दु गौतम शर्माले पेस गरेको नक्कली प्रमाणपत्र पनि भारतबाटै ल्याएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी केलाउँदा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्ति लिएको पाइएको हो ।
तनहुँ, व्यास नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्यायले पनि भारतबाटै नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएकी थिइन् । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा जागिर खाँदै आएकी थिइन् । गत वर्षको फागुन १४ गते उनीविरुद्ध उजरी परेपछि यो कुरा थाहा भएको हो ।
यस्तै, पर्साको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुरमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मी डडेल्धुराको देवल उमाविका प्राविका द्वितीय तहमा कार्यरत शिक्षक मदनराज पन्तले पनि भारतबाट नक्कली प्रमाणपत्र ल्याएको पाइएको छ ।
यी केही प्रतिनिधिन पात्र र घटनाहरू हुन् । पछिल्लो समय नक्कली शैक्षिक प्रमाणपत्रहरू बनाएर विद्यालय तथा कलेजमा जागिर खाने शिक्षक तथा प्राध्यापकहरूको संख्या बढेको छ । यी घटनाहरू स्थानीयको उजुरीका आधारमा अनुसन्धान गर्दा पत्ता लागेका हुन् । उजुरी नपरेर नक्कली शैक्षिक पत्र बनाउर जागिर खानेकोहरुको संख्या समाजको ठूलो रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थीलाई सही बाटो देखाउने ठूलो जिम्मेवारी शिक्षकको काँधमा हुन्छ । घरपछि विद्यार्थीको सिकाइको पाठशाला विद्यालय हो । शिक्षकको भरोसामै अभिभावकले आफ्ना बालबच्चा छोड्छन् । बालबच्चाहरूले बढीभन्दा बढी शिक्षा सिक्न पाउने आशा अभिभावकको हुन्छ । तर, अभिभावकले नै भरोसा गरेका शिक्षकहरूले के सही शिक्षा दिरहेका छन् ? यो कुरामा भने अभिभावकको ध्यान कमै जान्छ ।
बेलाबेलामा नेपालका शिक्षकको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । अझ त्यसमाथि प्रमाणपत्र नै नक्कली पेस गरी जागिर खाइरहेका शिक्षकले कस्तो शिक्षा दिरहेका होलान् ?
अख्तियारमा उजुरी परेका अधिकांश शिक्षकका नक्कली प्रमाणपत्र भारतबाट ल्याएको पाइएको छ । उनीहरूले भारतका विभिन्न कलेजबाट आफू पास भएको प्रमाणपत्र ल्याउँदै नेपालमा जागिर खाने गरेको पाइएको हो ।
३४ जना विरुद्ध उजुरी
शैक्षिक संस्थामा अध्यापनरत शिक्षक र प्राधानाध्यापकले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा जारी गरेको चौंतिसौं वार्षिक प्रतिवेदनले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढेको जनाएको हो ।
प्रतिवेदनमा झुटा विवरण पेस गर्ने ३४ जना विरुद्ध अख्तियारमा मुद्दा परेको उल्लेख छ । जसमा मनोनित (राजनीति नियुक्ति) १ जना, उपसचिवा सो सरह ३ जना, शाखा अधिकृत वा सो सरह ११ जना, नायव सुब्बा वा सो सरह ४ जना र खरिददार वा सो सरह १५ जना गरी ३४ जना शिक्षक कर्मचारी विरुद्ध उजुरी परेको हो ।
हजार बढी शैक्षिक मुद्दा
आयोगले स्थापनाकालदेखि हालसम्मका मुद्दा विवरणअनुसार सबैभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रका पर्ने गरेको जनाएको छ । आयोगको स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा आयोगले जम्मा ३ हजार ४ सय ८५ वटा मुद्दाहरू अदालतमा दायर गरेको छ । जसअनुसार औसतमा प्रतिवर्ष १०५ भन्दा बढी आरोपपत्रहरू अदालतमा दर्ता भएका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएपश्चात् आयोगबाट हालसम्म अदालतमा दर्ता भएका ३ हजार ३ सय ६९ आरोपपत्रहरूमध्ये विषयगत रूपमा हेर्दा सबैभन्दा बढी १ हजार २ सय ४२ वटा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्रहरू रहेको आयोगले जनाएको छ । त्यसपछि घुस रिसवतसम्बन्धी ८ सय ७५ वटा आरोपपत्रहरू रहेका छन् ।
गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको संख्या भने १ सय ५४ वटा रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै मुद्दा आर्थिक वर्ष २०७६/७७ मा दायर भएका थिए भने आर्थिक वर्ष २०६६/६७ मा सबैभन्दा कम मुद्दा दर्ता भएका थिए ।
नक्कली प्रमाणपत्रले शिक्षा प्रणालीमै असर
नेपालको शिक्षा क्षेत्रमा नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने कुरा नौलो होइन । बेला बखत यस्ता घटनाहरू बाहिर आइरहेका हुन्छन् । यस्ता घटनाले नेपालको नेपालको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउने विज्ञहरू बताउँछन् ।
शिक्षाविद् डा. विष्णु कार्की यस्ता घटनाले अहिले शिक्षा क्षेत्रमा आफूहरूले उठाइरहेको कुरालाई असर पर्ने बताउँछन् । शिक्षालाई प्राविधिमैत्री बनाऊँ, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरौं भनिरहँदा शिक्षक नै यस्तो हर्कतमा लागे अघि बढ्न नसकिने उनको तर्क छ ।
शिक्षाविद् कार्की यसको लागि सबै एकजुट हुनुपर्ने बताउँछन् । ‘शिक्षामा बढी नै लापरवाही छ भन्ने कुरा आजमात्र होइन, पहिलेदेखि नै उठ्दै आएको पाइन्छ,’ उनी भन्छन्, ‘शिक्षकले नै जथाभावी, मनपरी हिसाबले नक्कली प्रमाणपत्र पेस गर्दा यसलाई रोक्ने कसले भन्ने प्रश्न उठ्छ ।’
उनी यस्ता विकृति रोक्न शिक्षक संघसंगठन नै बढी अग्रसर हुनुपर्ने बताउँछन् ।
‘साथीहरूलाई नियम कानुनभित्र रहेर काम गरौंभन्दा सह्य हुँदैन,’ उनी थप्छन्, ‘शिक्षकमा हामीले चाहेको शैक्षिक योग्यता, अध्यापनको अनुभव न्यूनतम मापदण्ड हो । यो नभइकन कसरी गुणस्तर शिक्षा दिन सकिँदैन । पहिलो खुड्किलोमै ठेस लाग्दा माथि उक्लन जोखिम हुन्छ, यो विषयमा सबै लाग्नुपर्छ ।’
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी अयोग्य व्यक्तिहरू सार्वजनिक पदमा प्रवेश हुँदा योग्य व्यक्तिको छनोटमा असर पर्दछ भने नक्कली प्रमाणपत्रको आधारमा पदोन्नति हुँदा योग्य र सक्षम कर्मचारीको मनोबल र कार्यालयको कार्यसम्पादनमा समेत नकारात्मक असर पर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.