खसी व्यापारीको गुनासो : महानगरका कारण खसी हराए, बिक्री पनि भएनन्

  २०८१ असोज २३ गते १२:४०     विकासन्युज

काठमाडौं । दशैंको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरूले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् । बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरूले महानगरका कर्मचारीहरू आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे ।

काभ्रेबाट खसी बिक्री गर्न आएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरू फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरू हराएको गुनासो गरे । उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरू हराउँदा दशैँ नै खल्लो भएको जानकारी दिए ।

‘यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भन्यो । हामीले लगेनौँ । नगरपालिकाको कर्मचारीहरुले त्यसो गर्नुभयो । ३ वटा खसी हराए । त्यस्तो भयो, अब के गर्न सकिन्छ र ? हामी बिहान ४ बजे आइपुगेका हौँ । खसि निकालेर बाँधेका थियौँ । त्यस्तो गरिदिए’, उनले भने ।

अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए । गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताए । सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भएको बताए । अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे ।

‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महंगो, यहाँ सस्तो छ । पोहोर ६५०/६६० मा बेचेका थियौँ । अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन् । सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो भयो । भाडा पनि डबल पर्यो । यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ । बिक्री त जसरी भए नि सिध्याएर जानुपर्छ । तर घाटा खाएर बेच्नुपर्ने भयो’, उनले भने ।

अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताए । उपभोक्ताहरू किन्न नआएको गुनासो गरे । ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको जानकारी दिए ।

‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन । बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन । ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट । लगभग १५ हजार भाडा लाग्यो । बजारको रेटमै बेचेका छौँ’, उनले भने ।

यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महंगो भएको गुनासो गर्छन् । उनले भने, ‘महंगो रहेछ, आवश्यक परेपछि किन्नैपर्यो ।’

दशैं अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैं उल्लासमय बन्न सकिरहेको छैन । विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैंका लागि काठमाडौं भित्रिने खसी, बोका, च्याङ्ग्राहरू कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि विक्री नभएको व्यपारीहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.