बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

  २०८१ असोज २३ गते १३:३०     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायीहरुले आफूहरूको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरूले निर्माण व्यवसायीको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन् ।

महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहार अगावै आफूहरुको सबै बक्यौता रकमहरूको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिए ।

उनले निर्माण व्यवसायीहरू संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ । र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरू संकटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउनुपर्छ ।’

महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरुको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।

उनले निर्माण व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढी फाइदा दिने दावीसमेत गरे ।

कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पुर्‍याएकाे योगदानकाे स्मरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.