नोटमा रङ्ग लगाउँदा जेल हाल्ने कानुन, कोरे पनि तीन महिना कैद

  २०८१ असोज २२ गते ११:३९     श्याम खतिवडा

‘दशैं आयो खाउँला पिउँला’भन्दै गुनगुनाउँदै मनमा भएका अनेकौं पीडा बिर्सेर मन फुरुङ्ग पारी परम्परागत महान पर्वको स्वागतका खातिर नयाँ महँगा कपडा, दुई/चार खसीबोका, च्याङ्ग्रा किने जस्तो देखाउनै पर्ने, देवालयहरुमा खचाखचको भीड , अनि मध्यान्हको टन्टलापुर घाममा लामो लाइन लागेर भए पनि खुद्रा पैसा साट्नु र मध्यरात मै बसपार्क पुगेर लाईन बसी घर फर्किन टिकटको जोहो गरेपछि बल्ल हामी सबैलाई दशैं आएजस्तो लाग्नु स्वाभाविकै हो ।

बडो उत्साह, उमंगका साथ घर परिवार, छरछिमेक मिलिजुली टिका र जमरा थाप्दै हातमा दक्षिणा थाप्दाको मज्जा त झन बेग्लै भयो । तर, राज्यले बर्सेनि अरबौं रकम खर्चेर विदेशी मुद्रामा भुक्तानी गरेर छपाई गरी ल्याएका मुद्राको हिफाजत र जतन हामीले गरेका छौं या छैनौं भन्ने कुरामा हाम्रो हेक्का पुग्न सकेको छैन ।

देशको आफ्नै सेक्युरिटी प्रेस नभएको हुनाले यस्ता नोटहरु विदेशबाट छपाई गरि चलनचल्तीमा ल्याउन बर्सेनि ठूलो धनराशी खर्च भइरहेको छ । यसरी छपाई गरि ल्याइएको बैंक नोटलाई देशभित्र चलनचल्तीमा ल्याउन केन्द्रीय बैंकले आफ्ना विभिन्न प्रदेश स्थित कार्यालय, बैंक वित्तीय संस्थाहरु र नोटकोष मार्फत व्यवस्था मिलाएको छ ।

तपाईं हामीले प्रयोग गर्ने नोट कला, संस्कृति, सम्पदा र सभ्यताको प्रतिक तथा राज्यको सम्पत्ति हो । देशको इज्जत, प्रतिष्ठा त्यस देशका नागरिकको काम, व्यवहार र चालचलनले पनि देखाउँछ । हामीलाई दैनिक प्रयोगका लागि नयाँ नोट नै चाहिन्छ भन्ने छैन सफा र सुकिलो नोट प्रयोग गर्न सकिन्छ ।

हरेक बर्ष वितरण भएका यस्ता बैंक नोटहरु लामोसमय देखि बैकिङ्ग च्यानलका भल्टहरुमा रहेकोले थप नोट निस्कासन गर्दा थप नोटको परिमाणमा वृद्धि भई पुराना नोटहरु बिग्रने, मक्किने भै चाँडै यस्ता नोट नष्ट गर्नुपर्दा राज्यको करौडौं आर्थिक नोक्सानी हुनसक्ने जोखिमबाट जोगाउन यस वर्षदेखी केन्द्रीय बैंकले बैंकिङ्ग च्यानलमा रहेका यिनै सुकिला नोटहरुको व्यवस्थापन गरी वितरण गर्ने नीति लिएको छ ।

चलनचल्तीमा ल्याइएका यस्ता नोट केही समयपछि च्यातिने, फोहोर हुने र मैलो भए पश्चात् पुनः चलनचल्तीबाट खिच्ने दायित्व पनि केन्द्रीय बैंककै हुन्छ । नोट धेरै छिटो च्यातिने, बिग्रने र फोहर हुने प्रमुख कारण पनि हाम्रो आफ्नै काम, व्यवहार र हेलचेक्राई नै हो ।

नेपाली नोटमा जथाभावी कोर्ने र बिरुप पार्ने सम्वन्धी बिषयमा बैकको मौद्रिक नीतिले स्पष्ट कारवाही र निर्देशन दिएको छ भने नेपाल सरकारले अपराध संहिता कानुन २०७४ मा पनि स्पष्ट सजाय तोकेको छ ।

उक्त कानुनको परिच्छेद–२२ मुद्रा सम्वन्धी कसुरको महलको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न वा लेख्न नपाइने कुरा लेखिएको छ । यदि यस्तो काम गरिएको पाइएमा सोही दफाको १ वा २ वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिना कैद र पाँच हजार रूपैयाँ सम्म जरिवाना हुनेछ भनी स्पष्ट व्यवस्था भएको छ ।

यसर्थ हामीले दैनिक जीवनमा प्रयोग गर्ने बैंक नोटको प्रयोग राम्रोसँग हिफाजत साथ गरौँ र गर्न सिकाऔं । रंग अबीर लागेका हातले नोट नछोऔं भनी बुबाआमा, हजुरबुबा, हजुरआमालाई पनि सिकाऔं साना नानीहरुलाई नोटमा कोर्न र च्यात्न हुदैन भनी बुझाउन प्रयास गरौं । हामी सबैले नोटको हिफाजत गरि सभ्य नागरिकको परिचय दिऊँ ।

(खतिवडा नेपाल राष्ट्र बैंकका प्रधान सहायक तथा  नेपाली मुद्रा संकलक हुन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.