२०८१ असोज २१ गते १३:३५ सीआर भण्डारी
काठमाडौं । आजका दिनसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६६ खर्ब ६ अर्ब निक्षेप छ । त्यो निक्षेपबाट बैंकले ५२ खर्ब ५७ अर्ब ऋण प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा रहेको ६६ खर्ब निक्षेप ५ करोड ४३ लाख ५६ हजार खातावालहरूको हो । बैंकिङ क्षेत्रबाट प्रवाह भएको साढे ५२ खर्ब ऋण १८ लाख ९९ हजार ऋणीले प्रयोग गरिरहेका छन् ।
बर्सेनि बैंकका निक्षेपकर्ता ठूलो संख्यामा वृद्धि भइरहेको छ भने ऋणीको संख्यामा भने खासै वृद्धि हुन सकेको छैन । बैंकिङ व्यवसायको मुख्य खम्बा भनेको निक्षेप र कर्जा हो । बैंकहरूले निक्षेपकर्ताबाट निक्षेप ल्याएर ऋणीलाई कर्जा प्रवाह गर्छन् । निश्चित ब्याजदरमा निक्षेप संकलन गरेर बैंकले लागत र अन्य सेवा शुल्क थप गरेर ब्याजदर तोकेर कर्जा प्रवाह गर्छन् ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय पर्याप्त निक्षेप भएपनि कर्जाको माग नआएको बैंकरहरू गुनासो गर्छन् । कर्जाको माग नआएपछि बैंकरहरू नयाँ ऋणीको खोजीमा सक्रिय रूपमा लागिरहेका छन् । तर, पनि कर्जाको माग भनेजस्तो नआएको उनीहरूको भनाइ छ ।
बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज छ, त्यति सहज छैन कर्जाका ऋणी खोज्न । नयाँ ऋणी खोज्न अर्थात् कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकका लागि फलामको चिउरा चपाउनुसरह हो । अथक मिहिनेत वा ठूलो संघर्षले ऋण लिने ग्राहक खोज्नु परेको बैंकरहरू बताउँछन् । जसलाई निक्षेपकर्ताको संख्या साढे ५ करोड पुग्दा कर्जाका ऋणीहरू १९ लाख रहेको तथ्याङ्कले पनि पुष्टि गर्छ ।
बैंकिङ क्षेत्रमा कर्जाका १९ लाख ऋणीले नै बैंकहरूमा रहेको खर्बाैं रुपैयाँलाई परिचालन गरेर व्यापार, व्यवसाय र उद्योगधन्दा चलाइहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा १८ लाख ९९ हजार ४८३ ऋणी छन् । जसमध्ये वाणिज्य बैंकहरूका ऋणीको संख्या १५ लाख ७४ हजार ४१४, विकास बैंकहरूमा २ लाख ८१ हजार ८१० र फाइनान्स कम्पनीमा ४३ हजार २५९ ऋणी रहेका छन् ।
१० वर्षमा ऋणीहरूको संख्या
१० वर्षअघि अर्थात् वि.सं २०७० असारमा बैंकिङ क्षेत्रमा ८ लाख ४९ हजार ९०८ ऋणी थिए । जसमध्ये वाणिज्य बैंकमा ५ लाख ९५ हजार ८९७, विकास बैंकमा १ लाख ९६ हजार ४५४ र फाइनान्स कम्पनीमा ५७ हजार ५५६ ऋणी थिए ।
१० वर्षको अवधिमा १० लाख ४३ हजार ३६२ ऋणी थपिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । गत असारसम्म बैंकिङ क्षेत्रमा १८ लाख ९३ हजार २७० जना ऋणीमध्ये वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८, विकास बैंकमा २ लाख ८२ हजार ६२७ र फाइनान्स कम्पनीमा ४३ हजार १३५ रहेका छन् । यसअवधिमा वाणिज्य बैंकमा ९ लाख ७१ हजार ६११ र विकास बैंकले ८६ हजार १७३ ऋणी थपिएका छन् भने फाइनान्स कम्पनीमा भने १४ हजार ४२१ ऋणी घटेका छन् ।
