२०८१ असोज २३ गते १०:२६ ऋतु
काठमाडौं । पछिल्लो पटक परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट मुलुकका प्रमुख राजमार्गमात्र नभई साना सडक मार्गसमेत अस्तव्यस्त छ ।
ठूला राजमार्ग नै क्षतिविक्षत हुँदा सहज यातायात सञ्चालन हुन कठिनाइ भइरहेको अवस्था छ । नागढुंगामुनि झ्याप्ले खोलामा आएको पहिरोले केही बस र माइक्रो पुरेपछि तीन दर्जन हाराहारी यात्रुले अनाहकमा ज्यान गुमाउन पुगे । त्यो अवरुद्ध सडक खुलाउन पनि सरकारलाई कम्तीमा तीन दिन जति लाग्यो ।
पृथ्वी, बीपी, मदन भण्डारी, त्रिभुवनलगायत प्रमुख राजमार्गका ठाउँ-ठाउँमा बाढी-पहिरोले क्षति पुर्याएको छ । तर, यही बेला दशैं-तिहारले छपक्कै छोपेको छ । काठमाडौं उपत्यका छाडेर दशैं-तिहार मनाउन घर जानेहरूको लर्को यसपालि भलै कम होला बाटोका कारण, तर जानैपर्नेहरूलाई भने सडकको अवस्थाले समस्या पार्ने देखिन्छ ।
जब यातायात व्यवसायीले दशैं-तिहारका लागि अग्रिम टिकट बुकिङ सुरु गरेका थिए, त्यसलगत्तै अविरल वर्षाका कारण सडक अवरुद्ध हुन पुग्यो । अनि व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगन गरिदिए ।
वर्षा कम भएर सडक बिस्तारै सुचारु हुन थालेपछि यातायात व्यवसायीले देशका विभिन्न गन्तव्य जाने गाडीका टिकट बिक्री गर्न थाले । त्यसपछि बिस्तारै सडक यातायातले लय समात्न थालेको थियो । यही गाडीको टिकट बिक्रीको मेसोमा यातायात व्यवसायीले टिकट रकममै मनोमानी गरेको यात्रुहरूले गुनासो गरेका छन् । यतिसम्म कि यातायात व्यवसायीले आफैले तोकेको भाडादरभन्दा दोब्बर बढी भाडा असुलेको सप्रमाण गुनासो यात्रुहरूबाट आएका छन् ।
सडकको दूरावस्थाबाट यसै पनि पीडित यात्रुहरूलाई अब चाडबाडका मुखमा यातायात व्यवसायीले थप पीडा दिने काम गरेका छन् । ठूला चाडबाडमा घर पुग्नैपर्ने बाध्यता भएकाहरूलाई व्यवसायीले दोब्बर भाडा तिर्न बाध्य पारेका छन् ।
यातायात व्यवसायीको मनोमानीबारे सरकार, उपभोक्तावादी संघसंगठनले अझै पनि औपचारिक रूपमा केही बोलिसकेका छैनन् ।चाडबाडको मुखमा यातायात व्यवसायीले टिकट भाडा दोब्बरसम्म असुलिरहेको प्युठानकी सञ्जु गिरीले गुनासो गरिन् ।
यसपालि दशैंमा काठमाडौंबाट प्युठान जान उनले ३ हजार रुपैयाँको टिकट काटेकी छिन् । गाडीवालाले भनेको भाडा नतिरे त्यही पाएको टिकट पनि नपाउने हो कि भनेर उनले भनेजति नै पैसा तिरेर आइन् ।
‘अब भनेको पैसा नतिर्ने हो भने यही पनि नपाइने हो कि भनेर ३ हजार तिरेर आएँ, पोहोर जाँदा २३ सय रुपैयाँ तिरेको हो,’ गिरीले भनिन्, ‘अहिले बाटो धेरै बिग्रेको छ, तपाईं नगए अरू जान्छन्, यही पैसा तिर्नुपर्ने भनेपछि बाध्य पनि भइयो ।’
उनले टिकट काट्दा पैसा नखुलाएको तर ३ हजार नै लिएको बताइन् । जानैपर्ने बाध्यता भएपछि ७ सय रुपैयाँ बढी तिरेको उनको भनाइ छ ।
यात्रुले घर जान नपाइने डरले यातायात व्यवसायीले जति भाडा तोक्छन्, त्यति नै तिर्ने र यसबारे उजुरी नगर्ने गरेका छन् ।
धनगढीका दिनेश बुढाले सुदूरपश्चिम यातायातमा घर जान आफूसहित ११ जनाको नयाँ बसपार्कबाट टिकट काटे । बसपार्क काउन्टरबाटै उनले एकजनाको २ हजार ८ सयका दरले एसी बसको भनेर टिकट काटेका थिए । तर, जाने बेलामा भने उनीहरू २ हजार ३ सयको डिलक्स बसमा परे ।
एसी बसमा नभई डिलक्समा जान परेपछि उनले बाँकी पैसा फिर्ता मागे । ‘पैसा फिर्ता माग्दा व्यवसायीले टिकट नै फिर्ता गर्नू भनेर धम्की दिए,’ बुढाले सुनाए, ‘त्यसपछि यही डिलक्स पनि नपाइने हो कि भनेर धेरै कुरा गरेनौं ।’
