उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन, संयोजकमा पूर्वसचिव रामेश्वर खनाल

  २०८१ असोज २२ गते १४:४४     विकासन्युज

पूर्व अर्थ सचिव रामेश्वर खनाल । फाइल तस्बिर ।

काठमाडौं । सरकारले अर्थतन्त्र सुधारका लागि राय पेस गर्न आयोग गठन गरेकाे छ ।  पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन भएकाे हाे ।

सरकारका प्रवक्ता एंवम सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वअर्थसचिव खनालको संयोजकत्वमा विज्ञहरूकाे पाँच सदस्यीय आयोग गठन गरिएकाे हाे ।

सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको उनले जानकारी दिए ।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।

आयोगले आवश्यकताअनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्शसमेत गर्नेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरू दिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरूको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफै बनाउने छ ।

निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गर्दै आएको थियो । सरकारले त्यसको सम्बोधन हुनेगरी आयाेग गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.