ऋणीहरूको १० वर्षको तथ्याङ्क केलाउने हो भने वर्षमा जम्मा एक लाख जना ऋणी जन्मिने गरेका छन् । तर, जसरी निक्षेपकर्ताको संख्यामा वृद्धि भएको छ, सोहीअनुसार ऋणीको संख्यामा भने वृद्धि हुन सकेको भने देखिँदैन । अर्थतन्त्रका लागि ऋणीको संख्या बढ्नु भनेको व्यवसायको दायरा वृद्धि हुनु र देशको अर्थतन्त्र बढ्नु हो । तर, नयाँ ऋणी वा उद्यमी व्यवसायी नथपिँदा भने यसको प्रत्यक्ष असर देशकै अर्थतन्त्रलाई पर्ने जानकारहरू बताउँछन् ।
नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त कर्जाका फाइल अध्ययन गर्न समय लाग्ने भएकाले ऋणीहरूको संख्या कम हुने गरेको बताउँछन् । साथै वित्तीय संस्था मर्जरका कारण पोर्टफोलियो पनि बाहिरिएको उनको भनाइ छ ।
‘१० वर्षअघि बैंकहरूको शाखा विस्तार भए, निक्षेपकर्ताको संख्या बढ्यो । तर, कर्जा विस्तार गर्दा भने बैंकहरू आक्रामक रूपमा जाँदैनन्, कर्जा दिनु भनेको पैसा बाँड्नु होइन, कर्जाको फाइल आएपछि अध्ययन गर्न समय लाग्छ,’ उनले भने, ‘कर्जा दिने प्रक्रिया पनि लामो हुन्छ, ठूला कर्जा दिँदा एग्रिगेट गर्न एक महिनासम्म समय लाग्छ ।’
‘मान्छेले त्यत्तिकै कर्जा लिँदैनन्, कर्जा लिँदा कुन ठाउँमा छ, ठाउँ अनुसारको व्यावसायिक अवसर छ कि छैन, लगानी गर्ने वातावरण बनेको छ कि छैन भनेर हेर्ने गरिन्छ,’ उनले थपे ।
विगतमा धेरै बैंक वित्तीय संस्था हुँदा क्षेत्रीयस्तरका विकास बैंकहरू र विकास बैंकमा मर्ज भएर संख्या यथावत रहन पुग्यो । तर, फाइनान्स कम्पनीहरू एकआपसमा मर्ज भएनन्, एक/दुइटा बाहेक अधिकांश फाइनान्स कम्पनी बैंकसँग मर्ज भएका कारण कर्जाका ऋणीको संख्या पनि घटेको हो । फाइनान्सको पोर्टफोलियो पनि उतै गयो ।
एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकतृ (डीसीईओ) सन्तोषकुमार राठी कर्जाका ऋणीहरू थोरै भएपनि आकार भने ठूलो रहेको बताउँछन् । हाल रहेका १९ लाख ऋणीमा पनि निश्चित ऋणीले ठूलो कर्जाको रकम ओगटेको उनको भनाइ छ । साथै देशको अर्थतन्त्र सहज र लगानी गर्ने वातावरण बनेपछि मात्रै ऋणीहरूको संख्या थपिने उनको बुझाइ छ ।
‘देशको अर्थतन्त्रको स्थिति सहज हुनुपर्छ, चालु पुँजी मार्गदर्शन आएपछि नयाँ ग्राहकहरूले माग गरेको कर्जा चालु पुँजी मार्गदर्शनअनुसार पुग्ने देखिएन, जष्टिफाई हुन सकेको छैन, त्यसबाट पनि अप्ठ्यारो पारिरहेको छ,’ उनले भने, ‘साथै अर्थतन्त्रको अवस्था हेर्दा ऋण लिएर लगानी कहाँ गर्ने ? यो देशमा लगानी गरेर के काम गर्ने ? के मा लगानी गर्ने भन्ने छ, त्यसैले यसमा ठूलो ग्याप देखिएको छ ।’
डीसीईओ राठीका अनुसार बैंकबाट कर्जा लिएर लगानी गर्नेभन्दा मुद्दती निक्षेपमा राखेर ब्याज खाँदा उपयुक्त हुने भएकाले कर्जाका ऋणीको संख्या आक्रामक रूपमा बढ्न नसकेको हो । तर, नयाँ ऋणी वा उद्यमी जन्माउन बैंकहरूले धेरै काम गरेको उनले दाबी गरे ।
