मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन, ज्यान गुमाउनेको सङ्ख्या शून्य

  २०८१ असोज २२ गते ८:०३     विकासन्युज

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समुद्री सतहबाट ३ हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

‘लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो, उपचार केन्द्र प्रभावकारी बनेका छन्,’ उनले भने ।

मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा ५ लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष गुरुङले बताए । रानीपौवाबाट मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो । सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए । उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।

बिहान ६ देखि दिउँसो ३ बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८/७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०/८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।

चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।

‘कम उचाइ भएको ठाउँबाट उच्च उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्छ, स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय हो,’ उनले भने ।

लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ । लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन्छ ।

मुक्तिनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री दर्शन र पूजाआजाका लागि आउने पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अनुकूल मौसम, सडक यातायतको सहजता, होटल तथा लजको सुविधा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत स्वदेश तथा विदेशका उच्च पदका व्यक्तित्वको भ्रमण आदिका कारण मुक्तिनाथमा तीर्थालुको आगमन बढेको छ ।

आव २०८०/८१ मा सडकमार्ग भएर चार लाख २७ हजार जना पर्यटक भित्रिएको मुस्ताङमा केही दिनअघि सकिएको सोह्रश्राद्धको समयमा २० हजार जना आएका जिल्ला प्रहरी कार्यालयको अभिलेख छ । मुस्ताङ भित्रने अधिकांश पाहुनाको गन्तव्य मुक्तिनाथ मन्दिर हो । सोह्रश्राद्धमा कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास छ ।

मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) का रूपमा लिने प्रचलन छ । मुक्तिनाथ परिसरको एक सय आठ धाराको पानी मिसिने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व छ । हिन्दू धर्मावलम्बीले शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा पुज्ने गर्छन् ।

मुक्तिनाथमा तीर्थालु र पर्यटकको आगमन वृद्धिसँगै निजी क्षेत्रबाट सुविधा विस्तारका साथै सरकारी तवरबाट पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।

मन्दिर परिसरमा ढलान गरेर भक्तजन चिप्लिएर लड्ने समस्या हटाइएको छ । हेलोजिन लाइट जडान गरेर रातमा उज्यालो बनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले फोहर व्यवस्थापन गर्ने घर बनाएको छ । पुरातत्व विभागले मन्दिर परिसरको भूमिगत पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने संरचना बनाएको छ ।

धर्मगुरु त्रिदण्डी श्रीमन्नारायण रामानुज जीयरले मुक्तिनाथ मन्दिर परिसरमा विष्णु भगवान्को स्तम्भ बनाएका छन् । पर्यटन विभागमार्फत निर्माणाधीन रानीपौवा–मुक्तिनाथ मन्दिर जोड्ने पदमार्गले भने वर्षौसम्म पनि पूर्णता पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.