भूकम्पले दक्षिणतर्फ ढल्केको तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

  २०८१ असोज २२ गते ७:१३     विकासन्युज

काठमाडौं । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । वि.सं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो ।

यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।

दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले २ करोड रुपैयाँ र पुरातत्व विभागले २५ लाख रुपैयाँ गरी कूल २ करोड २५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिए । समितिले १० करोड रुपैयाँको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो ।

अबको ६ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उनले बताए ।

फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको ४ करोड ७० लाख रुपैयाँ समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।

कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताए ।

‘मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ, प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ,’ सचिव बरालले भने ।

मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताए । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले दान सहयोग गरिरहेको उनले सुनाए ।

तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिए । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुङ्गा चढेर जानुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.