‘बैंकको काम भनेकै निक्षेप लिएर कर्जा दिने हो, बैंकमा मान्छे आएपछि कर्जा दिने हो, जबरजस्ती कर्जा दिने होइन, मान्छेको मनस्थिति, मनोबल माहोल हेर्दा कहाँ लगानी गर्ने भन्ने छ, अहिले पनि फालाफाल निक्षेप छ । तर, कर्जा लिनका लागि मान्छे आएका छैनन्,’ उनले भने,
‘बैंकहरूले इनोभेसन गर्न नसकेको, सिर्जनात्मक काम गर्न नसकेको, प्रविधिको विकास गर्न नसकेको हो, प्रविधिमा लगानी नगरेका होइनन्, त्यसमा हाम्रो धेरै मेहेनतत छ,’ उनले थपे, ‘तर, नयाँ व्यावसायिक मोडलमा बैंकहरू जान नसकेका पक्कै हुन्, पुरानै शैलीमा बैंकहरू सञ्चालन भए, नयाँ ढंगबाट अघि बढ्नुपर्थ्याे भनेर सोचेका छन्, त्यसका लागि लगानी गर्ने माइण्डसेट त हुनुपर्याे नि, त्यो वातावरण बन्नु पर्याे नि, बैंक एक्लैले मात्रै कर्जा बढाउन सक्दैन ।’
गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधर ऋण लिने संख्या कम हुने भएकाले ऋण खाता पनि कम हुने गरेको बताउँछन् । साथै, फाइनान्स कम्पनीको आधारदर बढी हुने भएकाले ऋणीको संख्या बढ्न नसकेको उनको भनाइ छ । विगतमा साना कर्जामा बढी जोड दिएको तर पछिल्लो समय ठूलो आकारको कर्जामा जोड दिएको हुँदा ऋणीको संख्या घटेपनि कर्जाको आकार भने बढेको उनले बताए ।
‘१ सय जनाले १ सय रुपैयाँको निक्षेप राख्छ भने कर्जा लिने १० जना मात्रै हुन्छन्, विगतमा सानो कर्जामा जोड दिने गरेका थिए भने अहिले ठूलो आकारको कर्जामा जोड दिने गरेका छन् । ठूलो आकारमा जाँदा पोर्टफोलियो पनि बढ्छ, त्यसैले ऋणीको संख्या घटे पनि कर्जा रकम भने बढेको नै देखिन्छ,’ उनले भने, ‘फाइनान्स कम्पनी एकआपसमा मर्ज नभई बैंकहरूसँग मर्ज हुँदा फाइनान्सको पोर्टफोलियो पनि बाहिरिएको छ ।’
‘ऋणी बढी हुनु भनेको व्यवसायी बढी हुनु हो, उद्यम बढी हुनु र अर्थतन्त्र बढ्नु हो । तर, ऋणीको सख्या कम छ भने कर्जाको आकार भने बढेको देखिन्छ ।
अधिकांश मानिसहरु ऋण लिएर जोखिम मोल्न नसकेर बैंकमा निक्षेप राख्नेहरू बढ्दै गएको बैंकरहरू बताउँछन् । निक्षेपमा ब्याज पाउने भएकाले मानिसहरू आफ्नो पैसा बचत गर्न बैंकमा राख्छन् । तर, कर्जा लिन ब्याज तिर्नुपर्ने भएकाले कम व्यक्तिहरूले मात्र कर्जा लिन चाहन्छन् । ब्याजदरको यो अन्तरले पनि निक्षेपको खाता संख्या बढी र कर्जाको खाता संख्या कम हुने गरेको जानकारहरू बताउँछन् ।
धेरै मानिसहरू भविष्यमा आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर कर्जा लिनबाट टाढै बस्छन् । बैंकहरूले कर्जा दिनुअघि विभिन्न प्रक्रिया र मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । कर्जा लिँदा बैंकमा धितो राख्नुपर्ने र आम्दानीको पनि स्थायित्व हुनुपर्ने भएको हुँदा धेरैले बैंकबाट कर्जा लिने हैसियत नराख्ने बैंकरहरु बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.