२०८१ असोज २३ गते १६:१८ विकासन्युज
काठमाडौं । नेपाल आयल निगमका डिपोहरू दशैं बिदामा खुल्ने भएका छन् । निगमले बुधबार विज्ञप्तिमार्फत दशैंको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयअन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको जानकारी दिएको छ ।
सूचनाअनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी, दाङको इन्धन डिपो एक दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकताअनुसार खुल्ने हुनेछ ।
निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.