बुढाकाे ११ जना टोलीको ५ हजार ५ सय रुपैयाँ फिर्ता भएन । बढी भाडा लिनेलाई सरकारले कारबाही गर्ने भनेको छ । तर, यसरी खुलेआम व्यवसायीले बढी भाडा लिँदा पनि सरकारी निकायले कुनै एक्सन नलिएर मौन रहेको भन्दै उनले गुनासो गरे ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यात्रुबाट बढी भाडा असुल्नेलाई दैनिक अनुगमन गरेर कारबाही गरिएको बताए ।
‘यातायात व्यवस्था विभागको २४/२५ जनाको दरबन्दीमा नेपालभरिको बाटोघाटोमा बस्न सकिँदैन, यसमा यात्रु पनि आफै चनाखो हुनुपर्छ,’ उनी भन्छन्, ‘सरोकारवाला पक्ष भनेको यातायात विभाग मात्रै होइन, नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई बढी भाडा लिएको, यात्रुलाई बाटोमा दुःख दिएको गुनासो आएमा तुरुन्तै कारबाही गर्न भनेका छौं ।’
बढी भाडा लिए नजिकैको यात्रु सहायता कक्ष वा सिधै विभागमा उजुरी गर्न सकिने उनले बताए ।
‘विभागले समन्वय गर्ने सबै ठाउँमा गरिसकेको छ, सरोकारवाला निकाय पनि सबैलाई भनिसकेका छौं,’ अधिकारी पनेरुले भने, ‘यात्रु ठग्नेलाई धमाधम कारबाही पनि भइरहेको छ ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्की यात्रुसँग बढी भाडा लिनेलाई दैनिक कारबाही गरिरहेको बताउँछन् ।
‘मंगलबारमात्रै यात्रुसँग बढी भाडा असुल्ने १७ जनालाई नियन्त्रणमा लिएका छौं, सोमबार पनि १४ जनालाई नियन्त्रणमा लिएर कारबाही गर्याैं,’ उनले भने, ‘कतिपय अवस्थामा बाटोको कारणले गर्दा गाडी घुमेर जानुपर्दा बढी भाडा लिएको भनेर चालकले भनेका छन्, तर निर्धारितभन्दा बढी लिएको पाएपछि कारबाही गरेका छौं ।’
उनका अनुसार बाटोमा चेकिङ भइरहेको छ । सादा पोसाकमा पनि ट्राफिक प्रहरी खटिएका छन् । काठमाडौंका १४ स्थानमा यात्रुका गुनासो र समस्या सुन्नका लागि यात्रु सहायता कक्ष र पोस्ट स्थापना गरिएको उनले बताए । उनका अनुसार यात्रुलाई गुनासो गर्नुपरे हटलाइन नम्बर १०३, १०० र सामाजिक सञ्जालबाट पनि गर्न सकिने छ ।
जताततै बाटो बिग्रिएको र भएको बाटो पनि भासिँदै जाने क्रम नरोकिएकाले बुकिङ भएको टिकट र पैसा फिर्ता गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।
‘यसपालि बाटोका कारण यात्रा एकदमै सकसपूर्ण छ,’ उनी भन्छन्, ‘नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा सबैभन्दा बढी समस्या भएकाले यात्रुलाई गन्तव्यमा पुर्याउनै सकस भएको छ ।’
भाडाका विषयमा उनले वैकल्पिक राजमार्ग प्रयोग गरेर जानुपर्ने हुँदा केही भाडा बढी लिएको हुन सक्ने तर्क गरे । तर, मनपरी र दोब्बर भाडा लिन नपाइने उनले बताए ।
‘हामीले तोकेको काउन्टरमा र नागरिक सहायता कक्ष भएका ठाउँमा कहीं पनि भाडामा ठगिएको छैन,’ उनले भने, ‘बाहिरबाट जथाभावी ढंगले टिकट बुक गर्ने ठगिएका हुन सक्छन्, डबल भाडा लिन पाइँदैन भनेर हामीले भनेकै छौं ।’
उनका अनुसार बढी भाडा लिनेलाई प्रहरीले कारबाही गरेको छ । आज र भोलि काठमाडौंका विभिन्न नाकाबाट बाहिरिनेको अधिक चाप भएको उनले बताए ।
अहिलेसम्म दशैंका लागि ६ लाख बढी यात्रु बाहिरिएको अनुमान छ । ‘सधैं १८/१९ लाख मान्छे उपत्यकाबाट घर जान्थे,’ उनले भने, ‘बाटाकै कारण यसपालि १०/११ लाख मात्रै जालान् ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.