पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरको माइकिङ

  २०८१ असोज २३ गते ७:०१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच मंगलबार गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते आइतबार गरेको हो ।

परिषद्को निर्णयबमोजिम आज सहमति भएपछि महानगरपालिकाले मंगलबार पशुपति क्षेत्रमा अनधिकृत संरचना बुधबार हटाउन माइकिङ गरेको छ । गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

गौशाला धर्मशालाका सबै सेवा निःशुल्क दिइने व्यवस्थापन समितिको संयोजकसमेत रहनुभएका वडाअध्यक्ष सङ्गतले सुनाए । निःशुल्क सेवा दिएबापत खर्च सबै महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख गरिएको जनाइएको छ ।

दाताले दिन चाहेमा भने दान दिन सक्नेछन् । दाताले दिएको दानलाई पनि व्यवस्थापन समितिले पारदर्शी रुपमा राख्नेछ । गौशाला व्यवस्थापन समितिले सहयोग भने नखोज्ने जनाइएको छ । व्यवस्थापन समितिमा कोषका तर्फबाट पनि सदस्य राखिनेछ ।

भगवान् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको हो । २१ वर्षसम्म मारवाडी सेवा समितिले गौशाला धर्मशाला कब्जामा लिएको थियो । काठमाडौं जिल्ला अदालतले २०६० मा पशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको हो ।

कोष मातहत आएलगत्तै यसको सञ्चालन महानगरपालिकाले गर्नेगरी मंगलबार कोषका कार्यकारी निर्देशक सुभासचन्द्र झा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेपछि नै महानगरपालिका यसको कार्यान्वयनमा सक्रिय रुपमा जुटेको छ । व्यवस्थापन समितिले जनगुनासो नआउने गरी यसको सञ्चालन गर्ने महानगरपालिकाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.